-डम्मर बुढा मगर
बागलुङ । पछिल्लो समय आरन व्यवसाय धरासायी बन्दै गइरहेको पाइन्छ । आरन व्यवसायबाट गुजारा चल्न छाडेपछि विभिन्न पेशा व्यवसाय अगाल्नेहरुको लर्कोनै लागेको समय बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्कर्मा परिवारका तीन भाई भने यही पेशाबाटै सन्तुष्ट छन् ।
भाइ–भाइ बीच रिसराग हुँने नेपाली समाजमा यहाँ तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेशालाई हाक्दै आएका छन् । काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भई १२ वर्षदेखि हटिया बजारमा तामाका भाँडाकुडा र बाजाका सामग्री बनाउदै आएका छन् । जेठो भाइ देविलाल विश्वकर्मा, माइलो कृष्ण विश्वकर्मा र कान्छो भाई रामबहादुर विश्वकर्माले संयुक्त रुपमा हटिया बजारमा बिहुँ आरन सेवाका नामले आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहनुभएको छ ।
उहाँहरुले आफ्नो पुख्यौली पेशा व्यवसाय धान्दै मात्रै हुनुहुन्न संयुक्त रुपमा मासिक एक लाखभन्दा बढी आम्दानी समेत गर्दै आउनु भएको छ । शुरुमा पुख्यौली पेशालाई विश्वास नगर्नुभएका उहाँहरु विदेशको दुःखले खारिएको बताउनु हुन्छ । पुख्यौली पेशाछोडेर १२ वर्ष अघि विदेश गएका तीन भाइ विदेशबाट फर्केर तामाको भाडाँकुडा निर्माण र बाजाका सामाग्री बनाउन थाल्नुभएको हो । उहाँहरुले उत्पादन गरेको तामाका सामग्रीलाई बजारको अभाव भने छैन ।
जेठो दाई देविलाल विश्वकर्मा चार वर्ष मलेसिया, माइलो कृष्ण विश्वकर्मा सात वर्ष मलेसिया र कान्छो भाई रामबहादुर विश्वकर्मा ६ वर्ष साउदीमा बिताउनु भएको थियो । सात वर्ष मलेसियामा दुःख गरे पनि भने जस्तो राम्रो कमाई नभएपछि फर्केर गलकोटको हटिया बजारमा आरन सञ्चालनमा ल्याएको माइलो भाई कृष्ण विश्वकर्माले जानकारी दिनुभयो ।
‘विदेशमा केही हुन्छ की भनेर गइयो आखिर दुःखनै रैछ, त्यसैले पुख्यौली पेशा जोगाउँदै आरन व्यवसाय गर्ने निधोका साथ हटिया बजार झरेका थियौं’ विश्वकर्माले भन्नुभयो ‘आरन व्यवसाय समेत परिवर्तन भएको छ, अहिले हामीले फलामका भाँडाकुँडा र औजार बनाउनै भ्याउन छोड्यौं, अहिले हामीले तामाका भाडाँ त्यो पनि सजावटका सामग्री, फिल्टर, जग, नौमती बाजाहरु बनाउन थालेका छौं ।’
विश्वकर्माले पछिल्लो समय आरनमा फलामको भाँडा बनाउने समयनै नभएको बताउनुभयो । उहाँले हटिया बजारका घरमा सजाउनका लागि सर्वाधिक रुपमा कलश (हत्तर)को माग बढेकाले बढी त्यही निर्माण गर्ने कार्यमा जुटेको उहाँको भनाई छ ।
उहाँहरुले विदेशमा गरेको दुःखभन्दा आफ्नै पेशालाई थप आधुनिकतासहित परिमार्जन गरेर अगाल्नका लागि स्वदेशमा फर्केको उहाँहरु बताउनु हुन्छ । तामाको भाँडा बनाएरै रमाएका उहाँहरुले मासिक एक लाख बढी कमाई भएको बताउनु भयो ।
तामाको भाडामा पानीखाने प्रचलन भएको बताउँदै तामाको भाडाको अत्याधिक माग रहेकाले अहिले त्यतै आफ्नो आरन व्यवसाय केन्द्रित भएको अर्का भाइ रामबहादुर विश्कर्माले बताउनुभयो । आरनमा तीन भाई मिलेर काम गर्ने र भएको आम्दानी महिना दिनमा बाढ्ने गरेको उहाँले बताउनुभयो ।
‘अहिले ठूलागाउँरो विगारेर जगबनाउने प्रचलन छ, मानिसहरुले आधुनिक सजावटका भाडाँ खोजेको पाइयो, हामीले व्यवसायलाई त्यसै अनुरुप परिमार्जन गर्दै आयौं’ विश्वकर्माले भन्नुभयो ‘कोइला बढी खपत हुने र आम्दानी कम हुँने भएकाले फलाम छोडेर तामाका भाडा बनाउन लागेका हौं, विदेशमा गरेको दुःखभन्दा यही सन्तुष्ट छौं, आरनबाटै कमाएको रकमले छोरा छोरी पढाएर, विहे दान गरियो यसैलाई सन्तुष्टी मान्दै आएका छौं ।’
तामाका भाँडा बाहेक कर्नाल, सनाई लगायत बाजाका सामग्री र फिल्टर समेत आफूहरुले बनाउँदै आएको जेठो भाइ देविलाल विश्वकर्माले बताउनुभयो । परम्परागत पुख्यौली पेशा धान्दै तीन भाइले मासिक एक लाख आम्दानी गर्न सफल भएकोमा उनीहरु सन्तुष्ट देखिन्छन् । गलकोटको हटिया बजार विस्तार भइरहेको सन्दर्भमा उनीहरुले आरनमा बनाएको तामाको भाडाँ गलकोटेको रोजाई बन्दै आएको छ ।