भदौ अन्तिम साता पूर्वाधार सम्मेलन

Read Time = 5 mins

काठमाडौं । विकासका लागि पूर्वाधार भन्ने नाराका साथ आगामी भदौ अन्तिम साता काठमाडौंमा पूर्वाधार सम्मेलन हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ (सिएनआइ) को संयुक्त आयोजनामा भदौ २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन अर्थात् नेपाल इन्फ्रास्ट्रक्चर समिट-एनआइएस २०२२ हुने आयोजक संस्थाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन् ।

यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै विगत तीनवटा पूर्वाधार सम्मेलनको समीक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधारलाई उत्प्रेरित गर्ने, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने, दिगो विकास लक्ष्य हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनालाई प्राथमिकता दिने सम्मेलनको उद्देश्य रहेको छ ।

विश्वव्यापीरूपमा भइरहेको पुँजी अभाव र बढ्दो व्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेका बेलामा सम्मेलनले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादमार्फत् कमीलाई कम गर्न पहल गर्ने सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले बताउनुभएको छ । सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने अपेक्षा गरिएको छ ।

पूर्वाधारका लागि लगानी प्रवद्र्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन छलफल हुने बताइएको छ । सम्मेलनका विभिन्न सत्रमा पूर्वप्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एसियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकको प्रस्तुति रहनेछ । सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने सम्मेलनमा २५ देशबाट छ सयभन्दा बढीको सहभागिता रहने सिएनआईका अध्यक्ष अग्रवालले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने सम्मेलनमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?