सत्ता गठबन्धन भित्र उप-गठबन्धनकाे कसरत : दोहोरो बार्गेनिङ

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले १०० सिटमा आफ्नो दाबी प्रस्तुत गरिरहेका बेला सत्ता घटकका माओवादी केन्द्र र एकीकृत समाजवादीले भने उपगठबन्धनको तयारी थालेका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धनलाई सिट भागबण्डाको विषय पेचिलो बन्दै गएको बेला वाम दलहरु भने गठबन्धनभित्रै उपगठबन्धन गर्दै कांग्रेससँग बार्गेनिङ पावर बढाउन चाहान्छन् ।

पाँच दलको बीचमै सीट बाँडफाँट पेचिलो भइरहेका बेला सत्ता बाहिरका साना दलहरू पनि गठबन्धनमा जोडिन जोडबल गरिरहेका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि ससाना शक्तिहरूलाई चुनावी गठबन्धनमा जोडेर सत्ता गठबन्धनका अन्य दललाई चुनौति दिने मनसायमा हुनुहुन्छ । समाचार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले नै अन्य दललाई गठबन्धनमा सामेल गराउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा संवाद गरिरहनुभएको छ । जानकारहरुका अनुसार चुनावपछिको सम्भावित समीकरणलाई आफूलाई बलियाे बनाउन र चुनावमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एक्ल्याउन स-साना दललाई समेत गठबन्धनमा जोड्ने देउवाको रणनीति छ ।

यसै सेरोफेरोमा गठबन्धनकै एक घटक जनता समाजवादी पार्टी फुटेर बनेको महन्थ ठाकुर नेतृत्वको लोसपाको शीर्ष नेतासँग देउवाले पटकपटक संवाद गरिसक्नुभएको छ । गठबन्धनमा अन्य दललाई भित्राउने वा नभित्र्याउने भन्नेबारे दलहरूबीच छलफल चलिरहेको छ । लोसपाका नेताहरूका अनुसार प्रधानमन्त्री देउवाले नै गठबन्धनमा सामेल हुन प्रस्ताव गरेको बताउँदै आएका छन् ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीबाट गठबन्धनमा सामेल हुन प्रस्ताव आएको बताउनु भएको थियो । ‘गठबन्धन र चुनावका विषयमा प्रधानमन्त्री देउवाजीसँग छलफल भएको हो । प्रधानमन्त्रीजीले नै गठबन्धनमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ ।’

यता गठबन्धनभित्रको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सिटमा दाबी गर्दा नेकपा एकीकृत समाजवादीले पनि ३७ देखि ४० सिटको माग गरिरहेको छ । गठबन्धनको अर्को घटक जसपा पनि ३० देखि ३५ सिट पाउनुपर्ने प्रयासमा लागिरहेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिट रहे पनि गठबन्धनका प्रमुख दलले नै २३० भन्दा बढी सिटमा आकांक्षा देखाएका छन् । यसले सत्तारूढ दलभित्रको लेनदेनको विषय सजिलै टुंगिने छाँटकाँट देखिएको छैन ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी वाम गठबन्धनको प्रयासमा जुटेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच सदस्यले यसअघि औपचारिक छलफल पनि चलाएका थिए । वाम गठबन्धनका केही समय पहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको थियो ।

छलफल सकारात्मक नै रहे पनि ठोस निष्कर्ष ननिस्केपछि यो विषय केही समय सेलाएको थियो । तर, अहिले सत्तारूढ गठबन्धनभित्र सिट भागबण्डा गर्ने विषयमा समस्या भएपछि गठबन्धनभित्र उपगठबन्धनको चर्चा फेरि चुलिएको छ । नेताहरूका अनुसार सत्ता गठबन्धनभित्रै वाम गठबन्धन गर्नुको उद्देश्य हो– नेपाली कांग्रेससँग बढी सिटका लागि बार्गेनिङ गर्ने । एमालेसँगको सहकार्यको विषयमा पनि छलफल भएको थियो । तर, छलफलले एमालेसँग तत्काल एकता र सहकार्य सम्भव नरहेको निष्कर्ष निकालिएको थियो । सत्तारूढ वाम पार्टीका नेताका अनुसार गठबन्धन कायम राख्ने र गठबन्धनभित्रै वामपन्थीहरू मिल्ने कुराकानी भएको छ ।

माओवादी केन्द्रले चुनावपछि सरकार निर्माण गर्नका लागि आफ्नो निर्णायक भूमिका रहने गरी रणनीति बनाइरहेको देखिन्छ । त्यसको लागि कांग्रेस र एमालेलाई हाराहारी अवस्थामा ल्याउने र चुनावपछि सरकारको नेतृत्व हत्याउने उसको दाउ छ ।

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) लगायतका दलसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरिसकेको छ । पार्टी कार्यालयमा बुधबार बसेको बैठकले एकता संयोजन समिति गठन गर्नका लागि स्वीकृत दिने निर्णय गरेको हो ।

यसअघि माओवादी केन्द्रको सचिवालय बैठकले डा बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नै पार्टीको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी गराउने निर्णय गरेको थियो । त्यसदिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई जोडेर नेकपा समाजवादी केन्द्र निर्माण गर्ने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?