जुम्लामा चार उम्मेदवारको जमानत जफत

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । जुम्लामा चारजना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका दुई/दुईजना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो । सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत भएको हो । कार्यालय प्रमुख शर्माले भन्नुभयो, ‘प्रतिनिधिसभातर्फ नेपाल मजदुर किसान पार्टीका उम्मेदवार डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाको जमानत जफत भएको छ ।’ काफ्ले दोस्रो संविधानसभा २०७० सालका समानुपातिक सांसद हुनुहुन्छ ।

स्वतन्त्र उम्मेदवार डा. रोकाया माओवादी निकट मानिनुहुन्छ । उहाँले चुनाव चिहृन प्राप्त गरेपछि आफ्नो उम्मेदवारी निष्क्रिय गरे पनि मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभातर्फ नेमकिपाका काफ्लेले २ दशमलब २३ प्रतिशत तथा स्वतन्त्र उम्मेदवार डा. रोकायाले १ दशमलब २७ प्रतिशत मतमात्र प्राप्त गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

यस्तै, प्रदेश सभा (क) मा नेमकिपाका राजेश्वर देवकोटा र प्रदेश सभा (ख) मा नेमकिपाकै विर्षबहादुर रावतको जमानत जफत भएको छ । देवकोटाले २ दशमलब ९४ प्रतिशत र रावतले ६ दशमलब ०३ प्रतिशत मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जुम्लाबाट प्रतिनिधिसभाका लागि पाँच तथा प्रदेश (क) र (ख) मा चार/चारजनाको उम्मेदवारी परेको थियो ।

निर्वाचन खर्च बुझाउँदै उम्मेदवार
यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आफ्नो चुनाव अवधिभर निर्वाचनमा खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय जुम्लामा बुझाउन थालेका छन् । एउटा संघीयसभा सदस्य निर्वाचन क्षेत्र र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा जम्मा १३ जना उम्मेदवामध्ये १० जनाले निर्वाचन खर्चको विवरण बुझाएको निर्वाचन कार्यालय जुम्लाका सुचना अधिकारी अभिनन्द्र चौलागार्इंले जानकारी दिनुभयो ।

प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गोमा कुँवर (गौतम), राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही), नेमकिपाका डिल्लीप्रसाद काफ्ले र स्वतन्त्र उम्मेदवार डाक्टर कलबहादुर रोकायाले निर्वाचन खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी चौलागाईंले भन्नुभयो, ‘प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ज्ञानबहादुरले १३ लाख तीन सय, डिल्लीप्रसाद काफ्लेले चार लाख ३८ हजार, गोमा कुवर (गौतम) ले २१ लाख ९९ हजार, डाक्टर कुलबहादुर रोकायाले १३ हजार रुपैयाँ बराबरको निर्वाचन खर्च विवरण बुझाउनुभएको छ ।’

प्रदेशसभा (क) तर्फ देवेन्द्रबहादुरी शाहीले १० लाख २८ हजार, ललितजंग शाहीले आठ लाख ६६ हजार, राजेश्वर देवकोटाले एक लाख ८३ हजार पाँच सय रुपैयाँ निर्वाचन खर्च भएको विवरण बुझाएको कार्यालयका सूचना अधिकारी चौलागार्इंले बताउनुभयो । यस्तै, प्रदेशसभा (ख) तर्फ टेकराज पछाईले १० लाख २१ हजार, धनबहादुर बस्नेतले दुई लाख ५२ हजार पाँच सय र बिर्खबहादुर रावतले एक लाख ६३ हजार रुपैयाँको खर्च विवरण बुझाउनुभएको छ ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले खर्च विवरण बुझाउनुभएको छैन । प्रदेशसभा (क) बाट एमालेका उम्मेदवार धिरेन्द्रराज गिरीले पनि खर्च विवरण बुझाउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यस्तै, प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा समाजवादी पार्टीका नेता पदमबहादुर रोकायाले निर्वाचन खर्च बुझाउनुभएको छैन । पहिलो हुने निर्वाचित प्रणालीतर्फ निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ४० बमोजिमको ढाँचामा खर्च विवरण आयोगलाई बुझाउनुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?