कता उन्मुख हुँदै छ समाज !

सामान्य विषयमा पनि वीभत्स हत्याका शृंखला बढ्दै

डिबी शर्मा
Read Time = 16 mins

काठमाडौं ।

घटना-१
काठमाडौंको तीनकुनेस्थित श्री दिव्य सःमिल तथा काष्ठ उद्योगमा शुक्रबार राति चारजनाको हत्या भयो । हत्या गरिएका मध्ये तीनजना एकै परिवारका थिए । मिलमा काम गर्ने दोलखाका कुमार भनिने पूर्णबहादुर भुजेल, उहाँकी पत्नी अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको हत्या भएको थियो । सँगै हत्या गरिएका अर्का व्यक्ति हुनुहुन्थ्यो मोरङको बेलबारीका नवीन भनिने विशाल राई । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ । उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ । प्रहरीले हत्या आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का २३ वर्षीय सञ्जय भण्डारीलाई सार्वजनिक गरेको छ । उनी जन्मजात बोल्न नसक्ने व्यक्ति हुन् । उनैले चारजनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताउनुभयो । उहाँका अनुसार हत्याको कारण भने अनौठो छ । मोटरसाइकलको ठक्करपछि भएको विवादको बदला लिँदा भण्डारीले चारजनाको हत्या गरेको खुलेको छ । केही समयअघि राईले भण्डारीलाई चाबहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए । ठक्कर दिएपछि राईले उनलाई कुटपिट पनि गरेका थिए । उनले त्यसैको बदलास्वरूप चारजनाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनले विशालको मात्रै हत्या गर्न चाहेको भए पनि घटना सार्वजनिक गरिदिने डरले भुजेल दम्पतीलाई पनि सिध्याइदिए । उनले सुरुमा राईको टाउकोमा खुकुरी हानेर हत्या गरे । त्यसपछि त्यहाँ अरू मान्छे पनि देखेपछि उनीहरूले प्रहरीलाई भनिदिन्छन् भन्ने ठानेर अरू तीनजनाको पनि हत्या गरेको राठौरले बताउनुभयो ।

घटना-२
गएको वैशाख ७ गते पनि एउटा यस्तै घटना काठमाडौंमै घटेको थियो । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा व्यवसाय गर्दै आउनुभएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको थियो । उक्त हत्यामा पनि ठूलो गिरोह संलग्न थिएन । सामान्य लुटपाटका लागि उनको हत्या भएको थियो । झापामा पक्राउ परेका भक्तपुर बस्ने विनोद विकले हत्या गरेको प्रहरी अुनसन्धानबाट खुलेको थियो । प्रहरीका अनुसार लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर विकले उनको हत्या गरेका थिए । नीरा हत्याको एउटै कारण थियो लुटपाट ।

पछिल्लो समय सामान्य नागरिक हत्याका सिकार भएका छन् । थुप्रै घटना सामान्य कुरा सहन गर्न नसक्दा वा सानोतिनो लोभ लालचमा भएका छन् । सामान्य विवादले हत्याको रूप लिएका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।

घटना-३
गत वर्ष पुसमा पनि काठमाडौंमै यस्तै वीभत्स हत्या भएको थियो । तारकेश्वर नगरपालिका-६ का ९० वर्षीया वृद्धाको हत्या भएको थियो । खोजतलास गर्दा पारीवनपाखा सामुदायिक वनको खोल्सामा उहाँको शव फेला परेको थियो । अनुसन्धानका क्रममा सोही नगरपालिका-६ का ३९ वर्षीय नरेन्द्र शिवभक्तिले हत्या गरेको खुल्यो । प्रहरीका अनुसार चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जंगलमा लगी हत्या गरेको खुलेको थियो । वृद्धाको कम्मरमा भएको पैसा लिनका लागि ढुंगाले टाउको र गर्धनमा हानेर मारेको खुलेको प्रहरीले जनाएको थियो । त्यसपछि वृद्धा महिलासँग भएको ४०-४५ हजार लिएर उहाँको शवलाई खोल्सामा लुकाई हत्यारा फरार भएका थिए ।

घटना-४
स्थानीय युवाहरू बीच सामान्य विवाद हुँदा कुटपिटमा पाल्पाको तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको छ । साथीहरूको कुटपिटबाट यही आइतबार राति उहाँको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा आइतबार राति साढे १२ बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति पौने १ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

तीजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरूबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर भएको झगडाले उग्ररूप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिनुभयो । हत्याको आरोपमा चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

सामान्य कारणले हत्या गरिएका यी प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो एक वर्षमा देशभर यस्तै प्रकृतिका सयौँ घटना भएका छन् । यी घटनामा सामान्य नागरिक हत्याको सिकार भएका छन् । थुप्रै घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका छन् । सानो आर्थिक लोभमा पनि मानिसहरूको हत्या भएका छन् । आवेगमा आएर गरिने क्रियाकलापले पनि समाजमा यस्ता घटना बढ्दै गएका देखिन्छन् ।

आर्थिक र पारिवारिक समस्याको साथै नैराश्यताका कारण उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याका घटना बढ्दै गएको मनोविश्लेषकहरू बताउँछन् । धेरैजसो घटना डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्या अनैतिक सम्बन्ध, सम्पत्ति, जग्गा विवाद र लेनदेन कारणका कारण पनि भएको देखिएको छ ।

परिवार, आफन्त, नातेदारबाटै ज्यान गएका घटना बाहिर आइरहेका छन् । बाबुले छोरा मारेको, श्रीमान्ले श्रीमती मारेको, नातिले बाजे मारेको जस्ता समाचार दिनहुँ आउने गरेका छन् । यसले समाज कता जाँदै छ भन्ने गम्भीर प्रश्न उठेको छ ।

पाँच वर्षमा दुई हजार ८२६ जनाको हत्या
पछिल्लो पाँच वर्षमा देशभर दुई हजार ८२६ जनाको हत्या भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै आर्थिक वर्ष २०७५÷०७६ मा भएको देखिन्छ । तथ्यांकअनुसार सो वर्ष देशभर ६५९ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । यस्तै, आर्थिक वर्ष ०७६/७७ मा ५५५ जनाको हत्या भएको थियो । यसैगरी, आर्थिक वर्ष ०७७/७८ मा ५२१ जनाको हत्या भएको थियो ।

वर्ष २०७८/७९ मा ५९० वटा व्यक्ति हत्याका घटना भएका थिए । त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ । काठमाडौंमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ५०१ जनाको हत्या भएको छ । जसमा ३८ वटा घटना काठमाडौं उपत्यकामा भएका थिए । कुल ९८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष ०७९/८० मा देशभर हत्यासम्बन्धी ५०१ मुद्दा दर्ता भएका छन् ।

विद्यालय तहमै विद्यार्थीलाई कानुनबारे राम्ररी जानकारी दिनुपर्छ : मनोविश्लेषक, बासु आचार्य
पहिलो त जनसंख्या बढेर पनि घटना बढेका हुन् । यसका विभिन्न कारणहरू हुन सक्छन् । हाम्रो मस्तिष्कको कार्य महŒवपूर्ण हुन्छ । मानसिक अवस्था र मनस्थिति कस्तो छ भन्ने हुन्छ । आवेग नियन्त्रण गर्न सक्ने कला कत्तिको छ ? कुनै पनि कुरालाई सहन र स्वीकार्न सके भने जस्तोसुकै समस्या पनि व्यवस्थापन गर्न सकिन्छ । छैन भने आवेग र बदलाविना शान्त हुँदैन ।

यसमा हर्मोनल कारण पनि हुन्छ । मस्तिष्कको न्यूरो नमिलेका कारण पनि यस्तो हुन्छ । जीवनशैलीका कारण पनि हुन्छ । एकले अर्काको भावना नबुझिदिने कारणले पनि अपराधका घटना हुन्छन् । भावना हाम्रो जीवनशैली नै हार्ड एण्ड फाष्ट छ । अब यस्ता घटना न्यूनीकरण गर्न जनचेतजना महत्वपूर्ण हो । व्यवहार व्यवस्थापन महत्वपूर्ण हो । कुनै पनि विषयवस्तुलाई दार्शनिक दृष्टिकोणले हेर्ने हुनुपर्छ । अरूलाई गाह्रो हुने काम नगर्ने । आचरण र चरित्र सुधार गर्ने गर्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा कानुनबारे सबैलाई राम्ररी जानकारी दिनुपर्छ । स्कुल तहमै कानुनबारे जानकारी दिनुपर्छ । के अपराध हो ? के के गर्नहुन्छ, के गर्न हुँदैन भनेर विद्यालय तहमै बालबालिकालाई सिकाउनुपर्छ । हामीलाई मन लाग्ने व्यवहार अरूलाई मन नपर्न सक्छ भन्ने ख्याल गर्नुपर्छ ।

व्यापक सामाजिक सुधार आवश्यक छ : हरिभक्त सिग्देल, पूर्वप्रहरी नायव उपरीक्षक (एसपी)
पहिलो त जनसंख्या बढेकोले पनि हत्याका घटना बढेको देखिएको हुनसक्छ । पहिले जनसंख्या कम थियो यस्ता घटना कम हुन्थे । अहिले जनसंख्यासँगै घटना पनि बढेका हुन सक्छन् । हत्याका विभिन्न कारण हुन्छन् । सामाजिक सञ्जालमा मानिसहरूको पहुँच बढेको छ । स्वतन्त्र छ । मानिसहरू मोबाइल, कम्युटर र टिभीमा मात्रै झुडिन्छन् । सामाजिक हुँदैनन् । यसमा राम्रा नराम्रा सबै कुरा आउँछन् । यसले पनि उत्प्रेरित गरेको हुनसक्छ । तर, यो अध्ययनकै विषय होला ।

हत्या दुई प्रकारले हुन्छ, एउटा सुनियोजित र अर्को आवेशप्रेरित । सिर्जना हुने विभिन्न कारण छन् । सामाजिक इज्जतका कारण हुनसक्छ । कसैले इज्जत जोगाउन हत्या गरिदिन्छ । प्रतिशोधले पनि हुन्छ । चरम अन्याय हुँदा पनि हुन्छ । अन्यायको प्रतिशोधमा पनि हत्याका घटना हुन्छन् । बदलाको रूपमा पनि हुन्छ । कसैले अति दुःख दिँदा पनि हुन्छ ।

यी सबै न्यूनीकरण गर्न व्यापक सामाजिक सुधार आवश्यक छ । सबैले आ-आफ्नो ठाउँमा बसेर गर्नुपर्ने काम गरिदिनुप¥यो । गर्न नहुने काम गर्न भएन । नियम, कानुन र संस्कृतिअनुसार अधिकार सबैले पाउनुपर्‍यो ।

सुरक्षा निकायले अपराध गर्ने अवसर सिर्जना हुन नदिन सतर्कता अपनाउनपर्छ । गस्तीहरू बढाउनुपर्छ । पछिल्लो समय पैदल गस्ती भएको देखिँदैन । घर, परिवार, सामाजिक र विद्यालयमै स्कुलिङ गर्नुपर्छ । उनीहरूलाई नियम, कानुनबारे जानकारी दिनुपर्छ । अपराधमा संलग्न हुँदा हुने असरबारे जानकारी दिनुपर्छ । नैतिक शिक्षामा जोड दिनुपर्छ । कार्ययोजना बनाएर लागू गर्नुपर्छ । सबैको समन्वयमा काम गर्दा अपराधका घटना घटाउन सकिन्छ । स्थानीय राजनीतिज्ञ, शिक्षक र प्रहरीको एउटा राष्ट्रिय संयन्त्र बनाउने हो भने अपराधका घटनामा कमी ल्याउन सकिन्छ ।

गम्भीर अपराधमा माफी
गम्भीर अपराधमा संलग्नहरूलाई पनि माफी दिने गरिएकाले पनि यस्ता घटना बढ्ने गरेको विज्ञहरूको भनाइ छ । गणतन्त्र दिवसका अवसरमा टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीले बाँकी कैद माफी पाए भने असोज ३ गते मनाइने संविधान दिवसका अवसरमा त्यस्तै प्रकृतिका अपराधीलाई जेलबाट रिहा गर्न सरकारले सिफारिस गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैद ठहर भएका, काठ चोरी, हतियार तथा खरखजाना, सरकारी दस्तखत किर्ते, सवारी ज्यान, ठगी र कुटपिटमा संलग्न भएर दोषी ठहर भएका व्यक्तिहरू नै माफी पाउनेको सूचीमा परेका छन् । गणतन्त्र दिवस, संविधान दिवसमा असल चालचलन भएका र नेगेटिभ लिष्टमा नरहेका अभियुक्तहरूलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले माफी दिने परम्परा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?