राज्य र कानुनले नचिनेको व्यक्तिले करको दर हेरफेर गर्छ, यो राष्ट्रप्रतिको गम्भीर धोका र अपराध हो : वरिष्ठ अधिवक्ता त्रिपाठी

Read Time = 4 mins

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले पनि जनताले अब सक्षम र योग्य उम्मेद्धवारलाई निर्वाचित गर्नुपर्ने बेला आएको भन्दै यो अवसरलाई सही सदूपयोग गर्न आग्रह गर्नुभएको छ ।

शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो, ‘चुनावको मिति घोषणा भएको छ, योसँगै, चुनाव भनेको लोकतन्त्रमा महापर्व हो । सार्वभौमसत्ता अभ्यास गर्ने माध्यम हो । ०४६ सालदेखि हामीले अहिलेसम्म एउटै अनुहार देखेका छौं । निरन्तर त्यही व्यक्ति आएको छ । अबको निर्वाचनमा भ्रष्ट व्यक्तिलाई सवक सिकाउनुपर्छ । अहिले जनताको हातमा शक्ति आएको छ । जनताले विवेकसंगत् रुपमा आफ्नो मत प्रयोग गर्नुपर्छ । जसको ट्रयाक रेकर्ड राम्रो छ, उसलाई अवसर दिनुपर्छ ।’

त्रिपाठीले मुलुक कुशासन र भ्रष्टाचारको दुश्चक्रमा फसिसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘निर्वाचनको घोषणा गरिएको छ, यो सरकार कामचलाउ भैसकेको छ । अब संसद्लाई बिदा गरिनुपर्छ । चुनाव निश्पक्ष रुपमा सम्पन्न गर । आउने सरकारमाथि अब यो सरकारले कुनै बोझ थुपार्न पाउँदैन् । नियुक्ती पनि गर्न पाउनुहुँदैन् । आज हरेक सार्वजनिक पद बिक्रीमा छन् । लोकतन्त्रको नाममा उपहास भएको छ ।’

त्रिपाठीले अर्थमन्त्री जनार्दन शर्माको कर प्रकरणबारे पनि कडा आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो,‘राज्यले नचिनेको व्यक्तिले करको हेरफेर गर्छ, राति संविधान र कानूनले नचिनेको व्यक्तिलाई बोलाउँछ । अनि त्यही व्यक्तिलाई फेरि अर्थमन्त्रीमा लिईन्छ । यो राष्ट्रसँग गरिएको गम्भीर धोका र अपराध हो । अब निर्वाचनको मिति घोषणा भएको छ । यो संसद् विदा हुनुपर्छ । अब संसद्ले नयाँ कानून र बजेट बनाउनुपर्दैन भने, अर्को पाँच महिनासम्म किन यसलाई कायम राख्ने ? कि सांसदलाई भत्ता खुवाउनको लागि मात्रै राख्ने ?’

उहाँले गरिब राष्ट्र भनेको गरिव परिवारजस्तै हुने भन्दै देशलाई सही दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । प्रमुख निर्वाचन आयुक्तले संसद्को अवधि २०७९ मंसिर २१ गतेसम्म हुन्छ भनेर बोलेको भन्दै आपत्ति पनि जनाउनु भयो । उहाँले भन्नुभयो,‘यो उहाँको हाँस्यस्पद अभिव्यक्ति हो । उहाँ त खटनपटनमा हिँड्ने व्यक्ति हो । संसद कायम रहन्छ भने सरकार कसरी कामचलाउ हुन्छ ? सरकारसँग दीर्घकालीन निर्णय लिने म्याण्डेट छैन ।’

उहाँले लोकतन्त्र भनेको समानताको पनि विषय भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘यो निर्वाचनको कुरा गर्दा, अहिले गठबन्धनको बारेमा पनि कुरा आएको छ । जनतालाई क्लियरकट च्वाईस दिनुपर्छ । अहिलेको गठबन्धनले क्लियर च्वाइस दियो त ? यो गठबन्धनसँग कुनै सिद्धान्त छैन् । हिजो टाउको काट्ने र काटिनेहरुबीच कसरी सहमति हुन्छ ? यो चरम अवसरवादी गठबन्धन हो । लोकतन्त्रमा सिण्डिकेट गर्न पाईँदैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?