निरन्तर गायनमा कृष्ण गैरे

Read Time = 5 mins

काठमाडौं । पाल्पा जिल्लाको सिन्दी गाउँपालिका-५, कठैडाँडा निवासी पिता एमान सिंह गैरे र माता दिलमाया गैरेको सुपुत्रको रूपमा जन्मेर बालापन र किशोरावस्थाका अनेकन सम्झना अनि उकाली-ओराली र वनपाखाको माया मनभरि बोकेर १७ वर्षको युवा उमेरमा कृष्ण गैरे नवलपरासीको कावासोती झर्नुभएको थियो ।

चार कक्षामा पढ्दै गर्दा गाविसस्तरीय लोकगीत प्रतियोगितामा भाग लिई ५० रुपैयाँ पुरस्कार पाएर उत्साहित हुनुभएका उहाँमा गायनप्रतिको लगाव सानैदेखि थियो । त्यही बेलादेखि आजसम्म निरन्तर गायनमा क्रियाशील रहँदै आउनुभएको छ उहाँ । मिहिनेत र संघर्षले आज उहाँले यो क्षेत्रमा सफलता चुम्नु भएको छ । । घाँस-दाउरा जाँदा र गाईबस्तु चराउँदा सिन्दीका वनपाखामा गुञ्जिएको उहाँको सुरिलो स्वर अहिले पनि त्यहाँको बताससँगै त्यतै कतै घुमिरहेको होला । उहाँ गाउँघरमा आयोजना हुने पूजाआजा, विवाह, सांस्कृतिक कार्यक्रम र स्थानीय क्षेत्रका मेला महोत्सवमा गीत गाउँदै आफूलाई निखार्दै अघि बढेको कलाकार हुनुहुन्छ । कृष्णको समूहले स्कुले जीवनमा समेत कक्षास्तरीय, विद्यालयस्तरीय र अन्तर विद्यालयस्तरीय प्रतियोगितामा पहिलो, दोस्रो वा तेस्रो पुरस्कार जित्ने गर्दथ्यो । ‘स्कुलको होस् या अन्य ठाउँको, प्रतियोगितामा सहभागी भएर खाली हात कहिल्यै फर्कनु परेन’ उहाँ ती दिन सम्झँदै भन्नुहुन्छ ।

पाल्पा, नवलपरासी र चितवनका एफएम रेडियोहरूले आयोजना गरेको जिल्लास्तरीय लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि आफ्नो व्यावसायिक गायन सुरु गर्नुभएको कृष्ण बताउनुहुन्छ । पहिलोपटक २०७४ सालमा जातीय उत्थानसम्बन्धी गीत ‘माया लाउन जातैले छेक्दैन’ रेकर्ड गरी औपचारिक गायन यात्राको शुभारम्भ गर्नुभएका कृष्णका ‘दशैँ आयो तिहारै आयो, रेलैमा लगाउँ माया बेलैमा, बेबी आई लभ यु, ए मायालु नबोली नबोली मन चोर्यौ सुटुक्कै’लगायत गीत सर्वाधिक चर्चामा छन् । मायाप्रेम, परदेशीका पीडा, जातीय विभेदविरुद्धका, पर्व विशेष आदि उहाँका गीतमा भएका विविधता हुन् ।

संगीत व्यावसायीहरूको एकमात्र छाता संगठन नेपाल संगीत उद्योग संघको वर्तमान कार्यसमिति सदस्य कृष्ण सो संस्थाका आजीवन सदस्य र लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश सदस्यसमेत हुनुहुन्छ ।

गीतसंगीत सँगसँगै समाज सेवमा पनि उहाँ सक्रिय हुनुहुन्छ । गीतसंगीतको क्षेत्रबाट विभिन्न सम्मान, पुरस्कार एवं अवार्ड हात पार्न सफल कष्ण विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रालिको आयोजनामा हालै सम्पन्न ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड’मा ‘हिमालयन गीतसंगीत साधना सम्मान’बाट सम्मानित हुनुभएको थियो । यस्तै, केही समयअघि विशाल मुभिज प्रालिद्वारा आयोजित ‘विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९’ मा पनि उहाँ ‘पर्व विशेष गीत’ विधाबाट गायनतर्फ जुरी अवार्ड पाउन सफल हुनुभएको थियो । उहाँले ‘दशैँ आयो’ बोलको गीतबाट सो अवार्ड प्राप्त गर्नुभएको थियो । आउँदा दिनमा गीतसंगीतलाई निरन्तरता दिने बताउनुहुने कृष्ण गीतसंगीतमा आफ्नो सम्पूर्ण जीवन समर्पण गरेको बताउनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?