परमादेशको यो सरकारले जनादेश पायो भने मान्छे कुट्दै हिँड्छ : केपी ओली

Read Time = 2 mins

बिर्तामोड। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भएको बताउनु भएको छ ।

उहाँले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताउनु भयो ।

शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताउनुभयो ।

परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उहाँले दाबी गर्नुभयो ।

झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताउनुभयो । आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उहाँले बताउनुभयो ।

विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यस्का लागि जतिसक्दो योगदान दिन इन्जिनियरहरूलाई ओलीले आग्रह गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?