युनाइटेडसँग लिभरपुलको हार

हिमालय टाइम्स
Read Time = 4 mins

लन्डन । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले चिर परिचित प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले हरायो । युनाइटेडका लागि जेडन सान्चो र मार्कस रासफर्डले गोल गर्नुभयो । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काउनुभएको थियो ।

खेलको १६औँ मिनेटमा सान्चोले युनाइटेडलाई अग्रता दिलाउनुभयो । उहाँले एन्थोनी एलांगाको कटब्याकलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै निकै समय लिएर गोलमा परिणत गर्नुभयो । पेनाल्टी क्षेत्रभित्र निकै संयमित देखिनुभएका उहाँले दुई डिफेन्डर बिट गर्दै गोल गर्न सफल हुनुभएको थियो ।

दोस्रो हाफको सुरुवातमै युनाइटेडले अग्रता दोब्बर पा¥यो । दोस्रो हाफमा मैदान प्रवेश गर्नुभएका एन्थोनी मार्सियलको पासमा रासफर्डले अफसाइड ट्रयाप बिट गर्दै गोल गर्नुभयो । ८२औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुल खेलमा फर्कने सङ्केत दिनुभयो । पेनाल्टी क्षेत्रभित्र फाबियो कार्भाल्होको प्रहार क्लियर हुन नसक्दा सलाहले रिबाउन्डमा हेडरमार्फत् गोल गर्नुभएको थियो ।

प्रशिक्षक टेन हागले लिभरपुलविरुद्ध सुरुवाती ११ बाट कप्तान हृयारी मगाएर र फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई बाहिर राख्नुभएको थियो । रोनाल्डो ८५औँ मिनेटमा मैदान प्रवेश गर्दा मगाएर बेन्चमा नै रहनुभएको थियो । यस जितसँगै युनाइटेड अङ्क तालिकामा लिभरपुलभन्दा माथि उक्लिएको छ । युनाइटेड तीन खेलमा तीन अङ्क जोड्दै १४औँ स्थानमा छ । लिभरपुल तीन खेलमा दुई अङ्कसाथ १६औँ स्थानमा रहेको छ ।

यता इटालियन सिरी ‘ए’ मा युभेन्ट्स बराबरीमा रोकिएको छ । युभेन्ट्सले घरेलु टोली साम्पडोरियासँग गोलरहित बराबरी खेल्दै अङ्क बाँड्न बाध्य बनेको हो । जेनेभामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही मौका सिर्जना गरे पनि गोल गर्न नसक्दा दुवै टोली अङ्क बाँड्न बाध्य बने ।

यो बराबरीपछि अपराजित रहेको युभेन्ट्सले शीर्षस्थानमा रहेको नेपोली, इन्टर मिलान र रोमासँग अङ्क बराबरी गर्ने मौका गुमाएको छ । युभेन्ट्सको दुई खेलबाट चार अङ्क छ । नेपोली, इन्टर मिलान र रोमाको ६ अङ्क छ । पहिलो अङ्क जोडेको साम्पडोरिया १६औँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?