देउवा-ओलीको अर्थपूर्ण भेट, सत्ता गठबन्धन सिट बाँडफाँटमा अल्झँदा नयाँ राजनीतिक समिकरणको प्रयास, विपक्षी दललाई बाइपास नगर्न एमालेको चेतावनी

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवाले बुधबार एमाले अध्यक्ष ओलीलाई भेटवार्ताको लागि प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गर्नुभएको थियो । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओली हत्तपत्त बालुवाटार जानुहुन्न । देउवा नेतृत्वको वर्तमान सरकार परमादेशी सरकार भएकाले प्रधानमन्त्री निवास बालुवाटार नजाने सार्वजनिक घोषणा गर्नुभएका ओली बुधबार भने देउवाको आमन्त्रणलाई स्वीकार गर्दै पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलसहित बालुवाटार पुग्नुभयो ।

एकातिर सरकारले चुनावको मिति घोषणा गर्ने बेला परामर्श नलिएको गुनासो गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावको मिति नजिकिँदै जाँदा प्रधानमन्त्री देउवाले गरेको विपक्षी दलका नेतासँग गरेको छलफललाई महत्वका साथ हेरिएको छ, भने अर्कोतिर सत्तारूढ दलहरूबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमा विवाद भइरहेको बेला भएको भेटवार्तालाई राजनीतिक दृष्टिकोणले आफैँ अर्थपूर्ण छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको भेटवार्ता आकस्मिक भने होइन । यसै हप्ता एमाले अध्यक्ष ओली र प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहनुभएका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच पनि भेटवार्ता भएको थियो । यसैसाता नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल पनि एमाले अध्यक्ष ओलीलाई ओलीकै निवास भक्तपुरको बालकोटा पुगेर भेटवार्ता गर्नुभएको थियो । अध्यक्ष ओली र कांग्रेस नेताद्वय खड्का र रिजालबीचको भेटवार्ताको विषय औपचारिक रूपले सार्वजनिक नभए पनि समसामयिक राजनीतिक विषयमै छलफल भएको स्रोतको दाबी छ ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले आसन्न निर्वाचनमा इच्छुक दलहरूसँग चुनावी तालमेल गर्न खुल्ला रहने निर्णय गरेको थियो । यता, सत्तारूढ गठबन्धनमा आबद्ध वाम दलहरू पनि गठबन्धनभित्रै उपगठबन्धन गरेर नेपाली कांग्रेसलाई कस्ने रणनीतिमा छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्ने विषयमा सत्ता गठबन्धनका दलहरू विगत दुई सातादेखि निरन्तर छलफलमा रहे पनि निष्कर्षमा पुग्न सकेका छैनन् । अर्कोतिर नेपाली कांग्रेसभित्रै पनि आफूलाई खुम्च्याएर गठबन्धनका दलहरूलाई बढी सिट दिन नहुने बलियो आवाज छ । गठबन्धनभित्र कांग्रेसलाई कस्ने रणनीति, एमालेले औपचारिक रूपमा चुनावी तालमेल गर्न ढोका खुल्ला राख्ने निर्णय र सिट बाँडफाँटमा गठबन्धनका दलहरूबीच भइरहेको रस्साकस्सीकाबीच प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीसहित एमालेका नेताहरूबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको जनाइएको छ । प्रधानमन्त्रीसँगको भेटवार्तामा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनबारे पनि कुरा गर्नुभएको जानकारी दिँदै भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुन्छन् । उनीहरूबीच प्रतिस्पर्धा हुन्छ । स्वच्छ प्रतिस्पर्धा गर्नुहोस्, अपवित्र गठबन्धन नगर्नुहोस् र निषेधको राजनीति पनि नगर्नुहोस् । एमालेलाई निषेध गर्नका निम्ति सत्ता गठबन्धन सात दलीय पुग्यो । अब ८, ९, १० कति पु¥याउनुहुन्छ ?’

करिब ६ महिनापछि देउवा–ओलीबीच भेटवार्ता भएको हो । यसअघि गत फागुनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गर्ने विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो ।

सरकार एकलौटी ढंगले अगाडि बढ्यो : ओली
प्रधानमन्त्री देउवासँगको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा नागरिकता विधेयक, सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयक, चुनावको सुनिश्चितता र महँगीका विषयमा सवाल राख्नुभएको थियो । प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभयो ।

राष्ट्रपतिले संविधानसम्मत रूपले पुनर्विचारका लागि फिर्ता पठाएको भए पनि पुनः प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गर्नुले राष्ट्रपतिको अपमान भएको भन्दै ओलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो । राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमा भएको सहमतिलाई सरकारले बेवास्ता गरेको विषयप्रति पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिँदै नेम्वाङले भन्नुभयो, ‘नागरिकता विधेयक सम्बन्धमा संसद्मा धेरै कुरा राख्यौँ, आफ्ना कुराहरू राख्यौँ । विगतमा समितिमा गएर धेरै गृहकार्यपछि सहमति भएको थियो । त्यसलाई मानिएन । पुनर्विचार गर्नका लागि राष्ट्रपतिले फिर्ता पठाउनुभयो । त्यसलाई स्वाभाविक रूपमा लिएर पुनर्विचार गर्नुपर्ने विषय थियो । त्यसलाई गठबन्धनका नेताबाटै अनावश्यक कुरा गर्ने काम भयो । यो बेठिक भयो भन्दै आफ्ना असन्तुष्टि राख्यौँ ।’

सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रति पनि अध्यक्ष ओलीले विरोध जनाउनुभयो । सरकारले द्वन्द्वकालमा अन्यायमा परेकालाई न्याय नदिने गरी विधेयक ल्याएको भन्दै एमालेले असन्तुष्टि जनाएको छ । सरकारले एकलौटी ढंगले विधेयकहरू ल्याएको प्रति प्रधानमन्त्री देउवासँग आपत्ति जनाएको जानकारी दिँदै एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भन्नुभयो, ‘हामीले सरकारमा हुँदा पनि प्रतिपक्षमा हुँदा पनि टिआरसीका विषय टुंग्याउने सकारात्मक नै छौँ भन्यौँ । यसमा मुख्य जिम्मेवार व्यक्ति भनेको शेरबहादुरजी र प्रचण्डजी नै हो । तर, यसलाई टुंग्याउन हामी सधैँ सकारात्मक छौँ भन्यौँ । सरकारमा हुँदा हामीले यसलाई धेरै अगाडि बढायौँ । तर, गठबन्धन एकवर्ष त्यसै सुतेर बस्यो । हामीसँग बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, निरूपण तथा मेलमिलाप आयोग विधेयक, नागरिकता विधेयक ल्याउँदा सरकारले कुनै पनि परामर्श गरेन । यही विषयमा आपत्ति रह्यो ।’

प्रधानमन्त्रीसँगको भेटवार्तामा निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने, अन्यथा भएमा एमाले कडा रूपमा प्रतिवादमा उत्रिने चेतावनी दिएको जानकारी दिँदै भेटवार्तामा सहभागी एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘लोकतन्त्रको आत्मा स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हो । गठबन्धन सरकारले स्वतन्त्र, निष्पक्ष, भयरहित र धाँधलीरहित निर्वाचन सम्पन्न गर्छ भन्ने कुरामा विश्वास गर्न सकिने स्थिति छैन । निकट विगतमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ताको ज्यादती सर्वत्र देखिएकै हो । आगामी निर्वाचनमा पनि सत्ताको दुरुपयोग हुनसक्ने त्यो आशंका गर्ने आधारहरू छन् । कहीँकतै पनि अन्यथा भयो भने एमाले कडा प्रतिवादमा उत्रिन्छ ।’
एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग महँगी र भ्रष्टाचारका मुद्दा पनि उठाउनुभएको छ । देउवासँगको कुराकानीलाई उद्धृत गर्दै एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘देशमा सरकारकै कारणले भ्रष्टाचार बढेको छ । भ्रष्टाचार जताजतै छ । भ्रष्टाचारका कारण नै सबैतिर महँगी बढेको छ भन्यौँ ।’ प्रधानमन्त्री देउवाले ओलीले उठाउनुभएका चारमध्ये तीन विषयमा सकारात्मक जवाफ दिए पनि नागरिकता विधेयकको विषयमा केही प्रतिक्रिया नदिएको एमालेका नेताहरूको भनाइ छ ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्छौं : देउवा
विपक्षी दल नेकपा एमालेका नेताहरूसँगको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्नुभएको हो । भेटवार्तामा सहभागी नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘निर्वाचनको निष्पक्ष र विश्वसनियतामाथि तपाईँ निसंकोच भएर निर्वाचनको तयारी गर्नुस् । सरकारले निर्वाचन निष्पक्षपूर्ण ढंगले गर्छ । सरकार शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन चाहेको प्रधानमन्त्री प्रष्ट जवाफ छ । नेपालीका छोराछोरीले नागरिकता नपाएको अवस्था छ । उनीहरूलाई नागरिकता पाउने व्यवस्था मिलाउने विधेयक ल्याउनुपरेको हो भन्नुभयो ।’

प्रधानमन्त्री देउवाको निमन्त्रणामा अध्यक्ष ओली उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङसहित बालुवाटार पुग्नुभएको थियो । भेटवार्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत उपस्थित हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?