निर्वाचनमा एमालेको पक्षमा जनमत आउने वातावरण बनाउन केन्द्रीय कमिटीलाई अध्यक्ष ओलीको निर्देशन

Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।

शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरुको काँधमा रहेको बताउनु भयो । उहाँले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भुमिका खेल्न पनि आग्रह गर्नुभयो । निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठिक काम गर्न रोक्नुपर्ने पनि उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ । यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भुमिका खेल्नुपर्दछ । यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दबाब । र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्दछ । र बेठिक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्दछ । जनतालाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी हाम्रो काँधमा छ । जनमत एमालेको पक्षमा, देशको पक्षमा, लोकतन्त्रको पक्षमा जनमत सिर्जना गर्ने, त्यस जनमतको त्यसैगरी रक्षा गर्ने, त्यस जनमतलाई कसैले गलत ढंगले दुष्प्रभावित गर्लान त्यसका निम्ति ध्यान दिने । त्यसका निम्ति विभिन्न प्रकारका तरिका र उपायहरु अवलम्वन गर्ने । त्यतातर्फ हामीले ध्यान दिनु जरुरी छ ।’

केन्द्रिय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले शपथग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् ।

त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरुका प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?