साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । भदौ २१ देखि दशरथ रंगशालामा सुरु हुने साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडी घोषणा गर्नुभएको हो ।

साफ च्याम्पियनसिपका लागि घोषित नेपाली टोलीको गोलकिपरमा एन्जेली तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ, रक्षकमा हिराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विके, मिडफिल्डमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्द्रा राई, अनिता बस्नेत र अनिता केसी तथा फरवार्डमा अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ हुनुहुन्छ ।

दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने च्याम्पियनसिप भदौ २१ गतेबाट असोज ३ गतेसम्म हुनेछ । नेपालले पहिलो खेल भुटानसँग पहिलो दिन खेल्नेछ । त्यसपछि श्रीलंकासँग दोस्रो खेल भदौ २७ गते खेल्नेछ । समूह ‘ए’ मा साबिक विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

राउन्ड रोबिन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा नौ खेल तथा दुई सेमिफाइनल र फाइनल गरी साफमा १३ खेल हुनेछन् । पछिल्लोपटक विराटनगरमा आयोजित च्याम्पियनसिपको फाइनलमा भारतले नेपाललाई हराएको थियो ।

यता फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथिको निलम्बन फुकुवा गरेसँगै उसको पनि महिला साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ । फिफाले भारतलाई निलम्बन गरेको दुई साता पनि नबित्दै फुकुवा गरेको हो । साफ च्याम्पियनसिपको साबिक विजेतासमेत रहेको भारतलाई अब उपाधि रक्षाको मौका मिलेको छ ।

च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारतसँगै समूह ‘ए’ मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहनेछन् । प्रतियोगितामा सहभागिताका लागि भुटानी फुटबल टोली भने बिहीबार नै काठमाडौं आइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?