राष्ट्रिय खेलकुद सफल बनाउने भ्रातृ संगठनको प्रतिबद्धता

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । देशका प्रमुख राजनीतिक दल निकट खेलकुदका भ्रातृ संघ संगठनले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । गण्डकी प्रदेशमा आगामी असोज २७ देखि कात्तिक ३ गतेसम्म आयोजना हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको गौरवसँग जोडिएकाले सफल बनाउन आफ्नोतर्फबाट पूर्ण सहयोग रहने उनीहरूले विश्वास दिलाएका छन् ।

राष्ट्रिय खेलकुदका सम्बन्धमा प्रदेश खेलकुद परिषद् गण्डकीले पोखरामा आयोजना गरेको सर्वपक्षीय भेलामा ती संगठनले राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर गौरवसँग जोडिएको प्रतियोगिता सफल बनाउन लागिपर्ने प्रतिबद्धता जनाएका हुन् ।

नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले राष्ट्रिय खेलकुद सफल बनाउन सवैको सामूहिक उत्तरदायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नवौं राष्ट्रिय खेलकुद सबै नागरिक र खेलप्रेमीहरूको साझा कार्यक्रम हो । यसलाई सफल बनाउनु साझा जिम्मेवारी हो ।’

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका सचिवालय सदस्य रामचन्द्र गिरीले ४० वर्षपछि गण्डकीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउन खेलकुद महासंघले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद सफल बनाउन यहाँ जुटेका छौं, यसले पनि समाजमा उत्कृष्ट सन्देश प्रवाहित हुनेछ ।’

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका अध्यक्ष जीवन खातीले १३औं दक्षिण एसियाली खेलकुद (साग) लगायतका विगतमा भएका खेलकुद कार्यक्रममा गरिएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । ‘विगतका कमीकमजोरी समीक्षा गर्दै अघि बढ्दा प्रतियोगितालाई भव्य बनाउन सकिन्छ । खेलकुदलाई साझारूपमा बुझ्न आवश्यकमात्रै छैन, साझा कार्यक्रमका साथ अघि बढ्न पनि आवश्यक छ,’ उहाँले भन्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघका पूर्ण लामाले खेलकुदको महाकुम्भमा राजनीतिक विषयलाई पन्छाएर प्रतियोगिता सफल बनाउनुपर्नेतर्फ सबैको सामूहिक प्रयास हुनुपर्ने बताउनुभयो । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले राष्ट्रिय खेलकुदको तयारी स्वरूप अहिले खेलाडी छनोटको काम भइरहेको बताउनुभयो । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिता सञ्चालन गरेर प्रदेशको टोली घोषणा गरिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी यतिबेला जिल्लामा खेलाडी छनोटको प्रक्रियामा छौं । प्रतियोगिताको तयारीका काम भइरहेको, यहाँहरूको सबैको सक्रिय सहयोग र सहभागिताले राष्ट्रिय खेलकुद सफल बनाउन ठूलो सहयोग पुग्नेछ ।’ प्रदेशका ११ वटै जिल्लामा खेलाडी छनोटका लागि जिल्ला छनोट सम्पन्न भएपछि पोखरामा यही भदौ १५ देखि १८ प्रादेशिक छनोट प्रतियोगिता सञ्चालन हुने परिषद्ले जनाएको छ । प्रदेशबाट अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म एक महिना आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राख्ने परिषद्को योजना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?