गठबन्धनको चक्रब्युहमा राष्ट्रिय राजनीति

Read Time = 13 mins

✍️ इन्द्रबहादुर बराल

देशको समग्र राजनीति गठबन्धनको चक्रब्युहमा फसेको छ । मूलतः राज्य सञ्चालन गर्ने आधार राजनीति हो । राजनीतिको मार्गचित्रबाट राज्य सञ्चालन हुन्छ । यो यथार्थतालाई कुल्चेर जुन प्रकारले गठबन्धन गरिएको छ वा गरिँदैछ त्यसले सही दिशामा राजनीति अघि बढ्ने सम्भावना विल्कुल देखिँदैन । विशेषतः २०६४ सालदेखि अहिलेसम्म देशमा खिचडी सरकारहरू भए र छँदैछ पनि । सम्भवतः आगामी सरकार पनि त्यही दिशामा प्रवृत देखिन्छ । यस्तो अवस्थामा मुलुकले वर्तमानमा देखिएका जल्दाबल्दा समस्या हल गर्न सक्छ भन्ने विश्वास गर्ने ठाउँ देखिँदैन । यसको पछाडि अन्य धेरै कारण होलान् तर मूल कारण भनेको ‘बालुवा र हलुवा’ लाई एकै ठाउँ मिसाउनु हो ।

अर्थात् एक अर्कासँग मेल नखाने विपरीत विचार बोकेका पार्टीहरूको गठजोड नै मूल समस्या हो । संविधान निर्माणसम्म त्यसलाई (गठबन्धन) सामान्य रूपले ग्रहण गरिए पनि निरन्तर गठजोड रहिरहनुले राजनीतिलाई गतिहीन र दिशाहीनता बनाइदिएको छ । जब न त्यहाँ सिद्धान्त मिल्छ न आदर्श नै अनि त्यहाँ कसरी सहयात्रा चुस्तदुरुस्त चल्न सक्छ ? त्यसैले आज मुलुक गतिहीन र दिशाहीन बन्न पुगेको छ । संविधान जारीपछिको पहिलो संघीय निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थिरता र समृद्धिका लागि नेकपालाई स्पष्ट बहुमत दिए । तर झण्डै दुई तिहाइ बहुमतले निर्माण भएको नेकपाको सरकार मात्तिएर भुइँमा न भाँडामा भएर आफ्नै कारण सत्ताच्युत हुन पुग्यो ।

अनि त्यसपछि फेरि अस्वाभाविक गठजोडको सरकार बन्ने अवस्था आयो । त्यसदिनदेखि नेपालमा फेरि समृद्धिको त के कुरा जनताको स्थिरतासमेतको सपना पानी-पानी भयो । त्यहीँबाट नेपालीहरूमा निराशा र असन्तुष्टि बढ्दै गयो । जुन निराशा र असन्तुष्टि घट्नुको सट्टा झन् बढ्दो अवस्थामा देखिन्छ । अग्रगामी दिशामा द्रुत गतिका साथ अघि बढ्नुपर्ने अवस्थामा सत्ताको माखेसांलोमा लरबरिँदा मुलुक एक प्रकारले नेतृत्वविहीन जस्तो बन्दै गयो । सरकार त केबल प्राविधिक मात्रै भयो तर जनतालाई सरकार छ भन्ने अनुभूति गराउन सकिरहेको छैन । यो सबै गठबन्धनको चक्रब्युहका कारणले हो ।

राजनीतिक, सैद्धान्तिक, वैचारिक दर्शन र आदर्शसँग मेल खानेबीचको चुनावी एकता र तालमेल मात्र स्वाभाविक हुन्छ । तर, नितान्त फरक राजनीतिक धारका पार्टीहरूबीचको गठबन्धन सही अर्थमा अपवित्र नै हो । यसले गठबन्धनमा आबद्ध दलहरूको स्वतन्त्र छविमा हानी हुने निश्चित छ ।

सरकार सञ्चालन गर्न निश्चित राजनीतिक दर्शनले गर्ने हो तर त्यसो हुन सकेन । विभिन्न विचार र दर्शनबाट निर्देशित पार्टीहरूको गठजोडको सरकारले निश्चित दिशा समात्न नसक्नु नै अहिलेको जटिलता हो । गठबन्धन सरकार पनि यदाकँदा बन्ने गर्छन् तर विचार मिल्नेहरूसँग तर जुन अहिलेको गठबन्धन छ यो त्यति स्वाभाविक मानिँदैन । यो सरकार त केपी शर्मा ओलीको अहंकार र दम्भ तोड्न, लोकतन्त्र र संविधानको रक्षाका लागि मात्रै बनेको जगजाहेर नै छ । तर, अब पनि यहीँ सत्ता गठबन्धनलाई निरन्तरता दिनु कुनै दृष्टिकोणले मनासिव देखिँदैन । त्यसैले गठबन्धनको चक्रब्युहबाट राष्ट्रिय राजनीतिलाई बाहिर निकाल्न सक्नुपर्छ ।

राजनीतिक, सैद्धान्तिक, वैचारिक दर्शन र आदर्शसँग मेल खानेबीचको चुनावी एकता र तालमेल मात्र स्वाभाविक हुन्छ । तर, नितान्त फरक राजनीतिक धारका पार्टीहरूबीचको गठबन्धन सही अर्थमा अपवित्र नै हो । यसले गठबन्धनमा आबद्ध दलहरूको स्वतन्त्र छविमा हानी हुने निश्चित छ । यद्यपि सिंगो मुलुकका कथित प्रमुख पार्टीहरू त्यही बाटो (गठ्बन्धन) मा लागेपछि राजनीतिमा दलीय चरित्र समाप्त हुने खतरा पनि उत्तिकै टड्कारो बन्दैगएको छ । यसै पनि मुख्य दलहरूको असक्षमता र बढी विवादित हुँदै जाँदा राजनीतिप्रति आमनागरिकको उत्साहमा कमी आएको अनुभव गरिँदैछ ।

यसको परिणाम सांकेतिक रूपमा स्थानीय निर्वाचनले देखाइसकेको छ । कुरा प्रष्टै छ अब दलहरूले पुनः जनविश्वास प्राप्त गर्न त्यति सहज छैन । अहिलेको सत्ता गठबन्धनको विरुद्धमा बाहिर हल्ला गरिए जस्तो प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) एक्लै चुनावी मैदानमा उत्रने हो भने त्यसले ठूलै उथलपुथल ल्याउन सक्ने देखिन्छ । तर, यदि नेकपा एमाले पनि सत्ता गठबन्धनकै पदचिहृनमा हिँड्ने प्रयासतिर लाग्यो भने उसको पनि गति जनताको नजरमा गिर्ने पक्का छ । यसर्थ यदि राष्ट्रिय राजनीतिलाई गठबन्धनको चक्रब्युहबाट जोगाउन सकिएन भने फेरि २०१७ साल नदोहोरिएला भन्न सकिँदैन ।

प्रथम जननिर्वाचित सरकारका विरुद्ध अनेक जालझेल र लाञ्छना लगाएर पार्टीमाथि प्रतिबन्ध लगाइयो । संसद भंग गरी प्रधानमन्त्री, मन्त्री र विघटनको विरुद्ध इन क्लब गर्नेहरूलाई कठोर जेलयातना दिने काम भयो भने कतिलाई त कत्लेआम गरियो । आज त्यही कदम ठीक थियो भन्नेहरू विभिन्न ढंगले देखा परिरहेका छन् । त्यसैले परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूले एक पटक पछाडि फर्किएर हेर्न आवश्यक छ । नेपाली जनता दलहरूको सेण्डिकेटको घेरा तोडेर बाहिर निस्किसकेका छन् ।

यस तथ्यलाई आँखा चिम्लिएर नजरअन्दाज गर्नु भयानक भुल हुनेछ । किनकि नेपाली जनताले दलहरूको अनुशासनको घेरा नतोडेको भए भरखरैसम्म स्थानीय निर्वाचन स्वतन्त्र उम्मेदवारले जित्ने अवस्था आउने थिएन । काठमाडौं जस्तो ठाउँमा स्वतन्त्र चुनाव जित्नु कुनै ठट्टा होइन । त्यसैले दलहरूले अझै सेण्डिकेटकै भरमा चुनाव जित्छौं भन्नु भ्रम मात्र हो । त्यसर्थ सबैभन्दा पहिले दलहरूले गठबन्धनको गलत संस्कृति त्याग्न सक्नुपर्छ र त्यो गठबन्धनको चक्रब्युहबाट राष्ट्रिय राजनीतिलाई निकास दिनुपर्छ ।

दलीय राजनीतिमा पार्टीहरूका आआफ्ना नीति कार्यक्रमहरू हुन्छन् । तिनै नीति र कार्यक्रमलाई अनुमोदन गर्न जनतासँग जानुपर्ने हुन्छ । जनताले पनि पार्टी नीति र कार्यक्रमको आधारमा कुन पार्टी रोज्ने हो त्यो मौका दलहरूले दिनुपर्छ । यदि यही र यस्तै गठबन्धन रहिरहने हो भने ‘न रहे बाँस न बजे बाँसुरी’ हुने परिदृश्य पनि यही वरिपरि घुमिरहेको छ । यसै नेपालीहरू भ्रष्टाचार, कमिसनतन्त्र, दलाली आदि प्रवृत्तिको दुर्गन्धले नाक छोपेर हिँड्न बाध्य छन् । मुलुक भ्रष्टाचार र कमिसनतन्त्रलाई नियमन गर्ने संवैधानिक अंग या त छँदैछैनन् या निरिह भएर बसेको छ ।

होइन भने यति धेरै भ्रष्टाचारको दुर्गन्धलाई टुलुटुलु हेरेर नबस्नुपर्ने हो भन्ने आमनागरिकको चिन्ता र चासो पाइन्छ । यस्तो लज्जास्पद स्थितिमा सरकार र नियमनकारी अंगहरू कुन कारणले कानमा तेल हालेर बसेका छन् भन्ने प्रश्नहरू अनुत्तरित नै छन् । त्यसैले अब राजनीतिक दलहरू गम्भीर हुनु जरुरी छ । अन्यथा जनता सत्य हुन् र सत्य आगो पनि हो । आगो रूपी सत्यसँग खेल्न खोजे निसन्देह ती सबै जलेर नष्ट हुन्छन् । तसर्थ गठबन्धनका शक्तिहरू पनि नेपालीले नदेखेका होइनन् । त्यस्ता गठबन्धनलाई यही राजधानीमै अर्थात केन्द्र सरकारकै नाकैमुनि बालेन साहलाई जिताएर देखाइदिएको घटना ताजै छ ।

यति हुँदा पनि नचेत्ने हो भने त्यसबाट उत्पन्न हुने परिणामको भागी हुन कुनै गठबन्धनको शक्तिले रोक्न सक्दैन । राज्य संयन्त्र चलाउन सधैँ गठबन्धन सहारा खोज्ने हो भने हाम्रा दलहरू राजनीतिक, सैद्धान्तिक र वैचारिक दृष्टिबाट स्खलित भए भनेर बुझ्नुपर्ने हुन्छ । राजनीतिले सही दिशा लिन नसकेर नै अहिले मुलुक गठबन्धनको चक्रब्युहमा नराम्रोसँग फसेको छ । जति सक्यो छिटो गठबन्धनको दलदलबाट राष्ट्रिय राजनीतिलाई उतार्न सकिन्छ त्यति नै छिटो मुलुकको स्थिरता, शान्ति र समृद्धिको बाटो खुल्छ ।

आखिरी यो राष्ट्र निर्माणको जिम्मा लिएका दलहरू आफ्नो राजनीतिक, वैचारिक र सैद्धान्तिक मार्गचित्रबाट अघि नबढेसम्म शान्ति र समृद्धि आकाशकै फल हुने पक्का छ । अब राणा फाल्यौँ, पञ्चायत फाल्यौँ र राजा फालेर गणतन्त्र ल्यायौँ भनेरमात्र जनता चुप लागेर बस्नेवाला छैनन् । जनताले सबै दल र नेताहरूको हिसाबकिताब राखेका छन् । त्यस्तो हिसाबकिताब बुझाउन सक्ने गरी जनतामा जानुपर्ने देखिँदैछ । हिजको जस्तो कर्मकाण्डले खुरुखुरु भोट हाल्छन् भन्नु भयानक भुल हुनेछ ।

यस्ता यक्ष प्रश्नको चित्तबुझ्दो जबाफ खोज्ने छन् नेपालीहरूले । प्रमुख प्रतिपक्ष दलले पनि धेरै अनुत्तरित प्रश्नहरूको सन्तोषजनक जवाफ तयार गरेर बस्न आवश्यक छ । यहाँ सत्ता र प्रतिपक्ष दुवैलाई एउटै ड्याङका मुलको रूपमा आमनागरिकले हेरिरहेका छ्न, बुझिरहेका छन् भन्ने बिर्सनु हुँदैन । साथै दलहरू सच्चिऊन् भन्ने भित्री चाहना छ । यो प्रणाली नै समाप्त होस् भन्नेहरूलाई सहजता नगरी दिऊँ । त्यसका लागि गठबन्धनको चक्रब्युहबाट राष्ट्रिय राजनीतिलाई जोगाउन आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?