बालैवासीलाई बालै खोलाको भर

हिमालय टाइम्स
Read Time = 3 mins

मुगु । छायाँनाथ रारा नगरपालिका-६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो । बालै खोलाबाट बालुना ननिकाली यहाँका बासिन्दाको बिहान बेलुकाको छाक टर्दैन ।

छायानाथ रारा नगरपालिका-६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक बिहान बालै बगरमा बालुवा निकाल्न पुग्नुहुन्छ । बिहानै खोलामा पुग्ने उहाँ बेलुका अबेर मात्रै घर फर्किनुहुन्छ । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले परिवार पाल्न पुग्ने गरेको उहाँ सुनाउँनुहुन्छ ।

भामबहादुर मात्रै होइन बालैका अधिकांशको मुख्य रोजगारी नै खोलाको बालुवा निकाल्ने भएको छ । उज्यालो हुदाँ गाउँका अधिकांश युवा खोलामा पुगिसकेका हुन्छन् । यहाँका मानिसको मुख्य काम कृषि नै हो । परम्परागत रुपमा गरिने कोदो, धान, फापर, कागुनो, चिनोखेतीले परिवार पाल्न नपुगेपछि उनीहरू बालै खोलातिर झरेका हुन् ।

बालैगाउँ सडक सञ्जालमा जोडिएपछि गमगढी बजारलगायत स्थानमा पक्की घर बन्न थालेका छन् । जसका कारण गाउँमै बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न भामबहादुरसहित गाउँका युवा बालुवा संकलनमा होमिएका छन् । उनीहरू बालुवा बेचेर आर्थिक जोहो, जीविकोपार्जनमा जुटेका हुन् । बालै बगरमा बस्दै आएका ६० घरधुरीले नदी किनारमा बालुवा निकाल्ने स्थान समेत भागबन्डा गरेका छन् ।

तीन महिनाको आम्दानी वर्षभरिलाई
असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामबहादुरले बताउनुभयाे । यो सिजनमा एउटा परिवारले कम्तिमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय प्रेमबहादुरले सुनाउनुभयाे ।

नदीबाट बालुवा निकालेर बिक्री गर्दा नगरपालिकालाई प्रति ट्रयाक्टर एक सय र बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रलाई तीन सय रुपैयाँ राजस्व तिर्ने गरेको भामबहादुरले बताउनुभयाे । मध्यवर्ती क्षेत्रबाट १५ कात्तिकदेखि १५ जेठसम्म बालुवा निकाल्न पाइदैन ।

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व लिने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?