निर्माण सुरु भएको ६ वर्षमा पनि बनेन पुल

हिमालय टाइम्स
Read Time = 8 mins
A A- A+

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका-५ अधिकारीचौरको अस्तु-ओडारबोट जोड्ने मोटरेवल पुल निर्माण थालिएको ६ वर्ष भयो । तर ६ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुन सकेको छैन । पुलको दुईतिर पिल्लर उठाएको वर्षौं भए पनि अरू काम भने हुुन सकेको छैन ।
मोटरेबल पुल निर्माणका लागि वाइटी रफिना जेबी कन्ट्रक्सनले २०७३ असोज ४ गते सडक डिभिजन कार्यलय बागलुङसँग सम्झौता गरेको थियो । १६ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशत मात्रै भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले जानकारी दिनुभयो ।

कार्यालयले पटक-पटक काम गर्न ताकेता गरे पनि निर्माण कम्पनीले अटेरी गरेपछि गत वर्ष पुस १ गते ठेक्का सम्झौता तोड्ने सूचना प्रकाशन गरेको उहाँको भनाइ छ । सूचना प्रकाशपछि निर्माण कम्पनीका प्रमुख काम सक्छौँ भनेर आएको र काम नगरी गत असारदेखि निर्माण कम्पनीका प्रमुख नै आफ्नो सम्पर्कमा नभएको उहाँले बताउनुभयो । ‘गत वर्ष पुसको १ गते सम्झौता तोड्ने भनेर हामीले सूचना प्रकाशन ग¥यौँ, त्यसपछि ठेकेदार कम्पनीका प्रमुख काम गर्छौँ भनेर सम्पर्कमा आउनुभयो, तर उहाँले असारसम्म कुनै पनि काम गर्नुभएन, असारपछि उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्न ।’ कार्यालय प्रमुख मल्लले भन्नुभयो । कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढाइसकेको प्रमुख मल्लको भनाइ छ ।

उहाँले पेस्की जमानतसमेत जफत गरेको भन्दै अब नयाँ सम्झौता गर्ने बताउनुभयो । उक्त कम्पनीले हालसम्म ४० प्रतिशत मात्रै काम गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । निर्माण कम्पनीले सडक डिभिजन कार्यालयसँग तीन करोड ५० लाख रुपैयाँको सम्झौता गरेको थियो । पुलको दुवैतिर निर्माण गरेको पर्खाल भुजिखोलामा आएको बाढीका कारण भत्किएर क्षति पुगेको छ ।

निर्माण सुरु भएको लामो समयसम्म पुल सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । भुजिखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको हो । हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्खाको समयमा भने ठप्प हुने गरेको छ । अधिकारीचौरका अधिकांश स्थानीय व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । बर्खामा गाडी खोला नतर्ने भएपछि उनीहरूले उत्पादन गरेको तरकारी बारीमै कुहिएर नष्ट हुने गरेको छ ।

‘गाउँ मोटरबाटोले जोडियो, पुल पनि बन्न थाल्यो भनेर कृषिमा लगानी गरियो, अहिले पुल नबन्दा उत्पादन भएका सागसब्जी, गोलभेंडा, बन्दा सबै बारीमा कुहिएर नष्ट भएका छन्, पुल बन्न थालेको ६ वर्ष बितिसक्यो, अहिलेसम्म दुईतिर पिल्लर मात्रै उठाएको छ, अरू कामै गरेको छैन’ स्थानीय शिवराज कँडेलले भन्नुभयो, ‘पुल नबन्दा बजारमा तरकारी, फलफूल पुर्‍याउन निकै गाह्रो भएको छ, यो समय त गाडी चल्दैन, त्यसले गर्दा हामी निकै मारमा परेका छौँ, हाम्रो माग कसैले सुनेन ।’

भुजीखोला बढेपछि गत असार पहिलो सातादेखि गाडीहरू ठप्प भएको कँडेलको भनाइ छ । उहाँले ठेकेदार कम्पनी र सम्बन्धित निकायको बेवास्ताका कारण यतिका वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको गुनासो गर्नुभयो । समयमै पुल नबन्दा स्थानीयले दुई मिनेटमा पुग्न सकिने ठाउँमा ४५ मिनेटभन्दा बढी यात्रा गर्न बाध्य भएको कँडेल बताउनुहुन्छ ।

‘पुल बन्थ्यो भने वारिबाट पारि सडकमा पुग्न दुई मिनेट पनि लाग्दैन, तर अहिले हामी एक घण्टा लगाएर पारि तर्ने गछौँ, बजारबाट साना लिन प¥यो भने दिनैभरि लाग्छ, गाउँले मिलेर पटक-पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गरायौँ, तर कुनै सुनुवाइ भएन’, उहाँ भन्नुहुन्छ ‘गाउँमा कोही बिरामी पर्‍यो भने तत्काल अस्पताल पुर्‍याउन सक्ने अवस्था छैन, गाउँमा सडक छ तर पुल नहुँदा गाडी चल्दैन, त्यसले गर्दा हाम्ले दुःख भोग्नुपरेको छ, अझै कति समय लाग्ने हो यो पुल बन्न ?’

पुल अलपत्र पार्ने निर्माण कम्पनी र ठेकेदारलाई कडा कारबाही गर्नु पर्ने स्थानीयले माग गर्दै आएका छन् । तोकिएको समयमा पुल नबन्दा बारीमा उत्पादन भएका फलफूल र तरकारी कुहिँदा लाखौँको नोक्सानी बेहोर्नु परेको स्थानीय कृषक कृष्णलाल कँडेलले दुःखेसो पोख्नुभयो ।
‘वर्षौं भयो पुल बन्न थालेको खै अहिलेसम्म बनेको ?, त्यस्ता ठेकेदारलाई कारबाही हुनुपर्छ, यो पुल त सिंगो गाउँलेको भविष्यसँग जोडिएको छ, समयमै पुल बन्ला भनेर लाखौँ रकम लगानी गरियो, अहिले आम्दानी गर्ने बेला नोक्सान मात्रै भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हिउँदमा भएको भए मान्छेले पनि बोकेर बजारसम्म पुर्‍याउन सकिन्छ, पानी झरी पर्छ कसरी लाने ?, खोला तार्नै सकिन्न ।’

मोटरबाटोले गाउँ नजोडिँदा हिउँदको समयमा उत्पादन गरेका फलफूल तथा तरकारी भरिया लगाएर बुर्तिबाङ बजारसम्म पुर्‍याउने गरेको भन्दै मोटरबाटोले गाउँ जोडिएपछि तरकारी लिन घरमै पनि गाडी पुग्ने गरेको उहाँले बताउनुभयो ।

‘मोटरबाटो गाउँमा पुगेपछि त निकै सजिलो भएको थियो, पहिले मान्छे लगाएर बजारमा लैजानुपथ्र्यो, बाटो आएपछि व्यापारीहरू घरमै गाडी लिएर लिन आउँथे’ कँडेलले भन्नुभयो, ‘यस्तो बर्खाको समय छ, खोला उर्लेर आएको छ, अहिले त न गाडी आउँछ, न बोकेर बजार पु¥याउन सकिने अवस्था छ, त्यसले गर्दा तरकारी फलफूल गाईभैँसीलाई दिन बाध्य भएका छौँ ।’

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?