गाउँपालिकाद्वारा एमबिबिएस पढ्ने विद्यार्थीलाई लगानी

हिमालय टाइम्स
Read Time = 3 mins

विजय रावत/हिटा
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने पालिकाभित्रका विद्यार्थीलाई आर्थिक लगानी गरेको छ । सो गाउँपालिका–४ लुमगाउँका २३ वर्षीय नवीन रेउले अहिले देवदह मेडिकल कजेज बुटवलमा चिकित्सा शिक्षा अध्ययनरत हुनुहुन्छ । उहाँले गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा एमबिबिएस अध्ययन गर्दै आउनुभएको छ । साढे पाँचवर्षे एमबिबिएस अध्ययन गर्न ४६ लाख रकम खर्च लाग्छ । ४६ लाखमध्ये ७५ प्रतिशत अर्थात् ३५ लाख रुपैयाँ गाउँपालिकाले अनुदान सहयोग गरेको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाले जानकारी दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा हेल्थ असिस्टेन्ट अध्ययन सकेर एमबिबिएस पढाइमा पालिकाले आर्थिक सहयोग गरेको नवीन रेउलेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्य कृषि पेशा व्यवसाय गर्ने बुबाआमाले त हेल्थ असिस्टेन्ट पढाउनुभयो । त्योभन्दा माथि पढ्ने चाहना भए पनि घरपरिवारको क्षमता भने थिएन । एमबिबिएस पढ्ने चाहना हुँदा पनि खर्च अभावका कारण खुम्चिएर बस्नुपरेको थियो । कसरी एमबिबिएस अध्ययन गर्ने भन्ने चिन्ताले पिरोल्दै आएको थियो ।’

गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९/०८० मा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई अनुदान सहयोग गर्ने सूचना प्रकाशन ग¥यो । सो सूचनाका आधारमा पालिकामा निवेदन पेस गरेपछि एमबिबिएस अध्ययन गर्ने मौका जुरेको नवीनले बताउनुभयो । पालिकाको स्वास्थ्य क्षेत्रलाई माथि उकास्नका लागि गाउँपालिकाले हरेक वर्ष अनुदानमा डाक्टर पढाउने बजेट विनियोजन गर्दै आएपछि पालिकाभित्रका विद्यार्थीलाई राहत पुगेको पातारासी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वार्षिक सात लाख बजेटका दरले पाँच वर्षमा ३५ लाख सहयोग गर्ने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?