एनआरएनएको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा गैरआवासीय नेपाली (एनआरएनए)ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

वर्षाका कारण ६ ओभरमा छोट्टाइएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको एनआरएनएले निर्धारित ६ ओभरमा चार विकेट गुमाउँदै ७४ रन बनाएको थियो । एनआरएनएका सागर पुनले १९ बलमा तीन चौका र तीन छक्कासहित ४६ रनको पारी खेल्नुभयो ।
यस्तै, कप्तान सुनाम गौतमले ११ बलमा तीन चौका र एक छक्कासहित २४ रन जोड्नुभयो । सुदूरपश्चिमका हेमन्त धामी र शेर मल्लले दुई-दुई विकेट लिनुभयो ।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ ओभरमा ६ विकेट गुमाउँदै ६२ रनमात्रै जोड्न सक्यो । सुदूरपश्चिमका ओपनर खडक बोहोराले १२, राजु रिजालले ११ तथा वसन्त खत्रीले १० रनबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नुभएन् । एनआरएनएका लागि आशिष पोखरेल र दीपक क्षेत्रीले तीन–तीन विकेट लिनुभयो ।

यता, वर्षाका कारण गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । वर्षाका कारण मैदान भिजेकाले गण्डकी र मधेशबीचको खेल रद्द भएको हो । खेल टससमेत नभई रद्द भएको हो ।

प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलगायतले गर्नुभएको थियो ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना हुन लागेको हो । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनएको टोली गरी ११ टोलीको सहभागिता छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?