महिला साफ : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

Photo: goalnepal. com

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गर्नुभयो भने कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक/एक गोल गर्नुभयो ।

खेलको १०औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको थियो । उहाँले हिराकुमारी भुजेलको पासमा गोल गर्नुभएको थियो । रश्मीले हिराको क्रसमा हेडरमार्फत गोल गर्नुभएको थियो । त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउनुभयो । उहाँले पुनम जर्घा मगरको पासमा गोल गर्नुभएको थियो । नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाउनुभयो । पहिलो हाफको इञ्ज्युरी समयमा दीपा शाहीले गोल गर्दा नेपालले पहिलो हाफमा ४–० गोलको अग्रता लिएको थियो । खेलको ७६ औं मिनेटमा अमिसाले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाउनुभयो । अमिसाले खेलको इञ्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० गोलको जित दिलाउनुभयो ।

यस जितसँगै नेपालले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएको छ । यस्तै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ को नेपालले दुई खेलमा ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो ।

नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो । भुटानले दुई खेलमा तीन अंक जोड्यो । दुई खेलमा पराजित रहदै अंक विहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ । नेपालले अब सेमिफाइनल प्रतिद्वन्द्वीका लागि बंगलादेश र भारतबीचको खेलको नतिजा पर्खनु पर्ने हुन्छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?