अहिले देशको अर्थतन्त्रमा सुधार आइसकेको छ : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 4 mins

-नवराज शिवाकोटी
दोलखा । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले देशको अर्थतन्त्रमा सुधार आइरहेको बताउनु भएको छ । बृहत दोलखा महोत्सवको शुक्रवार सरदमुकाम चरिकोटमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।

महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूले सत्ता सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु ठिक नभएकोमा अहिले विदेशी मुद्रा संचिति, पर्यटक आगमन, घर जग्गा कारोवार लगायतका सबै सूचकहरु सकारात्मक बन्दै आएको बताउनु भयो । “मैंले एक वर्ष अघि सत्ता सम्हाल्दा नेपाली अर्थतन्त्र डुबिसकेको भाष्य थियो । राजश्व घट्दो क्रममा थियो, बैंकको ब्याजदर बढ्दो क्रममा थियो । तीन महिनाको आयात धान्न पुग्ने बैदेशिक मुद्रा सञ्चिति मात्र थियो ।” प्रचण्डले भन्नुभयो, “तर एक वर्ष पछि अहिले अर्थतन्त्रमा सुधार देखिएकोछ । राजश्व बढ्न थालेको छ । रेमिटेन्समा बृद्धि भएको छ । बैंकको ब्याजदरमा कमी आएको छ । पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रुपमा बढेको छ । ”

राष्ट्रिय महत्वका दीर्घकालिन योजनाहरुलाई विशेष प्राथमिकताका आधारमा अगाडि बढाइने सरकारको नीति अनुरुप चीन तथा भारतलाई जोड्ने लामावगर फलाक नाका खोल्न तामाकोशी कोरिडोर सडकलाई क्रमस अगाडि बढाउने उहाँले बताउनु भयो । यस्तै दोलखामा निर्माणाधीन फिल्मसिटीको निर्माण कार्य अघि बढीरहेको उल्लेख गर्दे निर्माणाधीन भीमेश्वर रंगशालाको निर्माणमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिनुभयो । निजीक्षेत्र तथा सरकारको सहकार्यबाट नै अर्थतन्त्र चलायमान हुने भएकोले बृहत दोलखा महोत्सवले दोलखाको अर्थतन्त्रलाई चालयमान बनाउने विश्वास उहाँले ब्यक्त गर्नु भयो ।

पुुस लागेपछि आफूले काम गर्ने तरिकामा परिवर्तन गरी सिंहदरबार केन्द्रित भइ काम गर्ने भनेता पनि परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका रितबहादुर खड्काको जिल्ला भएकोले आफू दोलखा महोत्वसको उद्घाटन गर्न दोलखा आएको उहाँले बताउनु भयो ।
दश दिने बृहत दोलखा महोत्सवको उद्घाटनकै अवसरमा जिल्लाका स्थानीय सरकारहरु तथा राजनैतिक दलहरुको तर्फबाट प्रधानमन्त्री दहाल लाई जिल्ला समन्वय समिति दोलखाका संयोजक बर्जुराम घतानीले दोलखाका विकासका आवश्यकता तथा सम्भावनाहरुको बारेमा ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का, नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा लगायतले सम्बोधन गर्नु भएको थियो । उद्घाटन समारोहको अध्यक्षता दोखला उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

“दोलखा महोत्वसवको दिब्य दृष्टी, आर्थिक क्रान्तिको नयाँ सृष्टि” नाराका साथ दोलखा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारबाट सुरु भएको बृहत दोलखा महोत्सव २०८० दश दिन सम्म चल्नें छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?