उपयुक्त खेल मैदान नहुँदा खेलाडी मारमा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । कला, संस्कृति र परम्परासँगै खेल क्षेत्रमा पनि बागलुङमा अब्बल छ । खास गरी यहाँ भलिबल खेल बढी प्रचलनमा हुँदा बालबालिकादेखि युवाहरू यही खेलनै खेल्दै आएका छन् । चाडपर्व, मेला महोत्सव आयो की बजारदेखि गाउँसम्म ठूलो–ठूलो पुरस्कार राशीको खेलकुद प्रतियोगिता हुन्छन् । खेलप्रति धेरैको चासो र रुचि पनि देखिन्छ । तर जिल्लाका अधिकांश ठाउँमा उपयुक्त खेल मैदान छैन । भए पनि साँघुरा छन् । त्यस्ता खेल मैदानले दुर्घटना जोखिम बढाएका छन् ।

उपयुक्त खेल मैदान नहुँदा पनि खेलाडीहरू उत्पादन भइरहेका छन् । उनीहरू साँघुरा घरको आँगन, बारीको पाटो तथा विद्यालयको प्राङ्गणमा खेल्दै आएका छन् । खेल खेल्ने पर्याप्त वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट पनि हात धुनु परेको छ । त कति विदेशिनु परेको छ । त्यही साँघुरो बारीमा खेल्दै हुर्किएका दर्जनौँ खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेल खेलिरहेका छन् । उनीहरुले आफ्नो पहिचानलाई थप उचो बनाएका छन् ।

बागलुङबाट रवी केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार सोफया पुनलगायत दर्जनौँ खेलाडीले राष्ट्रिय स्तरमा आफ्नो नाम दर्ज गर्न सफल भइसक्नुभएको छ । अहिले पनि उहाँहरूकै पछि-पछि सयौँ बालबालिका तथा युवाहरू भलिबल र फुटबल खेल्दै आएका छन् । खेल मैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लो स्तरको खेल कसरी खेल्न सकिन्छ भन्नेमा अन्यौल छन् । राम्रो प्रशिक्षक र खेल मैदान नहुँदा राम्रो खेल्ने खेलाडी पनि गाउँमै सीमित बन्नु परेको भलिबल खेलका अन्तर्राष्ट्रिय खेलाडी दिल सुनारले बताउनुभयो ।

निसीखोला गाउँपालिका-१ का सुनारले विगतमा आफू पाटाको कुना, खोला किनारमा खेल्दै सिकेको स्मरण गर्दै अहिले पनि खेल क्षेत्रको अवस्था निकै दयनीय भएको बताउनुभयो । पछिल्लो समय तीन तहकै सरकारले खेल क्षेत्रको प्रवद्र्धनका लागि बजेट व्यवस्थापन गरे पनि सही ठाउँमा प्रयोग हुन नसकेको सुनार बताउनुहुन्छ । अहिले पनि राज्यको खेल प्रति हेरिने दृष्टिकोण फेरिन नसकेको उहाँको भनाइ छ । बडिगाडका नविनकुमार घर्तीले गाउँ घरमा खेल धेरै खेल्ने गरे पनि मैदानकै अभाव भोग्नु परेको सुनाउनु भयो । घर्तीले समथर खेल मैदान नहुँदा काठ, ढुंगा मुडामाथि खेल खेल्नु पर्ने स्थिति रहेको गुनासो पोख्नु भयो । ग्रामीण क्षेत्रहरू निकै भिराला र अप्ठ्यारा हुँदा खेल खेल्नसमेत जोखिम रहेको घर्तीको भनाइ छ ।

जिल्लाको बागलुङ नगरपालिका-१ स्थित बाङ्गेचौर-९ को भकुण्डे, काठेखोला गाउँपालिका-७ रेश र तमानखोला गाउँपालिका-३ तमान गाउँमा बोहक अन्य ठाउँमा पर्याप्त खेल मैदान छैनन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले सरकारले जिल्लाका खेलकुद सम्बद्ध संघ संस्थासँग सहकार्य नगरी बजेट विनियोजन गर्दा सही ठाउँमा प्रयोग हुन नसकेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ- ‘बजेट कहाँ छ ?, कहाँबाट कति आउँछ, यस बारेमा खेलकुद विकास समितिलाई थाहानै हुँदैन, खेलाडीहरूको धेरै गुनासो खेल मैदानकै भएको हुँदा पछिल्लो समय हामीहरूले यसको बारेमा जानकारी लिन थालेका छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?