विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सर्लाही, झापा, कपिलवस्तु र कैलालीबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-५ डेरा गरी बस्ने दिलिप साहको कोठाबाट ५ केजी गाँजासहित मलगंवा नगरपालिका-९ बस्ने ४९ वर्षीय वीरेन्द्र चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले लागूऔषध बोकी ल्याएको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने २८ वर्षीय मोहन राजबंशीलाई ५ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापाको भद्रपुर नगरपालिका-५ मेचिपुल छेउबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-२ बस्ने ३६ वर्षीय लोकराज राजबंशी र कन्काई नगरपालिका-८ बस्ने २५ वर्षीय अजय राजबंशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ४७३४ नम्बरको अटो टेम्पोलाई प्रहरीले जाँच गर्ने क्रममा टेम्पोको चाबी बक्समा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी चालक लोकराज राजबंशी र टेम्पोमा सवार अजयलाई पक्राउ गरेको हो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट करिब ४ ग्राम ८६० मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका-८ महावन बस्ने ३१ वर्षीय ईश्वर घर्ती र सोही नगरपालिका-१४ वोर्ड गाँउ बस्ने २० वर्षीय तुल्सीराम थारु रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको लु.७० प ४३९३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक डेरा गरी बस्ने बझाङ छविस पाथिभरा गाउँपालिका-४ घर भएका २४ वर्षीय बिशाल थापालाई ७ ग्राम २६० मिलिग्राम ब्राउनसुगरसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?