बुटवल । सडक विस्तारको काम पूरा नहुँदै बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाको कार्यालय खारेज भएको छ । बुटवलदेखि बेलहियासम्म ६ लेन सडक विस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको थियो । तर, आयोजनाले अहिलेसम्म बुटवलको राजमार्ग चौराहादेखि बेलहियासम्म २४ किलोमिटर सडक निर्माण सम्पन्न गरेको छ भने चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक दुई वर्षदेखि अलपत्र छ ।
त्यस्तै, बेलहियाको ७०० मिटर सडक निर्माण पनि अलपत्र छ । सडक निर्माण नसकिँदै आयोजनाको कार्यालय खारेज भएपछि निर्माणको काम अझै अलपत्र पर्ने अवस्था देखिएको छ । आयोजनाको काम डिभिजन सडक कार्यालय बुटवलले हेर्नेगरी कार्यालय खारेज भएको आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिनुभयो ।
चौतर्फी दबाबबीच केही दिन काम गरेको बुटवलको अस्पताल लाइन क्षेत्रमा एकतर्फी बनाएर ठेकेदार सम्पर्कविहीन भएपछि सडक प्रयोगकर्ताहरूलाई सास्ती भएको छ । सबैभन्दा बढी सवारी साधनको चाप हुने लुम्बिनी बस टर्मिनलदेखि ट्राफिक चोकसम्मको करिब ५०० मिटर सडक एकतर्फी बनाएर ठेकेदार हिँडेपछि उक्त क्षेत्र अस्तव्यस्त छ ।
पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल बसपार्कदेखि ट्राफिक चोक पश्चिमतर्फको सडक झण्डै एक महिनादेखि बन्द गरिएको छ । पूर्वतर्फको सडकमा मात्रै दुईतर्फी चल्ने सवारीसाधन सञ्चालन हुँदा सडकमा सवारी साधनको चाप हुने कार्यालय समयमा घण्टौँसम्म सवारीसाधनको बाक्लो भिड लाग्ने गरेको छ ।
साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७३ साल चैत १७ गते ठेक्का सम्झौता गरिएको सडकमा ६ वर्षमा बल्ल ३० प्रतिशत मात्रै काम भएको छ । समयमा काम सम्पन्न नहुँदा सडकमा परेका खाडलमा वर्षाको पानी जम्मा भएर सडक झनै अस्तव्यस्त बनेको छ ।
गत असार ३० गते ठेक्का अवधि सकिएको निर्माण कम्पनी द कञ्चनजंगा विरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का अवधि थप गर्न केही दिन निर्माण कार्य अगाडि बढाएजस्तो देखाए पनि अहिले निर्माणको काम ठप्प छ । आयोजनाको कार्यालय खारेज भएको पत्र भने अहिलेसम्म नआएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख होम एसीले जानकारी दिनुभयो । ‘खारेज भएको भन्ने सुनेको छु, तर पत्र आइसकेको छैन,’ उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले विगतमा सडकको क्षेत्राधिकार मिचेर बनाएका घर लगायतका संरचना हटाउन खोज्दा सडक क्षेत्राधिकार मिच्नेलाई बोक्दै काठमाडौं पुगेर राजनीतिक र अदालतको ढोका ढकढक्याउने कामको अगुवाइ गर्नुभएको थियो । तर अहिले पाण्डेले स्थानीय तहको निर्वाचन लड्दै गर्दा आफू विजयी भए ६ महिनाभित्र सडक निर्माण पूरा गर्ने बताउनुभएको थियो । तर अहिले भने उहाँले सडक विस्तारमा ढिलाइ भएकोमा आफू निकै चिन्तित भएको बताउनुभयो ।
बुटवल-बेलहिया सडक आयोजनाको जिम्मेवारी सम्हाल्नुभएका सडक डिभिजन कार्यालय बुटवलका तत्कालीन प्रमुख जयलाल मरासिनी सडक क्षेत्राधिकार खाली गर्न अहोरात्र खटिँदा सार्वजनिक रूपमा अपमानित गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच