म भित्रको मेरो देश

Read Time = 23 mins

✍️ हरिभक्त सिग्देल ‘महेश’

नेपाल एकीकरणपछि म फर्किन्छु । म भित्रको मेरो देशको इतिहासमा अझै पछाडि बाईसे चौबीसे राज्यतिर । देश र जनताको प्रतिबिम्ब देखिन्छ देशमा । बोलीचाली, रहनसहन, उठबस, सुख सुविधा अत्यावश्यक वस्तुहरूको व्यवस्थापन आपूर्ति र निर्यात् । यसै सन्दर्भमा उद्योगधन्दा, कृषि, जनप्रशासन, निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान आदि । के यो देश राम्रोसँग चलाइएन त ? प्रश्न उठ्छ उत्तरमा चलाइयो र चलाइएन पनि भन्न मिल्छ । नेपाल भन्नाले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्ला काठमाडौं खाल्डोलाई मात्र भनिन्थ्यो । त्यही हो नेपाल जुन ठाउँ विकासको धेरै अगाडि थियो समग्र विस्तारित नेपालको दाँजोमा ।

अमेरिका जन्मेकै थिएन । भारत-बेलायतको उपनिवेश थियो । जब गोरखाका राजा पृथ्वीनारायण शाहले विभिन्न जातजातिको सल्लाह र सहयोगमा सिंगो नेपालको निर्माण गरे । जहाँ बहादुर शाहजस्ता वीर सपूत र अमरसिंहजस्ता धेरै सुरवीरहरूलाई बिर्सन सक्तैन इतिहासले । नेपाल एकीकरण भयो । विशाल नेपाल त्यसपछिका राजाहरूले खासै केही गरेनन् भन्दा हुन्छ । राजा एउटा हुन्थ्यो राजकाज गुण्डाहरूले सञ्चालन गर्थे । एवं क्रमले धेरै समय बित्यो । राजा त्रिभुवनले त गुण्डाहरूको गुण्ड्याइँ सहन नसकेर देशै छाडेर भाग्नु पर्‍यो । समयक्रमले महेन्द्र राजा भए । उनले आफैँ राज्य गर्न थाले ।

उनले राज्य गर्न सुरु गर्दाको अवस्थामा नेपालबाट नेपाल आउन भारत जानुपथ्र्यो र भारत भएर आउनुपथ्र्याे । चीनको सिमानामा नेपालभित्र भारतीय सैनिक पोष्टहरू थिए । अप्रत्यक्ष औपनिवेशिक अवस्थालाई चिर्दै संयुक्तराष्ट्र संघमा नेपालले सदस्यता लियो उनैको पहलमा । पूर्व–पश्चिम राजमार्गको निर्माण र नेपालबाट नेपालको उत्तरतर्फ चीनको सिमानामा रहेका भारतीयका सैनिक पोष्टहरू हटाउने काम भयो जुन अविस्मरणीय र नेपाल स्वतन्त्र अविभाज्य कहिल्यै कसैको दासता र उपनिवेश नभएको सावित भयो । विश्वको सर्वाेच्च शिखर सगरमाथाको देशका रूपमा विश्वसामु परिचत भयो नेपाल ।

देशमा जबसम्म स्वच्छ निष्पक्ष धाँधलीरहित निर्वाचन हुँदैन तबसम्म न राम्रा नेता आउँछन् न राम्रो पार्टी आउँछ देश जिम्मा लिन, त्यसैले प्रतिस्पर्धा, योग्यता, अनुभव र इमानदारीका आधारमा आदर्श निर्वाचन आयोग कुनै पार्टी वा व्यक्तिको नभई देशको हुनुपर्‍यो ।

नेपाल जहाँ बुद्ध जन्मिए र विश्वभर शान्तिको सन्देश बाँडे र निरन्तर फैलिरहेको छ शान्ति सन्देश शान्ति ! शान्ति !! शान्ति !!! नेपालीको दुर्भाग्य महेन्द्रको असामयिक स्वर्गारोहण भयो । वीरेन्द्र राजा भए । फेरि राणाजस्तै भाइभारदार र घेराबन्दी सुरु भयो । बाहिर र भित्रबाट गुण्डाहरूको गुण्डा भन्नाले ठाँठिलो, ठाँटबाँट गरेको, कसिकसाउ भएर सजिएको, रण्डीबाज, बदमास, कलाहरूमा निपुण, केशविन्यास अति सिपालु, बोलैया सभा आदिमा सबैले रुचाउने हुन्छ भने गुण्डागर्दी भन्नाले गुण्डाहरूद्वारा हुने गुण्ड्याइँ बदमासी हो ।

यस्ता व्याक्तिहरूको भरमा चलाइएको देशको हालत के हुन्छ त ? सोचनीय छ । जे हुनु थियो त्यही भयो । नेपालमा त्यसैताका सुनिता, नमिता दुई छोरीहरूलाई दरबार सम्बद्धहरूले बलात्कार गरी हत्या गरेर पोखराको सेती नदीमा फाले । अनुसन्धान असहज बनाउन वनपालेको पनि विभत्स हत्या भयो । त्यस्तै पुतली सडकमा गाडीको ठक्करबाट दरबार सम्बद्धबाटै मान्छे मारियो जनता गन्दै गए । मुटुमा चोटहरू लेख्दै गए । पत्रकार पदम ठकुराठीको हत्या प्रयास भयो । यसैगरी मूर्ति, लागूऔषध, डलर, आइसी नोटदेखि के भएन हुनु नहुने काम यहाँ ? राजा भलाद्मी ज्ञानी बन्न पाइँदैन राजा जस्तो हुनुपर्छ ।

गुण्डाहरू नियन्त्रणको सट्टा उनीहरूकै रजगज बढ्यो । मदन भण्डारी र जीवराज आश्रितको अकल्पनीय दुर्घटना भयो । दरबारको दुर्घटना जस्तै आ–आफ्नो सेरोफेरोमा आ-आफ्नैको अकर्मण्यता । हामी वीर हौँ कहिल्यै उपनिवेशी भएनौँ भनेर गर्दन फुलाउनेहरूको सुरक्षा व्यवस्था र बहादुरी पनि छर्लंग भयो दरबार हत्या काण्डपछि । अनुसन्धान र सुरक्षामा अब्बल प्रहरीहरूको क्षमता पनि दिउँसै घण्टाघरमा गोली हानेर नागरिकको हत्या हुँदा थाहा भयो । यी सबै असक्षमता होइन गुण्डाहरूले केमा अनुसन्धान सफल गराउने र कुन केसमा सबुत नखोज्ने इशारा र निर्देशन अनुसार हुनेभएका कारणले नै हो ।

सुन काण्ड, धमिजा काण्ड, बोइङ, वाइड बडी, सर्ट बडी के के छन् के के काण्ड बालुवाटार जग्गाको त कुरै गर्नु भएन । ओम्नी सुन्नै भएन । किनकि यी केही गुण्डाहरूले हाँकेको देश हो, चलाएको देश हो । कुनै पनि देश विकसित हुनका लागि जनता सुखी र सम्पन्न हुन जरुरी छ । त्यसका लागि त्यस देशका जनता शिक्षित, नेता इमानदार हुनुपर्दछ ।

निष्पक्ष प्रशासन सञ्चालन गर्न त्यस्तै कानुनहरू निर्मण गर्नु पर्दछ । सक्षम कर्मचारी तन्त्रका लागि लोकसेवा आयोग जो भागबण्डाबाट होइन प्रतिस्पर्धाबाट बन्नुपर्दछ । निष्पक्ष लोकसेवा आयोगबाट लिखित र मौखिक परीक्षा पास गरी छानिएका नवनियुक्त कर्मचारीलाई नियुक्ति, पद अनुसारको सेवा प्रवेश तालिम, उपयुक्त र योग्य प्रशिक्षकहरूबाट दिलाई कार्यक्षेत्रमा पठाउनु पर्दछ । नेपालको संविधान र ऐन कानुन नै कर्मचारीका निर्देशक सिद्धान्त र आदेश हुनुपर्दछ न कि मन्त्री र सचिव नेताहरूका फोन ।

यसरी तयार भएका कर्मचारी तन्त्रमा दण्ड र पुरस्कारको उचित व्यवस्था पनि भएको हुनुपर्दछ । त्यसपछि वित्तीय अनुसाशनका लागि प्रतिस्पर्धा, विज्ञता र योग्यता इमानदारीको आधारमा महालेखा परीक्षकको नियुक्ति हुनुपर्दछ । महालेखाको वार्षिक प्रतिवेदन नै मन्त्रालय विभाग र कार्यालय प्रमुखहरूको दण्ड र पुरस्कारको आधार बन्नुपर्दछ । औचित्यहीन खर्च गर्नेलाई कडा कार्बाही पनि हुनुपर्दछ ।

देशको विमान अपहरण आफ्नै पार्टीभित्र गुट, उपगुट देशका उद्योगधन्दा चक्नाचुर त्यसै कांग्रेसको विरुद्ध जनमत तयार भएको होइन, भारतसँगको कूटनीतिक अध्ययन र विश्लेषणको कमी, माओवादको जन्म, निर्दाेष गरिबहरूका हत्या के भएन यहाँ ? लुट, बलात्कार, हत्या, हिंसा, मानवता पलायन, दानवताको उद्दण्डतालगायत मागेर बनाएका संरचना ध्वस्त भए तर आएन गणतन्त्र, आयो केहीका लागि अवसर बन्ने र बनाउने तर निरीह कार्यकर्ता मर्न बाध्य बनाउने देशलाई कसैको हात संस्कृति भाषा मास्ने सके देश नै खण्डीकरण गर्ने । यस्तै कर्मले गर्दा सत्ता टिकेन स्वतन्त्र अभिमतमा जनताले बुझे स्वात्त तल झ¥यो माओवादीको समर्थन र मत ।

एमालेमा विश्वास बढ्यो बहुमत आयो, झन् कम्युनिष्ट एकता बन्यो करिब दुई तिहाइसँगै यो मतसँगै नेतृत्वमा अहंकार साथमा दिन दहाडै भ्रष्टाचार र बलात्कार हत्या सरकार मौन रहृयो पचायो । तर, मानिस हेर्दै थिए लेख्दै थिए मुटुमा गल्ती यस्तै कारणले अनि कूटनीतिक अपरिपक्वताले सरकार ढल्यो । अन्यायी न्यायाधीश पनि कठघरामा उभिए, कसैले छैन भन्दैमा ईश्वर नहुने होइन ईश्वर छ, पापको फल भोग्नैपर्छ र भोग्दै पनि छन् । सरकार ढल्यो अर्काे त्यस्तै समूहको गठबन्धन भयो पुनः सुरु भयो राष्ट्र दोहन । नियुक्ति र प्रमुख जिम्मेवार महत्वपूर्ण स्थानहरूमा भागबण्डा नैतिकता न पहिलेकाले निर्वाह गरे नगरेरै यो अवसर आएको भनौं अब कसको विश्वास गर्ने भर पर्ने हामी जनता ?

देशमा जबसम्म स्वच्छ निष्पक्ष धाँधलीरहित निर्वाचन हुँदैन तबसम्म न राम्रा नेता आउँछन् न राम्रो पार्टी आउँछ देश जिम्मा लिन, त्यसैले प्रतिस्पर्धा, योग्यता, अनुभव र इमानदारीका आधारमा आदर्श निर्वाचन आयोग कुनै पार्टी वा व्यक्तिको नभई देशको हुनुपर्‍यो । जसले निष्पक्ष ठीक समय सफलतापूर्वक निर्वाचन गराउनेछ । तर, पार्टीबाट टिकट दिँदा पनि चाकरी, चाप्लुसी र आर्थिक प्रलोभनमा परेर अनुपयुक्त मान्छेले अवसर पाउने हुँदा पार्टी पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाबाट छानिएकाले प्रत्येक तहमा टिकट पाउने व्यावस्था हुनुपर्दछ जसले गर्दा जनताप्रति नेता उत्तरदायी हुनुका साथै नेताका घरमा चाकरी गर्ने र पैसा बुझाउनु पर्दैन टिकट पाउनलाई जनताको सेवा गरे पुग्छ । नेताको अनावश्यक तानाशाहीपन बढ्न पाउँदैन ।

समानुपातिकमा दश प्रतिशत विज्ञ र त्यागी कार्यकर्ताका लागि राखेर अरू सबै प्रतिस्पर्धामा गएर चुन्ने व्यावस्था नै लोकतान्त्रिक हो । हाम्रो देशमा पार्टी र नेताहरूमा भ्रष्टबाहेक कोही छ ? भनेर खोज्नुपर्ने बेला भइसक्यो । नेतृत्वमा सबै पार्टीमा नेता देखे साइत बिग्रियो भन्ने अवस्था छ । मनन गरेका छन् त्यसै यत्रो इतिहास भएका पार्टीहरू भएको ठाउँमा राजधानी र धरान सचेत जनता भएका क्षेत्रमा हर्क साम्पाङ र बालेन शाह त्यसै अत्यधिक बहुमतले छानिएर आएका होइनन् र यो नानीमैयाँले पाए जस्तो भोट पनि होइन नेतृत्वलाई लाज र चेतना भया । पार्टीहरूले गम्भीर भएर आत्मआलोचना गर्नु आवश्यक छ ।

कुनै पनि देश देश हुनका लागि त्यसको भेष चाहिन्छ भेषसँगै भाषा, संस्कृति, परम्परा र धर्म चाहिन्छ, विविधतामा एकता चाहिन्छ तर यत्तिले पुग्दैन, जनता चाहिन्छ, जनताको सुख शान्ति र समृद्धिका लागि न्याय चाहिन्छ । निस्पक्ष पार्टी नेतृत्व र व्याक्तिभन्दा फरक न्यायमूर्ति भएको न्याय व्यावस्था न्यायपालिका चाहिन्छ । न्यायमूर्तिहरू विषयगत अध्यायन योग्यता अनुभव र प्रतिस्पर्धाबाट छानिएर आउनुपर्छ । न्यायमूर्तिहरू कुनै पनि पार्टी व्याक्तिबाट प्रभावित हुनुहुँदैन एक हिसाबले देवता नै हुनुपर्छ, सूर्य, चन्द्र, हावा जस्तै निष्पक्ष कुनै कुराले प्रभाव पार्न नसक्ने । यस्ता न्यायमूर्तिहरूबाट सञ्चालित जिल्ला, अञ्चल, प्रदेश र सर्वाेच्चले प्रदान गरेको न्याय प्रशासनबाट देशमा कोही कसैलाई अन्याय हुँदैन र त्यो देश स्वर्ग झैँ हुन्छ ।

भ्रष्टाचारले व्याप्त छ देश काण्डहरूको कुरामाथि उल्लेख भइसक्यो, तिनलाई कसले कार्बाही गर्ने ? केपी शक्तिमा भए पनि ती फाइल खुल्दैनन्, देउवा भए पनि खुल्दैनन् र प्रचण्ड भए पनि खुल्दैनन् अनि माधव भए पनि खुल्दैनन् किनकि बाबुराम भए पनि खुल्दैनन् सबै जोगी कान चिरिएका छन् । सबै सफा शुद्ध पवित्र मनका छन् र फूलका आँखामा फूलै संसार आफू इमानदार भएकाले भ्रष्टाचारको फाइलमा पनि गुणैगुण देख्दछन्, इमान जमान देशभक्ति र जनहित सम्पन्न र सुखी नेपाली देख्छन् ।

त्यसैले अलि काँडाको आँखा भएको निष्पक्ष योग्य संविधान, कानुन, महालेखा, लेखा इन्जिनियरिङ र शिक्षा सबै क्षेत्रबाट विज्ञ, योग्य, इमानदार, कसैको प्रभावमा नपर्ने, कसैलाई नछाड्ने, निष्पक्ष, राष्ट्रवादी छवि भएका अख्तियार अनुसन्धान प्रमुख र आयुक्तहरूको टिम भएमा देशले हासिल गरेको शीर्षस्थानको भ्रष्टाचारको मर्यादाक्रमबाट स्वतः तल झर्ने थियो कि ? भाषणमा होइन यथार्थमै भ्रष्टाचारमा शून्य सहनशीलता हुनेथियो कि ? नेपाली निजामती, सेना, प्रहरी, शसस्त्र प्रहरी र जनसम्पर्कमा पनि नियुक्ति प्रक्रियामा लोकसेवालाई सक्रिय बनाई सेवा प्रवेश तालिमको स्तरीयतामा ध्यान दिन सकेमा केही वर्षमै मेरो देश मेरो मनभित्रको देश जस्तै हुन्थ्यो ।

नेपाललाई, नेपालीलाई र हाम्रो पासपोर्ट देख्नेबितिक्कै छेउ लगाउने र नांगेझार पार्ने काम हाम्रो कूटनीतिको अनभिज्ञता वा लापरबाही साथै राम्रो छाडेर हाम्रो परिपाटीले सिर्जना गरेको छ । राजदूत छनौट भागबण्डा र कसले कति बुझाउँछ भन्ने नीतिमा हुन्छ । कुनै विषय विज्ञता महामहिम जस्तो गरिमामय पदमा देशको प्रतिनिधित्व गरेर जाँदा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, भाषा, जनसंख्या, आर्थिक स्थिति, राजनीति, सांस्कृतिक र धार्मिक कूटनीतिक आदि इतिहास विषय बारे पूर्णजानकारी गरी गराई पठाउनुपर्नेमा कूटनीतिको ज्ञान शून्य व्याक्तिहरूलाई पठाउँदा यस्तै दुर्भाग्य हुन्छ ।

यसको सट्टामा ती देशले पनि हामीसँग केही सिकून् भन्ने हैसियतमा तयारी गर्नुपर्ने हुन्छ । देशको उन्नतिको मेरुदण्ड नै शिक्षाको स्तर, आर्थिक स्तर, स्वास्थ्य अवस्था र प्रतिव्यक्ति आयसँगै राष्ट्रिय आय र जनताका हकअधिकार स्वतन्त्रताको ठूलो महत्व रहन्छ । यी सबै कुरालाई मध्यनजर राखी योजना आयोगले खारिएका तराईदेखि हिमाल मेचीदेखि कालीसम्मको सर्वपक्षीय ज्ञान भएका विज्ञ इमानदार योग्य व्याक्तिहरू भएको निष्पक्ष राष्ट्रको योजना आयोग भएमा र तदनुरूप काम भएमा योजना बनेमा देशको कृषि, स्वास्थ्य, शिक्षा, उद्योग, व्यापार स्थापना भई, रोजगारी सिर्जना भई, देश र जनताको समष्टिमा हित र उन्नति हुने थियो ।

विकल्परहित भनिएको राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र जे भने पनि जे भए पनि जबसम्म आफ्नो समर्थक र पार्टीको भएमा छुट दिइन्छ, जनतालाई न्याय दिइँदैन तबसम्म जनमत उल्टो गन्तीमा जान्छ । नागरिक कुनै पार्टी र व्यक्तिको होइन ऊ स्वतन्त्र छ र उसभित्र उसको देश हुन्छ ।

विकल्परहित भनिएको राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र जे भने पनि जे भए पनि जबसम्म आफ्नो समर्थक र पार्टीको भएमा छुट दिइन्छ जनतालाई न्याय दिइँदैन तबसम्म जनमत उल्टो गन्तीमा जान्छ । नागरिक कुनै पार्टी र व्यक्तिको दास होइन । ऊ स्वतन्त्र छ र उसभित्र उसको देश हुन्छ । त्यो देश सम्झँदै सुनिता, नमिता वनपाले गुरुङ भाइ यस्तै अज्ञात हत्या, तस्करी, मूर्ति, डलर, आइसी, लागूऔषध सबै खोजेरै राजतन्त्र गएको हो, त्यसै गरी उद्योग धन्दा राजतन्त्रका विकृतिको पुनरावृत्ति भई फष्टाएको भ्रष्टाचारले गर्दा गणतन्त्रले बहुमत ल्याएको हो तर पुनः राजतन्त्रकै र कांग्रेसकै गल्ती, अपराध, पक्षपात र देशविरुद्धका कर्मबाटै निर्मला पन्त हत्या, बलात्कार सरकारले सोचेन ।

उसका पनि छोरी, बहिनी छन् र दबाइछाड्यो त्यसको फल सरकार ढल्यो । माओवाद त अरूले कलमी काटेर सारेको भारतीय उपजको क्रान्तिवृक्ष बाढी आएझैँ आयो । हजारौँ जनताको ज्यान लियो । भिक्षा मागेर बनाएका भौतिक संरचना र उद्योग व्यवसाय बन्द गरायो अनि आफ्नो थातथलो छाडेर राजधानी र देशै छाड्न कति बाध्य भए । उनीहरूका चालकले झ्याप्प ब्रेक हाने गत्यावरोध अहिलेको हालत देखिएकै छ । कहिले एमालेको त कहिले कांग्रेसको वैशाखी बन्न बाध्य । कठै मानवअधिकार, संविधान, कानुन अनुसार चल्ने चलाउने जनप्रतिनिधि जबसम्म हामीले हाम्रा दरसन्तान र माटाको सुदूर भविष्य सोचेर मतदान गर्दैनौँ तबसम्म यस्तै हो ।

राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र जुनसुकै तन्त्र भए तापनि यहाँ उल्लेखित विकृतिका छनक राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कर्मचारी र स्थानीय नेतृत्वमा भएपछि–आएपछि त्यो व्यक्ति र पार्टी साथै सोच नै सकिन्छ । त्यसैले समयमै सोचौँ, सही व्यक्ति तथा पार्टी खोजौँ र मतदान गरौँ । अनिमात्र गुण्डाहरूले चलाएर पीडा र चोटले, अनाचार र भ्रष्टाचारले थिल्थिलो भएको देश सत्पात्रले चलाएको मेरो मनभित्रको देश हुने थियो । सुन्दर शान्त विशाल देश नेपाल ! जय जय नेपाल । अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?