नवौं राष्ट्रिय खेलकुद : खेलकुद मन्त्री र सदस्यसचिवद्वारा खेल पूर्वाधार निरीक्षण

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले पोखरा रंगशालाभित्रका खेल पूर्वाधारको निरीक्षण गर्नुभएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशालाभित्र रहेका खेल पूर्वाधारका बारेमा उहाँहरूले जानकारी लिनुभएको हो ।

मन्त्री गहतराजले रंगशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल रंगशाला, क्रिकेट मैदान, आर्चरी, टेनिस कोर्ट, बहुउद्देश्यीय कभर्ड हल, ब्याडमिन्टन हललगायत खेल पूर्वाधारको निरीक्षण गर्नुभएको हो । राष्ट्रिय खेलकुद मूल समारोह समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री गहतराजले कार्यकारी समितिको सचिवालयको समेत निरीक्षण गर्नुभयो । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत अधिकांश खेलका खेलस्थल पोखरा रंगशाला तोकिएका छन् । राष्ट्रिय खेलकुदको उद्घाटन तथा समापन समारोह पोखरा रंगशालामै हुनेछ । राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ खेल विधामध्येमा १६ वटा खेल पोखरा रंगशालाभित्र तय गरिएको छ ।

सो अवसरमा खेलकुदमन्त्री गहतराजले खेल पूर्वाधार स्तरोन्नति र मर्मतको केही काम बाँकी रहेको भए तदारुकताका साथ अघि बढाउन निर्देशन दिनुभयो । प्रतियोगिताको मिति नजिकिएकाले सरोकारवाला निकायले कामको गति बढाउँदै छिटो सम्पन्न गर्न उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय गौरवसँग जोडिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउँदै उहाँले सरकारी तथा निजी क्षेत्र मिलेर राष्ट्रिय खेलकुद सफल पारिने स्पष्ट पार्नुभयो ।

प्रतियोगिताअन्तर्गतका धेरै काम प्रक्रियागत रूपमा अघि बढेको र मूल आयोजक समितिसहितका उपसमितिबाट व्यवस्थित काम भएकाले प्रतियोगिता भव्यरूपमा सम्पन्न गर्न आत्मविश्वास बढेको मन्त्री गहतराजले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, प्रशिक्षण, खेलस्थल छनोटलगायतका धेरै काम व्यवस्थितरूपमा अघि बढेका छन् । विगतका कमजोरी सुधारेर प्रतियोगिता भव्य बनाउँछौं भन्ने आत्मबल बढेको छ ।’

खेलकुद मन्त्रीको उपस्थितिमा पोखराबाट राष्ट्रिय खेलकुद अन्तर्गतका ३६ वटै खेलस्थल सार्वजनिक भएपछि यहाँ राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ । प्रचारप्रसार उपसमितिले बजार क्षेत्रका विभिन्न स्थानमा प्रचार सामग्री राख्न सुरु गरेको छ ।

नवौंअन्तर्गतका खेल गण्डकीका ११ जिल्लामध्ये सात जिल्लामा हुँदैछन् । मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ जिल्लाबाहेक अन्यत्र खेलस्थल तय गरिए पनि अधिकांश खेल कास्की र पोखरा रंगशालामा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?