अजित र राजपुरालाई रोड रेस उपाधि

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पिनाकल कलेजका अजितकुमार यादव पुरुषतर्फ र नेपाल पुलिस क्लबकी राजपुरा पछाई अखिल क्रान्तिकारीद्वारा आयोजना गरिएको काठमाडौं रोड रेस २०७९ मा उपाधि जित्न सफल हुनुभएको छ । पाँच किलोमिटरको दौड अजितले १७ मिनेट ४५.३ सेकेन्डका साथ र राजपुराले २० मिनेट ३५.७५ सेकेन्डका साथ पूरा गर्नुभयो । विजयी खेलाडीहरूले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

८औं संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागि हाम्रो समर्थन ! शिक्षा, स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागि मिनी म्याराथन भन्ने मूल नाराका साथ नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारी पवन कार्की समूहको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबका सन्तोषविक्रम बिष्टले निर्धारित दूरी २० मिनेट ३५.७५ सेकेन्डका साथ पूरा गर्दै दोस्रो हुनुभयो । यस्तै, १८ मिनेट ६.१ सेकेन्डका साथ त्रिभुवन आर्मी क्लबका मोहनदेव जोशी तेस्रो हुनुभयो ।

महिलातर्फ २० मिनेट ५०.१५ सेकेन्डका साथ पुलिस क्लबकी राममाया बुढा दोस्रो र रेखा बिष्ट २१ मिनेट ३.३५ सेकेन्डका साथ तेस्रो हुनुभयो । दोस्रो र तेस्रो हुने खेलाडीहरूले मेडल, ट्रफी र प्रमाणपत्रका साथ क्रमशः नगद २० हजार र १५ हजार प्राप्त गरे । विजयी खेलाडीहरूलाई प्रमुख अतिथि पार्टीका नेता एवं क्रान्तिकारी प्रगतिशील कानुन व्यवसायी संघका संयोजक, पूर्वमहान्यायाधिवक्ता एवं पूर्वअखिल क्रान्तिकारीका अध्यक्ष रमनकुमार श्रेष्ठ, विशिष्ट अतिथि नेपाल ओलम्पिक कमिटीका सचिव, अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवं नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एथलेटिक्स संघका सचिव आरके बिष्ट र मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा ३६५ पुरुष र ११२ जना महिला गरी कुल ४७७ जनाको सहभागिता रहेको थियो । रेस रंगशालाबाट सुरु गरी थापाथली, माइतीघर, बबरमहल, बिजुलीबजार पुल हुँदै एभरेष्ट होटलअगाडिको डिभाइडर हुँदै पुनः त्रिपुरेश्वर रंगशालामा आएर समापन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?