सेवाग्राहीलाई कार्यालयमै निःशुल्क चिया, सर्वत र पानी उपलब्ध

हिमालय टाइम्स
Read Time = 9 mins

-राधिका बुढाथोकी

सिन्धुली । नेपालमा ७५३ स्थानीय तह छन् । बागमती प्रदेशमा मात्रै स्थानीय तहको संख्या ११९ छ । यस प्रदेशको सिन्धुलीमा अवस्थित छन्, नौ स्थानीय तह । दुई नगरपालिका र सात गाउँपालिका । यी पालिका मध्येका दुई पालिका कार्यालयले नागरिकमैत्री सेवा प्रवाह थप चुस्तदुरुस्त बनाउन नयाँ कार्यको सुरुवात गरेका छन् । कार्यालयभित्रै चिया, पानी र सर्वत उपलब्ध गराएर सहज सेवा प्रवाह गर्न पालिका प्रमुखहरू जुटेका हुन् ।

दुधौली नगरपालिकाको कार्यालय प्रवेश गर्ने वित्तिकै सेवाग्राहीले इच्छाअनुसार शुद्ध पिउने पानी र चियाको चुस्की लिन पाउने भएका छन् । उक्त सेवा टाढा–टाढाबाट थाकेर आएका सेवाग्राहीले आइतबारबाट निःशुल्क पाउन थालेका हुन् । यो सुविधा कार्यालयको भुइँ तल्लामा पाउन सकिन्छ । ‘कार्यालयमा थकित भएर आउने सेवाग्राहीले पानीसमेत किनेर खानु पर्ने बाध्यता थियो । अबदेखि शुद्ध पिउने पानी मात्र होइन, चियासमेत निःशुल्क पिउन पाउनु हुन्छ,’ नगर प्रमुख दिनेश अधिकारी दनुवारले भन्नुभयो ।

यो सेवाका लागि नगरले एकजना कर्मचारी नै खटाएको उहाँले बताउनुभयो । नगरले सुरु गरेको यस कार्यमा समाजसेवी, सहयोगी निकायहरूले साथ दिन सक्नेछन्, चिनी र चियापत्तीको व्यवस्थापन गरिदिएर । यसका लागि कसैबाट सहयोग नजुटे पनि पालिकाको विविध शीर्षकको खर्चबाट फिल्टर गरेको शुद्ध पानी र चिया उपलब्ध गराइने नगर प्रमुख अधिकारी दनुवारले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयमा आउने सेवाग्राहीलाई नगर प्रहरी र कर्मचारीले ‘मुस्कानसहितको नमस्कार’ ले स्वागत गर्दछन् । सेवाग्राहीले फिल्टर गरेको शुद्ध पानी र चियाको चुस्की लिँदै टेलिभिजन हेरेर रिफ्रेस हुन सक्छन् । यो समयमा कर्मचारीले सम्बन्धित कामका लागि आवश्यक पर्ने कागजात सेवाग्राहीले छुटाएको वा बिगारेर ल्याएका छन् कि भनेर जाँच गर्दछन् । कुनै कागजात छुटाएको भए पुनः ल्याएर आउन सुझाव दिन्छन् । मिल्नेसम्म सम्पूर्ण कागजात मिलाएर सम्बन्धित कामका लागि सम्बन्धित शाखा पु¥याएर छिटो, छरितो रूपमा सेवा प्रदान गरिन थालिएको उहाँले बताउनुभयो ।

सम्बन्धित शाखामा सेवाग्राहीको भिडभाड छ भने कुर्सीमा बसेर टेलिभिजन हेर्दै आफ्नो पालो पर्खन सक्ने वातावरण मिलाइएको उहाँको भनाइ छ । ६५ इन्चको उक्त टेलिभिजमा दुधौली नगरपालिका मार्फत उपलब्ध हुने सम्पूर्ण सेवा प्रवाह, पालिकाले गरेका गतिविधिहरू, कार्यक्रम तथा योजनाहरू, पालिकाभित्र रहेका धार्मिक, पर्यटकीय स्थल लगायतका महत्वपूर्ण र अतिआवश्यक जानकारी हेर्न सकिन्छ । अन्य कार्यालयहरूमा जसरी घण्टौँ उभिएर लाइन बस्नुपर्ने झन्झट् नहुने नगर प्रमुख अधिकारी दनुवारले सुनाउनुभयो । आफू निर्वाचित भएदेखि जनमैत्री सेवा प्रवाहमा जुटेको उहाँले बताउनुञभयो । यसले सेवाग्राहीमा कार्यालयप्रति सकारात्मक भाव उत्पन्न गराएको उहाँको बुझाइ छ । यहाँ दिनमा पचारदेखि तीन सयसम्म सेवाग्राही आउने कार्यालयले जनाएको छ ।

कार्यालयकी सेवाग्राही मन्दिरा काफ्लेले दुधौली नगरपालिकाको कार्यालयले नागरिकमैत्री सेवा दिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले यहाँका जनप्रतिनिधि र कर्मचारीहरूको व्यवहार र कार्यशैलीको प्रशंसासमेत गर्नुभयो । यस्ता उदाहरणीय काम सबै कार्यालयले अनुशरण गर्नुपर्ने उहाँको धारणा छ ।

मरिण गाउँपालिकाको कार्यालयमा प्रवेश गर्ने मुलगेट अगाडि सेवाग्राही सहायता कक्ष (हेल्प डेक्स) स्थापना गरिएको छ । यहाँ सर्वत र चिया राखिएको छ । सेवाग्राहीले इच्छाअनुसार भाडामा राखिएको सर्वत र चिया पिउन सक्छन् । जिल्लामै पहिलोपटक मरिण गाउँपालीकाले यस कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष विमर्स मुक्तानले बताउनुभयो । ‘यहाँ भदौ २० देखि यो कार्यक्रम लागू भएको हो,’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार यहाँ विशेषगरी सेवाग्राहीका लागि ६५ इन्चको टिभी पनि राखिएको छ । त्यहाँ मरिण गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माणका योजना, पालिकासँग सम्बन्धित अतिआवश्यक र महत्वपूर्ण जानकारीमूलक भिडियोमा हेर्न सकिन्छ । ‘यहाँका सेवाग्राहीले टिभी हेर्दै सर्वत, पानी र चिया पिउँदै गाउँपालिकाको कार्यालयले दिइने सेवा लिन सक्ने वातावरण बनाएका छौँ,’ उहाँले भन्नुभयो, ‘ज्येष्ठ नागरिक, अपाङगता तथा नागरिकमैत्री सेवा प्रवाह गर्ने हाम्रो उद्देश्य हो ।’

कार्यालय आउनेबित्तिकै विभिन्न कारणले सेवा लिन नसक्दाको अवस्थामा सेवाग्राहीलाई पट्यार नहोस् भनेर यस्तो कार्यको थालनी गरिएको अध्यक्ष मुक्तानको भनाइ छ । सेवाग्राहीलाई बिना सास्ती, बिना झन्झट सेवा प्रदान गर्नु आफ्नो जिम्मेवारी, दायित्व भएको उहाँले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित सेवा लिनका लागि कागजात नमिलेको अथवा नपुेको रहेछ भने सल्लाह दिइने, मिल्नेसम्मका सम्पूर्ण कागजात मिलाइदिने लगायत सहज रूपमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउनसमेत सहायता कक्षले सहयोग गर्नेछ । यसका लागि गाउँपालिकाले एकजना कर्मचारीको व्यवस्था गरेको छ । यस कार्यालयमा दैनिक चालिसदेखि एक सय जनासम्म सेवाग्राही विभिन्न सेवा लिन धाउने गर्दछन् ।

यसैबीच, सुनकोसी गाउँपालिकाको कार्यालयमा महिला कर्मचारी र सेवाग्राहीका लागि स्तनपान कक्ष स्थापना गर्नुका साथै महिला शौचालयमा सेनेटरी प्याड डिस्पोजल मेसिन जडान गरिएको छ । महिला कर्मचारी र महिला सेवाग्राही सहजताको लागि उक्त कार्य गरिएको गाउँपालिका उपाध्यक्ष कपिलकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाको सेवा प्रवाह नागरिकमैत्री भएको दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?