एलेन र इभानालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आदर्श विद्या मन्दिर (एभिएम) का एलेन महर्जन र इभाना थापाले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार स्वर्ण जित्नुभएको छ । क्याडेट सिंगल्सको ब्वाइजमा एलेन र गल्र्समा इभाना पहिलो हुनुभएको हो । काठमाडौं खेलमण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज फाइनलमा एलेनले भानुभक्त मेमोरियल स्कुलका उज्ज्वल मानन्धरलाई ११-५, ११-७ र ११-७ को सोझो सेटमा पराजित गर्नुभयो । केकेएम/एनआरटीका शंकर पहाडी र एभिएमका अतित गुरुङ तेस्रो हुनुभयो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको गल्र्सको स्वर्ण भिडन्तमा इभानाले केकेएम/एनआरटीकी नर्मदा खाइतुलाई ११-८, ११-६ र ११-३ को सिधा सेटमा हराउनुभयो । एभिएमका आर्सना महर्जन र साइरा शाक्य तेस्रो बन्नुभयो ।

प्रतियोगिताको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सो प्रतियोगितामा पुरुष/महिला, क्याडेट र जुनियर ब्वाइज/गल्र्स सिंगल्स ६ तथा भेट्रानमा पाँच गरी जम्मा ११ स्पर्धा समावेश छन् ।

भेट्रानका पाँच स्पर्धाबाहेक सबैमा नगद पुरस्कार राखिएको छ । पुरुष/महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १०/१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । जुनियर ब्वाइज/गल्र्स सिंगल्स (यू-१९) तथा क्याडेट ब्वाइज/गल्र्स सिंगल्स (यू-१५) मा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, पाँच हजार र दुई हजार ५०० नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?