म्यानमार सेनाले विद्यालयमा गोली चलाउँदा १३ जनाको मृत्यु

Read Time = 2 mins

यांगुन । म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गोली चलाउँदा कम्तीमा १३ जना बालबालिकाको मृत्यु भएको छ । सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ । सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो ।

विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो ।

गतवर्ष फेब्रुवरीमा सेनाले सत्ता कब्जा गरेपछि म्यानमारको अवस्था अस्तव्यस्त भएको छ । स्थानीय अनुगमन समूहका अनुसार सैनिक सरकारको विरुद्ध आवाज उठाउनेहरूलाई कारबाही गर्दा झण्डै दुई हजार तीन सय सर्वसाधारणको मृत्यु भइसकेको छ ।

देशको उत्तरपश्चिममा रहेको सागिङ क्षेत्रमा केही भयंकर लडाइँ भएको थियो । त्यसबेला विद्रोही लडाकुहरू र सेनाबीचको झडपको बीचमा सम्पूर्ण गाउँहरू जलाइएको एजेन्सीहरूले उल्लेख गरेका छन् । राष्ट्रसंघीय बाल निकाय युनिसेफले सागिङको डेपेइन टाउनसिपमा भएको घटनाको निन्दा गरेको छ । युनिसेफले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विद्यालयहरू सुरक्षित हुनुपर्छ र कहिले पनि हिंसा लक्षित हुनुहुँदैन ।’ एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?