प्रधानमन्त्री प्रचण्डको दौडधुप

एकैदिन ठाउँठाउँमा सम्बोधन, थरिथरिका प्रतिबद्धता

फाईल तस्बिर

डिबी शर्मा
Read Time = 11 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्तता बढेको छ । उहाँले दैनिक विभिन्न कार्यक्रम र सभा समारोहमा सहभागिता जनाइरहनु भएको छ । विभिन्न क्षेत्रका व्यक्ति र समूहसँग भेटवार्ता गर्नेदेखि संघसंस्थाका कार्यक्रममा समेत उहाँ देखिनुहुन्छ । ठाउँठाउँमा हुने थरिथरिका कार्यक्रमका विषयवस्तु पनि फरकफरक हुन्छन् । ती कार्यक्रमका विषयवस्तुअनुसार उहाँले सम्बोधन र प्रतिबद्धतासमेत जनाइरहनु भएको हुन्छ । शुक्रबार पनि उहाँले विभिन्न व्यक्ति र समूहसँगै विभिन्न कार्यक्रममा समेत सहभागिता जनाउनुभयो । ती कार्यक्रमका उद्देश्यअनुसार उहाँले प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार उहाँले मिटरब्याज पीडित किसानदेखि मिर्गौला प्रत्यारोपण केन्द्रसम्मका कार्यक्रममा उपस्थिति जनाउनुभयो । ती कार्यक्रममा उहाँले पीडित किसानका माग सम्बोधन गर्नेदेखि मृत्युपश्चात् शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गर्नुभयो । शुक्रबार नै उहाँले सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष सिके राउतदेखि एक समयका सहकर्मी नेकपा (बहुमत)का संयोजक धमेन्द्र बास्तोलासँग पनि भेटवार्ता गर्नुभयो ।

श्रम ऐन संशोधन गर्न सरकार तयार : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम ऐन संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार ऐन संशोधन गर्न तयार रहेको उहाँले बताउनुभयो । शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन ऐन संशोधन गर्ने वचन दिनुभएको हो । त्यसका लागि श्रम मन्त्री र सचिवसँग सल्लाह गर्ने उहाँको भनाइ छ । अहिले ‘वैदेशिक रोजगारी ऐन २०६४’ परिमार्जन गर्नुपर्ने आवश्यकता छ । सरकारले श्रमिकका हक-हितलाई उच्च प्राथमिकतामा राखेर श्रमिकको जीवन र पसिना बगाएर कमाएको सम्पत्तिको सुरक्षा र सम्मानको निम्ति दोस्रो कार्यकाल प्रधानमन्त्री भएको बेला ध्यान केन्द्रित भएको थियो,’ उहाँले भन्नुभयो, ‘श्रममन्त्री र सचिवसँग जानकारी लिएर ऐन संशोधनदेखि वैदेशिक व्यवसायलाई पारदर्शी सम्मानित बनाउन कुनै कसर बाँकी राख्नेछैन ।’

वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका धेरै विकृति/विसंगतिहरू रोक्न व्यवसायीहरूको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी र प्रभावकारी बनाउने प्रक्रियामा केही प्रगति भइरहेको उहाँले बताउनुभयो । ‘वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति/विसंगतिहरू नभएको होइनन् । समयअनुसार यो व्यवसायलाई सम्मानित पारदर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरूलाई निरुत्साहित गर्ने प्रक्रियामा केही प्रगति भएको छ,’ उहाँले भन्नुभयो, ‘व्यवसायीहरूले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसंगतिहरूलाई रोक्न सहयोग गर्न सक्नुहुन्छ ।’ व्यवसायीहरूले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले श्रमिकको हक र हितको लागि वर्तमान सरकारले केही नयाँ गर्न चाहिरहेको बताउनुभयो । विदेशमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको भन्दै सरकार उनीहरूको हकहितको लागि अहोरात्र खटिएर काम गर्ने उहाँको भनाइ छ ।

‘मिटरब्याज पीडितका समस्या समाधान गर्छु’
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडित किसानका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याज समस्याबाट पीडित किसानसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने हेर्छौँ । मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ,’ उहाँले भन्नुभयो, ‘यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईंहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ । म समाधान गर्छु ।’ किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

‘कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत)का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालका सच्चा कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभयो । ‘संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा रहेका सबै कम्युनिष्ट पार्टीहरूबीच अहिले यस विषयमा छलफल सुरु भएको छ । तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ ।’ भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।

मृत्युपश्चात् शरीरका सबै अंगदान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृत्युपश्चात् शरीरका सबै अंगदान गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजारवटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मृत्युपश्चात् शरीरका सबै अंगदान गर्ने घोषणा गर्नुभएको हो । अंगदानको घोषणाले सिंगो देश र जनसमुदायमा सकरात्मक प्रेरणा मिल्ने उहाँको विश्वास छ । ‘मृत्युपश्चात् आफ्नो सम्पूर्ण शरीर अंग प्रत्यारोपणका लागि दान गर्ने घोषणा गर्दछु,’ उहाँले भन्नुभयो, ‘यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने विश्वास लिएको छु ।’ नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनराशी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थाको केन्द्रले धेरै हदसम्म रोक्न भूमिका खेलेको उहाँले बताउनुभयो ।

केन्द्रको क्षमता विस्तार गर्ने घोषणा
प्रधानमन्त्री ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ । केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीमा ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ,’ उहाँले भन्नुभयो, ‘मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु । यसलाई सम्बोधन गरिनेछ । यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन । यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यकता छ । साथै सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईंहरूको मागप्रति गम्भीर छु ।’ नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा दुई सयवटा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?