यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार डा. तीर्थबहादुर श्रेष्ठलाई प्रदान गरिने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । आबाल ब्रहृमचारी षडानन्द प्रतिष्ठानले-२०७९ सालको षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाजसेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कारको घोषणा गरेको छ । असोज ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । घोषणा अनुसार यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार हिमाली वनस्पति विषयका विशिष्ट विद्वान् डा. तीर्थबहादुर श्रेष्ठलाई प्रदान गरिने भएको छ । ‘डा. श्रेष्ठले नेपालको जैविक विविधता एवं सम्पदा संरक्षण परियोजनाका कार्यक्रम संयोजक तथा मकालु-वरुण संरक्षण परियोजना नेपाल, राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभाग तथा उडल्याण्ड माउण्टेन इन्स्टिच्युट, अमेरिकाको सहकार्यमा सञ्चालित परियोजनाको कार्यदल संयोजक भई नेपालको वातावरण तथा वन्यजन्तुको संरक्षण कार्यमा विशिष्ट योगदान पुर्‍याउनु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

उक्त पुरस्कार पूर्वाञ्चलको भोजपुर, दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पुर्‍याउने आबाल ब्रहृमचारी षडानन्द अधिकारी (विसं १८९२-१९७३) को स्मृतिमा उदारमना दाताहरूको सहयोगमा प्रतिष्ठानदद्वारा स्थापना गरिएको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । गत वर्ष यो पुरस्कार गलेश्वर आश्रम देवघाट तनहुँलाई प्रदान गरिएको थियो ।

यसैगरी यसै वर्ष (२०७९) देखि प्रदान गरिने षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार विसं २००४ सालमा स्थापित परोपकार संस्था, भीमसेन स्थानलाई प्रदान गर्ने निर्णय गरिएको छ । सामाजिक सेवामा समर्पित यस संस्थाले स्थापना कालदेखि नै अनाथ बाल बालिकाहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । नेपालमा समाज सेवाका विविध क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति÷संस्थालाई सम्मान पत्रसहित प्रदान गरिने यो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति/संस्थालाई प्रदान गरिने षडानन्द क्षेत्रीय पुरस्कार यस वर्ष (२०७९) साहित्यकार तथा शिक्षासेवी दुर्गाप्रसाद अधिकारीलाई प्रदान गर्ने निर्णय गरिएको छ यो पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?