‘अब आर्थिक क्रान्तिका मुद्दा उठाउनुपर्छ’

Read Time = 5 mins

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले वार्षिक जर्नल विमोचन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको उपस्थितिमा आफ्नो वार्षिक जर्नल ‘अर्थचित्र’ विमोचन गरेको हो । साथै नाफिजले आफ्ना सदस्यलाई पुरस्कारसमेत प्रदान गरेको छ । शारदा-ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार एकजनालाई र सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार दुईजनालाई प्रदान गरेको हो ।

आर्थिक पत्रकारितामा सबैभन्दा ठूलो एक लाख रुपैयाँ धनराशिको शारदा-ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कारबाट बिजमाण्डु डटकमका खेमराज श्रेष्ठ पुरष्कृत हुनुभएको छ भने सिबिफिन-नाफिज बैंकिङ पत्रकारिता पुरस्कार पाँच हजार राशिबाट बाह्रखरी डटकमका विजय पराजुली (हाल अनलाइनखबर डटकममा कार्यरत) र टक्सार म्यागेजिनका अनुप आचार्य पुरष्कृत हुनुभएको छ । सो अवसरमा डेपुटी गभर्नर मिश्रले पत्रकारिता पेशा आफैंमा जटिल रहेको भन्दै विशेषगरी आर्थिक पत्रकारिता थप जटिल हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरैले मिडियासम्बन्धी विषय पढेर आएका हुन्छन्, पेशामा आएपछि थप विषय जानकारी लिनुपर्ने देखिन्छ, त्यो विषय पनि सबैले बुझ्ने गरी सम्प्रेषण गर्नु आफैंमा चुनौती देखिन्छ ।’

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नाफिजसँग जोडिएर आर्थिक पत्रकारलाई थप दुई पुरस्कार दिने घोषणा गर्नुभएको छ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले स्रोत जुटाई एउटा कृषि र अर्को बीमासम्बधी पुरस्कार दिने घोषणा गर्नुभएको हो । दुई पुरस्कार राशि ५०÷५० हजारको हुनेछ । साथै उहाँले बैंकिङ प्रणाली थप सहज गराउनुपर्ने माग गर्नुभएको छ निक्षेप राख्दा अनावश्यक जानकारी पेश गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रमै घाटा पुगेको मल्लको भनाइ छ । उहाँले भन्नुभयो, ‘कुनै व्यक्तिले बदमासी गरेर कमाएको पैसा देखिएको खण्डमा अनुसन्धानबाट त्यत्तिकै सरकारले थाहा पाउँछ तर अन्य सोझासिधा मान्छेलाई भने यो व्यवस्थाले थप मार परेको छ ।’

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष तथा पुरस्कारका ट्रष्टी पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिका कुरा हुनुपर्ने र सोहीअनुसारको मुद्दा उठ्नुपर्ने बताउनुभयो । नेपालमा धेरै खालका क्रान्ति भइसकेको भन्दै अब आर्थिक क्रान्ति हुनुपर्ने र त्यसको दायित्व मिडियाको समेत रहेको उहाँले बताउनुभयो । अध्यक्ष गोल्यानले भन्नुभयो, ‘अर्थतन्त्र अहिले कस्तो अवस्थामा छ, आगामी दिनमा के हुनुपर्छ भन्ने विषय अघि बढाउन मिडियाको ठूलो भूमिका रहन्छ । स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ठूलो आवश्यकता छ ।’

बैंक तथा बीमाविज्ञ अर्का पुरस्कार ट्रष्टी तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले पत्रकारिता गहिराइमा हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै नियामक निकायले कुनै नीति ल्यायो भने जानकारीमात्रै गराउने होइन, त्यो नीतिको प्रभाव के पर्छ, त्यसबारेमा जानकारी पत्रकारले दिनुपर्छ, पाठकले जिज्ञासा राख्ने कुरालाई पत्रकारले सम्प्रेषण गर्नुपर्ने हुन्छ । पाठकले सूचनाभन्दा पनि त्यसको पक्ष विपक्ष के-कस्ता रहेका छन्, त्यसको जानकारी खोजेका हुन्छन् । त्यो जानकारी पत्रकारले दिनुपर्ने हुन्छ ।’
नेपाल घरेलु महासंघका अध्यक्ष उमेशकुमार सिंहले उद्योगी व्यवसायीले गलत गरेको खण्डमा झकझक्याउने काम हुने गरेको भन्दै त्यसले व्यवसायीलाई राम्रोसमेत हुने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?