चार दिनमा चार लाखले उपत्यका छोडे, २० लाख बाहिरिने अनुमान

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । दशैँका लागि गाउँघर जानेको संख्या बढ्न थालेको छ । घटस्थापनापछि काठमाडौं उपत्यका छाडेर गाउँघर फर्कनेको संख्या हृवात्तै बढेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता निजी तथा सार्वजनिक गाडीमार्फत दैनिक औसतमा एक लाख यात्रु बाहिरिएका छन् । चार दिनमा मात्रै चार लाख बढी यात्रु बाहिरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडक यातायातमार्फत उनीहरू बाहिरिएका छन् । निजी तथा सार्वजनिक गाडीमार्फत् चार लाख बढी यात्रु बाहिरिसकेका हुन् ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुकोे रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोट, साँगा भञ्जाङ, मुड्खु र फर्पिङलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ । यसमा हवाई माध्यमबाट बाहिरिने यात्रुको संख्या गणना गरिएको छैन । शनिबारदेखि बिदा हुने भएकाले बाहिरिने यात्रुको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ । दशैँमा घरजाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलंकीलगायत उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान गाडी नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गरिरहेको प्रहरीले जनाएको छ ।

यसपटक करिब २० लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला उपत्यकाबाट बाहिर जानेको संख्या कम थियो । तीन वर्षअघि काठमाडौं उपत्यकाबाट दशैँको अवसरमा घर फर्कनेको संख्या २० लाख हाराहारीमा मानिसहरू बाहिरिएका थिए । गाडीको चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेटमार नियन्त्रण, क्षमताभन्दा बढी यात्रु चढाउने गाडीलाई कारबाही गर्न सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो । छतमा नचढ्न, गाडीमा नझुण्डिन र सुरक्षित यात्रा गर्न उहाँले आग्रह गर्नुभयो ।

चाडपर्व केन्द्रीय सुरक्षा योजना कार्यान्वयनमा
दशैँ, तिहार, छठलगायत चाडपर्वमा हुने सम्भावित जोखिम नियन्त्रण गर्न र शान्ति सुरक्षालाई चुुस्तदुरुस्त बनाउन चाडपर्व केन्द्रित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चारवटै सुरक्षा अंगको समन्वय गरी एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ । साथसाथै, सडकका खाल्डा पुर्ने तथा सरसफाइ कार्यका लागि सरोकारवाला निकायको सहकार्यमा काम भइरहेको छ । चाडपर्व लक्षित १६ बुँदे निर्णय कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयोे । चोरीलगायत घटनामा तत्कालै सम्बोधन हुनेगरी संयन्त्र परिचालन गरिएको छ ।

बढी भाडा लिने ४२ जना पक्राउ
काठमाडौं उपत्यकाबाट दशैैँका लागि घरजान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन् । यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले दशैैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजना अनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ । उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा जाँच गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको उहाँले बताउनुभयो ।

बढ्यो पेट्रोलियम पदार्थको खपत
दशैँको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । नेपाल आयल निगमका अनुसार असोज १ गतेदेखि पेट्रोलियम पदार्थको खपत बढेको हो । खाना पकाउने ग्यास, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केही दिनयता बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो । सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तीमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भइरहेको छ । प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम् ५९ लाख २९ हजार लिटरसम्म डिजेल खपत भएको निगमले जनाएको छ । यस्तै, खाना पकाउने ग्यास पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले जनाएको छ । हवाई इन्धनको बिक्री बढेर ६ लाख ७४ हजार लिटरसम्म पुगेको निगमले जनाएको छ । निगमले दशैँ बिदाको समयमा पनि इन्धनको डिपोहरू खुला राख्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै दशैँ बिदामा पनि देशभरका १३ वटा डिपो सञ्चालन गर्ने जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?