यस्ता छन्- टीका लगाइदिँदा भनिने श्लोकका विशेषता

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ।

आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ।

परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ।

महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको पाइन्छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।

आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे

ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने।

शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

दशैँमा मात्र प्रयोग भएको सुनिने यो श्लोकको स्रोत के हो स्पष्ट छैन।

नेपाल प्रज्ञा प्रतिष्ठानको सामाजिक शास्त्र विभागका प्रमुख तथा इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार यो श्लोक विशेष गरेर पुरुषलाई टीका लगाइदिँदा प्रयोग हुन्छ।

‘यो हाम्रो प्राचीन परम्परादेखि नै चलेर आएको श्लोक हो,’ उहाँ भन्नुहुन्छ ।

समान संस्कृति भएको भारतमा अलि भिन्न रूपमा नवरात्रि र विजयादशमी मनाइन्छ। तर नेपालको जस्तो टीका लगाउने चलन त्यहाँ छैन। झन् यो श्लोक त त्यहाँ खासै प्रचलनमा भएको देखिँदैन।

नेपालमा प्रचलित भएको र कुनै शास्त्र वा काव्यकृतिमा नभेटिएकाले केही विद्वान्‌हरू यसमा प्रयुक्त पौराणिक पात्रको चयनका आधारमा यो श्लोक कुनै कविले राजपुत्र वा अन्य विशिष्ट व्यक्तिलाई आशीर्वाद दिन नेपालमै रचेको अनुमान गरेका छन्।

तर पन्त सबै प्राचीन कृतिको अध्ययन तथा अनुगमन गरिनसकी यसै हो भनेर निष्कर्ष निकाल्न नसकिने धारणा राख्छन्।

‘यी पात्रहरू अखिल भारतवर्षमै मिल्ने पात्र छन्। भारतमा ६०० वर्षको मुसलमान शासन र २०० वर्षको अङ्ग्रेज शासनले पुराना कुराहरू धेरै गए। यो नेपाल खाल्डो र नेपालका पहाडी भागहरूमा यसको वैशिष्ट्य के भने पहिला अखिल भारतवर्षमा चलेका तर विभिन्न कारणले त्यहाँ लुप्त भएका कुराहरूको पनि यहाँ रक्षा गर्ने पद्धति बसेको छ।’

माथि उल्लिखित श्लोकको पाठान्तर पनि छ।

कसैले ‘शन्तनुका छोरा भीष्मको जस्तो शौर्य’ को साटो ‘दानं सूर्यसुते’ अर्थात् ‘सूर्यका छोरा कर्णको जस्तो दानशीलता’ होओस् भन्ने भावको आशीर्वाद पनि दिन्छन्। भाषा र छन्दमा निपुण व्यक्तिले श्लोकमा सामान्य परिवर्तन गरेकाले पाठान्तर भएको हुनसक्ने उहाँको भनाइ छ।

आशीर्वादमा परिमार्जन

शास्त्रमा जे उल्लेख गरिएको भए पनि लोकव्यवहारमा महिलाहरूले विभेद खेप्नुपरेको लेखिका डा. प्रभादेवी कैनी औँल्याउनुहुन्छ ।

पुरानो कुरा सम्झिँदै उहाँ भन्नुहुन्छ, ‘पहिलापहिला छोराबुहारीलाई वा छोरीज्वाइँलाई सँगसँगै राखेर टीका लगाइदिन्थे। आशीर्वाद दिँदा पनि पुरुषसँगै महिलालाई गाँसिन्थ्यो। महिलालाई छुट्टै आशीर्वाद दिइहाले पनि कि सौभाग्यवती भएस् वा पुत्रवती भएस् भन्थे।’

अर्थात् पुरुषसँग मात्रै महिलाको अस्तित्व गाँसिएको देखिन्थ्यो, महिलाको आफ्नो अस्तित्व भए जस्तो देखिँदैनथ्यो।

अहिले समय फेरिएको छ।

उहाँका अनुसार पहिला कुरा नबुझ्दा दिएको आशीर्वाद बेग्लै हुन्थ्यो भने अहिले लैङ्गिक समानता र शास्त्रका कुरा बुझेपछि तथा परिवर्तन देखेपछि उनले दिने आशीर्वादका कुरा पनि फेरिएका छन्।

उहाँ भन्नुहुन्छ, ‘त्यसैले आशीर्वाद दिँदा म ‘स्वस्थ रहेस्, परिश्रमी भएस्, स्वावलम्बी भएस्, इमान्दार भएस्, क्षमाशील रहेस्, आत्मनिर्भर भएस्, केटा र केटीमा विभेद नगरेस् भन्नु उपयुक्त हो भन्ने ठान्छु।

  • स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?