सबै एक भएर राष्ट्रिय खेलकुद सम्पन्न गर्न आग्रह

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सबै एक भएर राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशको पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगिताका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरूको पोखरामा भएको बैठकलाई सम्बोधन गर्ने क्रममा सदस्य-सचिव घिसिङले उक्त आग्रह गर्नुभएको हो ।

विभिन्न उपसमितिका कार्यहरूको प्रगति विवरणको जानकारी लिने क्रममा आयोजना गरिएको बैठकमा सदस्य–सचिव घिसिङले सबैको सहयोग र सहकार्यले मात्र राष्ट्रिय प्रतियोगिता सफल हुने बताउनुभयो ।

विविध कारणले भौतिकरूपमा बैठकमा उपस्थित हुन नसकेका उपसमितिका संयोजक र सचिवहरूका लागि जुममार्फत् बैठकमा सहभागिता जनाउन सहज बनाइएको बैठकमा सबैले आ–आफ्नो कार्यको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यस्तै, घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अभियानमा जुट्न पोखरेलीहरूसँग समेत आग्रह गर्नुभएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले पोखराका विभिन्न संघसंस्थाहरूसँग गरेको एक अन्तरक्रिया कार्यक्रममा सदस्य-सचिव घिसिङले उक्त आग्रह गर्नुभएको हो । ‘हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छौं । गण्डकी प्रदेश आयोजक प्रदेश भएको नाताले पनि प्रतियोगिता सफल बनाउने जिम्मेवारी यहाँहरूको काँधमा छ,’ उहाँले भन्नुभयो, ‘म गण्डकी प्रदेशवासीलाई यो अभियानमा जुट्न आग्रह गर्दछु ।’

नेपालको खेलकुद ऐन कार्यान्वयन भएसँगै संघीयताको मोडलमा पहिलोपटक नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भइरहेको बताउँदै सदस्य-सचिव घिसिङले पनि यो प्रतियोगिताको महत्व छुट्टै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी नयाँ खेलकुद विकास ऐनको जगमा उभिएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्दैछौंं त्यसैले पनि यसको महत्व र मर्मबारे बुझ्न आवश्यक छ ।’ नवौं राष्ट्रिय प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताउँदै यहाँ आउने खेलाडीहरूलाई न्यानो आतिथ्यताको सन्देशको छाप छोड्न पनि उहाँको आग्रह थियो ।

असोज २३ गतेबाट नै औपचारिकरूपमा नवौं राष्ट्रिय खेलकुदका प्रतियोगिताहरूको सुरुवात हुने जानकारी दिँदै सदस्य-सचिव घिसिङले असोज २८ गतेको उद्घाटन समारोह तथा कात्तिक ३ गते हुने समापन समारोहमा पोखरा रंगशालामा आउन आ≈वान र खेलाडीहरूलाई प्रोत्साहन गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय प्रतियोगिताअन्तर्गत हुने खेलहरू अवलोकनका लागि कुनै टिकटको व्यवस्था नगरिए पनि भलिबल र फुटबलको सेमिफाइनलदेखिका खेलहरू अवलोकनका लागि भने टिकटको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य-सचिव तेजबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ३९ वर्षपछि पुनः गण्डकीले आयोजना गर्न पाउनु गौरवको कुरा रहेको बताउँदै उहाँले यसको सफलतामा पोखरेलीहरूको पनि उत्तिकै ठूलो सहयोग र सहभागिताको खाँचो रहने औंल्याउनुभयो ।

कार्यक्रममा पोखराका विभिन्न वडाहरूमा खेल आयोजना हुने वडाहरूका वडाध्यक्षहरू, उद्योगी र पर्यटन व्यवसायीहरू, विभिन्न संघ-संस्था, प्याब्सन, एनप्याब्सन, हिसान, वित्तीय संस्थाका प्रतिनिधिहरूलगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?