लोकमार्गको निसी खण्ड क्षतविक्षत, खुल्न अझै केही दिन लाग्ने

हिमालय टाइम्स
Read Time = 5 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । निरन्तर परेको वर्षाको कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका-४ जिरीखोला, काला पैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिरोले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारीसाधनसमेत ठप्प बनेका छन् । लोकमार्गमा बिहीबारदेखि नै सवारीसाधन ठप्प भएका छन् भने आधा दर्जन गाडीहरू पहिरोमै फसेका छन् । पहिरोमा फसेका सवारीसाधन निकाल्ने प्रयास भए पनि निरन्तर वर्षा भइरहेको हुँदा निकाल्न नसकिएको बस चालक प्रकाश सेञ्चुरीले बताउनुभयो ।

उहाँले आफू ३७ जना यात्रु लिएर रुकुमदेखि काठमाडौं हिँडेको भन्दै कालापैराको पहिरोमा फसेको बताउनुभयो । सेञ्चुरीले दशैँ मनाएर काठमाडौं फर्किएका यात्रु लिएर आएको बताउनुहुन्छ । ‘दशैँको अघिल्लो दिनदेखि परेको पानीले सडक हिलाम्मे बनाएको छ, मेरो गाडी पहिरोमा फसेको दुई दिन हुन लाग्यो, ३७ जना प्यासेन्जर लिएर काठमाडौं हिँडेको पहिरोमा गाडी फसेर तनाव भयो’ उहाँले भन्नुभयो ।

रुकुमदेखि काठमाडौं हिँड्नुभएका प्रेम पुन मगरले पहिरोका कारण आफूहरू अलपत्र परेको बताउनुभयो । उहाँले सानो बजारनजिकै पहिरोमा गाडी फसेपछि बास पाउनसमेत मुस्किल परेको बताउनुभयो । घर्ती भन्नुहुन्छ- ‘यस्तो समस्यामा परिन्छ भनेको भए त पानी बिदो भएपछि हिँड्ने थियौँ, काठमाडौं पुग्न हतार थियो र हिँडियो, अहिले बीचबाटोमा अलपत्र परियो, यो पहिरो कहिले पन्छ्याएर बाटो खुलाउने हो, पानी परिरहेको छ, गाह्रो हुने भयो ।’

पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध हुँदा जिरीखोला र कालापैरा खोलाको पहिरो छेउमा सयौँको संख्यामा यात्रु अलपत्र छन् । लोकमार्गको वैकल्पिक सडक पनि ठप्प हुँदा यात्रु समस्या पर्नुपरेको स्थानीय मनप्रसाद पौडेलले बताउनुभयो । उहाँले लोकमार्गभन्दा पारिपट्टिको सडक खुलेको भए यात्रुहरू यसरी सडकमा अलपत्र पर्नुपर्ने बताउनुभयो ।

‘गाउँपालिकाले पारिपट्टिको सडक सञ्चालन गर्नुपथ्र्यो, अहिले यसरी सयौँ मान्छेहरू बीचबाटोमा अलपत्र पर्नुपरेको छ, पारिको सडक खुलेको भए त बुर्तिबाङ त पुग्न सक्थे नि’ पौडेलले भन्नुभयो, ‘यो सडक खुल्ने कहिले हो, नखुल्दासम्म यात्रुहरूलाई धेरै समस्या हुने भयो, खुलाउने प्रयास त गरेका छन्, कति बेला खुल्ने हो अब ?’

बुर्तिबाङदेखि रुकुम र रुकुमदेखि काठमाडौं, बागलुङ, पोखरा जाने गाडीहरू लोकमार्गको छेउछाउमा रोकिएका छन् भने यात्रुहरू भोकले याकुलब्याकुल बनेका छन् । नजिक होटल तथा पसल नहुँदा आफूहरूले समस्या भोग्नुपरेको यात्रु गोमा सुनारले बताउनुभयो । उहाँले पैसा भएर पनि होटल पसलहरू नजिक नहुँदा भोकै बस्नुपरेको बताउनुभयो ।

निसीखोला गाउँपालिका-४ का वडा अध्यक्ष टीकानिधि पौडेलले सडक खुलाउने प्रयास गरिरहे पनि वर्षाले गर्दा पहिरो खसिरहेको बताउनुभयो । उहाँले केही स्थानको पहिरो पन्छ्याए पनि अझै केही स्थानमा हटाउन बाँकी रहेको बताउनुभयो । वर्षा नरोकिँदा निरन्तर पहिरो झरिरहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?