भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंहको राजकीय सम्मानका साथ अन्त्यष्टि

हिमालय टाइम्स
Read Time = 4 mins

लखनउ । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवं समाजवादी पार्टीका संस्थापक अध्यक्ष मुलायमसिंह यादवको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । उहाँको शवलाई उत्तर प्रदेशको सफईमा अन्त्यष्टि गरिएको हो । उत्तर प्रदेश सरकारले राजकीय सम्मानका साथ यादवको अन्त्यष्टि गरेको हो । यादवको शव मंगलबार दिउँसो नै मेदान्ता अस्पतालबाट जन्मभूमि सफई ल्याइएको थियो ।

लामो समयदेखि बिरामी हुनुभएका यादवको सोमबार ८२ वर्षको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उहाँको निधन भएको हो । यादव गत २ अक्टोबरदेखि उक्त अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
यादव विगत केही वर्षदेखि बिरामी हुनुहुन्थ्यो र लगातार अस्पतालमा जाने गर्नुभएको थियो । उहाँ बहालवाल सांसद पनि हुनुहुन्थ्यो । तर, उहाँ धेरै सक्रिय हुनुहुन्थेन र सार्वजनिक सभाहरूमा विरलै देखिनुहुन्थ्यो । उहाँ हाल मैनपुरी सिटबाट लोकसभा सांसद हुनुहुन्थ्यो । यादव तीनपटक उत्तर प्रदेशको मुख्यमन्त्री बन्नुभएको थियो । यस्तै उहाँ संघीय सरकारमा रक्षामन्त्रीसमेत बन्नुभएको थियो ।

यादव आठपटक विधायक र सातपटक लोकसभा सांसद पनि निर्वाचित हुनुभएको थियो । उहाँले दुईवटा विवाह गर्नुभयो । मे २००३ मा मृत्यु हुनुभएकी उहाँकी पहिलो पत्नी मालती देवी अखिलेश यादवकी आमा हुनुहुन्थ्यो । मुलायमले साधना गुप्तासँग दोस्रो विवाह गर्नुभएको थियो । मुलायम सिंह र साधनाका छोराको नाम प्रतीक यादव हो । हालै साधनाको निधन भएको थियो । यादवको जन्म २२ नोभेम्बर १९३९ मा इटावा जिल्लाको सैफई गाउँमा भएको थियो । उहाँका बुबा सुगरसिंह यादव किसान हुनुहुन्थ्यो ।

उहाँ पहिलोपटक सन् १९६७ को चुनावमा जसवन्तनगर विधानसभा सिटबाट चुनाव लडनुभएको थियो । त्यसबेला उहाँ २८ वर्षको हुनुहुन्थ्यो । उहाँ राज्यको इतिहासमा सबैभन्दा कान्छो विधायक बन्नुभएको थियो । विधायक बनेपछि उहाँले एमएको पढाइ पूरा गर्नुभयो । सन् १९७७ मा उत्तर प्रदेशमा रामनरेश यादवको नेतृत्वमा जनता पार्टीको सरकार बनेपछि मुलायम सिंहलाई सहकारीमन्त्री बनाइएको थियो । त्यतिबेला उहाँको उमेर ३८ वर्ष थियो ।

प्रथम राष्ट्रपति रामवरण यादवको पहिलो निजी अतिथि
दिवंगत मुलायम सिंह यादव नेपालमा गणतन्त्रको घोषणापछि पहिलो राष्ट्रपति डा.रामवरण यादवका निजी अतिथिको रूपमा २०६५ भदौमा नेपाल आउनुभएको थियो । उहाँ यादवका पहिलो राजकीय अतिथि (स्टेट गेस्ट) हुनुहुन्थ्यो । करिब तीन दिनको नेपाल बसाइका क्रममा भारतको केन्द्रीय सरकारका रक्षा मन्त्री र पटक–पटक उत्तर प्रदेशका मुख्यमन्त्री रहनुभएका समाजवादी दलका नेताको सम्मानमा यादवले रात्रिभोज दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?