फेवातालको जलकुम्भी झार हटाउने अभियान सुरु

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि सरसफाइ अभियान सुरु गरिएको छ । महानगरपालिकाले ‘फेवाताल सरसफाइ महाभियान’ कार्यक्रम नै आयोजना गरेर अभियानको सुरुवात गरेको हो । मंगलबार ड्याम साइडदेखि चङखपुर सम्मको क्षेत्रमा रहेको तालको जलकुम्भी सफा गरिएको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जु देवी गुरुङसहित कास्कीका विभिन्न सरकारी तथा निजी कार्यालयका प्रमुख, प्रतिनिधि, आमा समूह, युवा क्लबसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा तालको सफाइ गरिएको हो । फेवाताल सरसफाइ महाभियानमा सक्रिय सहभागी भई सम्पदा संरक्षणको मानवीय दायित्व पूरा गर्न पोखरा महानगरपालिकाले पोखरावासीमा अनुरोध गरेको थियो । सोहीअनुसार बाक्लो संख्यामा उपस्थित पोखरावासीको सहयोगमा जलकुम्भी झार निकालिएको हो ।

सरसफाइको पहिलो दिन विभिन्न संघ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुंगा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिनुभयो । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ ।

तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभई विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताउनुभयो ।
फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो । बाह्र हजार ८७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार ९५५ रोपनी भाग पानीले ढाकेको छ ।

तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताउनुभयो । कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानव अधिकारवादी नेता टेकनाथ बरालको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?