प्याराग्लाइडिङ दुर्घटनामा आर्मीका खेलाडीको निधन

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

हिमालय टाइम्स
Read Time = 4 mins

यज्ञराज जोशी/हिटा
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा आइतबार प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडी निशिम थापामगरको निधन भएको छ । प्रतियोगिताअन्तर्गत बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि नै खेलाडी थापामगर दुर्घटनामा पर्नुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका तर्फबाट सहभागी २६ वर्षीय निशिमले पोखरा सराङकोटबाट उडान भर्नुभएको थियो । प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रस कन्ट्रीको खेल जारी रहेको थियो । ‘उडानलगत्तै उहाँको प्याराग्लाइडिङ ‘कोल्याप्स’ भयो,’ तिवारीले भन्नुभयो, ‘उहाँ सोझै पोखरा-१८ सराङकोटस्थित एक निर्माणाधीन भवनमा खस्न पुग्नुभयो । जहाँ उहाँको दुःख निधन भयो ।’
लामो समयदेखि पोखरामा रहेर प्याराग्लाइडिङमा सहभागी निशिम पोखरा-१० का बासिन्दा हुनुहुन्छ । उहाँको घर भने गोरखा पालुङटार हो । उहाँ प्याराग्लाइडिङ खेलाडीको छाता संस्था एफएआइका कम्पिटिसन वरीयता प्राप्त खेलाडीसमेत रहनुभएको थियो ।

मृतक थपामगरलाई दुर्घटनालगत्तै पोखरा-८ सिर्जनाचोकस्थित मेट्रो अस्पतालमा ल्याइएको थियो । तर, त्यहाँ ल्याएलगत्तै डाक्टरले उहाँलाई मृत घोषणा गरेका थिए । दुर्घटनाबाट प्रतियोगी खेलाडीको निधनका कारण खेलकुदका प्याराग्लाइडिङतर्फका सबै खेल रद्द गरिएको छ । सरकारले पनि देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरूबारे समेत प्राधिकरणले अध्ययन गर्ने भएको छ ।

यसैबीच नवौं राष्ट्रिय खेलकुदको फुटबलमा नेपाल आर्मीले नेपाल पुलिसविरुद्ध गरेको गोल खेलका क्रममा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी थापाप्रति समर्पण गरेको थियो । पोखरा रंगशालामा भएको फुटबलमा आर्मीले नेपाल पुलिसविरुद्ध गरेको गोल थापाप्रति समर्पण गरेको हो । गोलपछि आर्मीका खेलाडीले कुनै पनि उत्साहपूर्ण सेलिब्रेसन नगरी प्रशिक्षक रहेको लाइन नजिक गएर केहीबेर शिर झुकाएर मौन बसेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?