विकास शीर्ष प्राथमिकतामा, आगामी पाँच वर्ष महत्वपूर्ण : सी जिनफिङ

Read Time = 4 mins

बेजिङ । चिनियाँ राष्ट्रपति सी जिनफिङले चीनलाई एक आधुनिक समाजवादी मुलुक बनाउन आगामी पाँच वर्ष महत्वपूर्ण हुने बताउनुभएको छ । पार्टीको २०औं राष्ट्रिय सम्मेलनमा आफ्नो प्रतिवेदन पेस गर्दै सीले गएका १० वर्षमा भएका परिवर्तन नयाँ युगका लागि कोशेढुंगा बनेको पनि बताउनुभयो ।

प्रतिवेदनमा सीले आफ्ना प्रमुख उपलब्धिहरूको चर्चा गर्नुभएको छ । जसमा उहाँले शून्य कोभिड नीतिको पनि बचाउ गर्नुभयो । चीनले जनताको जीवनलाई प्राथमिकतामा राखेको बताउँदै सीले सो नीतिका कारण मानिसको ज्यान बचेको बताउनुभयो । ‘शून्य कोभिड नीति भाइरसलाई रोक्ने जनयुद्ध थियो,’ उहाँले भन्नुभयो ।

यस्तै, उहाँले गरिबी निवारणलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा अघि सार्नुभएको छ । गरिबी निवारण कम्युनिष्ट पार्टीको प्रमुख लक्ष्यमा पर्छ । जसअन्तर्गत चीनले करोडौंलाई चरम गरिबीबाट मुक्त गरेको घोषणा गर्नुभएको थियो ।

सीले चीनको खुलापनको नीति कायम रहेको उल्लेख पनि गर्नुभयो । उहाँले सेनालाई थप बलियो बनाउने बाचा गर्दै भन्नुभयो, ‘अहिले जनमुक्ति सेनाको नयाँ छवि र नयाँ संरचना छ ।’ सीले पछिल्लो समय भएका वैज्ञानिक प्रगतिको प्रशंसा गर्नुभयो । समग्रमा गुणस्तरीयमा विकासमा जोड दिने सीको भनाइ थियो ।

‘विकास चीनको सबैभन्दा शीर्ष प्राथमिकता हो । समाजवादी बजार अर्थतन्त्र र खुलापनतर्फको सुधार कायम रहनेछ,’ उहाँले भन्नुभयो । आफ्नो सम्बोधनमा सीले ताइवानको मुद्दा उठाउनुभएको थियो । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ तर ताइवान सरकारले यसलाई चीनबाट अलग भएको बताएको छ । सीले ताइवान–चीनको हिस्सा भएको र यसलाई पूर्णरूपमा गाभ्नका लागि बल प्रयोगलाई नकार्न सकिँदैन भन्नुभयो । ‘देशको पूर्ण एकीकरण आवश्यक छ र हुनेछ,’ उहाँले भन्नुभयो ।

हङ्कङको मुद्दामा पनि सीले यहाँ चीनको धेरै नियन्त्रण रहेको र अहिले यहाँको अवस्था ‘अराजकताबाट शासनतर्फ’ सर्दै गएको बताउनुभयो । सन् २०१९ मा यहाँ प्रजातन्त्र पक्षधर आन्दोलनपछि चिनियाँ सरकारले राष्ट्रिय सुरक्षा कानून लागू गरेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय सम्मेलनमा बेइजिङस्थिति ग्रेट हल अफ द पिपुलमा सुरु भएको छ । विश्वकै ठूला राजनीतिक संगठनमध्ये एक मानिने सिपीसीको यो सम्मेलनमा निकै महत्वका साथ हेरिन्छ । हरेक पाँच वर्षमा हुने सम्मेलन यसपटक यसकारण पनि महत्वपूर्ण छ- यो पार्टीको शीर्ष नेतृत्वमा व्यापक फेरबदल हुँदैछ ।

सम्मेलनमा सहभागी हुन देशभरबाट झण्डै २३ सय प्रतिनिधि आएका छन् । कोभिडको जोखिमका कारण अत्यन्त कडाइका साथ सुरु भएको सम्मेलनमा राष्ट्रपति सीले गएको पाँच वर्षका उपलब्धिहरू समेटिएको प्रतिवेदन पेस गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?