सेयर बजारमा सुधार

Read Time = 5 mins

काठमाडौं । विगत लामो समयदेखि घट्दोक्रममा रहेको सेयर बजार बुधबार भने उच्च अंकले बढेको छ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भएको भेटवार्तासँगै सेयर बजारमा सुधार आएको हो ।

गभर्नर अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव लिनेक्रममा अर्थमन्त्री शर्मासँग भेट गर्नुभएको हो । चालु आवको मौद्रिक नीतिमार्फत् लगाइएको सेयर धितो कर्जाको ४-१२ को नीतिलाई पुनरवलोकन गर्नुपर्ने अर्थमन्त्रीको आश्वासनपछि बुधबार नेप्से ६० अंकले बढेकोे छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११.२५ अंक बढेर ४००.३८ अंकमा पुगेको छ ।

कारोबारमा आएका १३ वटै समूहगत सूचक बढेका छन् । दुई सय ३१ कम्पनीका ५० लाख पाँच हजार आठ सय १४ कित्ता सेयर एक अर्ब ६४ करोड तीन लाख ५६ हजार छ सय आठ रुपैयाँबराबरको कारोबार भएको छ । छवटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ ।

सेयर बढ्नुमा सरकारले पुँजी बजारको अवस्थाबारे अध्ययन गर्न गठित समिति पनि कारण रहेको बताइएको छ । अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएका विविध समस्या समाधान गर्न र सुझाव प्रस्तुत गर्न बुधबार अर्थ मन्त्रालय, राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्षलगायतसँगको छलफलपछि चार सदस्यीय सुझाव समिति गठन गरेको छ । अर्थ मन्त्रालयमा भएको छलफलपछि बोर्डका कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंकका एक-एक प्रतिनिधि तथा बोर्डका एक प्रतिनिधि सदस्य-सचिव रहने गरी समिति बनाइएको हो ।

समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पुँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा गरिएको छ । बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले उक्त जानकारी गराउनुभएको थियो । उहाँले पुँजी बजार सुदृढ र बलियो बनाउन आगामी आर्थिक वर्ष ०७९/०८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरिएको भन्दै पुँजी बजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पुँजी बजारबारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरूलाई निर्देशनसमेत दिनुभयो ।

बोर्ड अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्रमा ‘एसएमई प्लेटफर्म’ को सुरुवात गरिने बताउनुभयो । नेपाल स्टक एक्सचेन्जअन्तर्गत सबै कम्पनीका सूचक एउटै इन्डेक्समा गणना हुँदै आएकोमा साना तथा मझौला कम्पनीका लागि आगामी चार महिनाभित्रमा छुट्टै ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याइने उहाँले बताउनुभएको हो । हाल रूस युक्रेनबीचको द्वन्द्व, तेलको मूल्य वृद्धि, बैंकिङ प्रणालीमा देखिएको तरलता संकुचन, व्याजदर वृद्धिलगायतका कारण उच्च बिन्दुमा रहेको सेयर बजार सूचक घट्न पुगेको उहाँको भनाइ थियो ।

हमालले हाल कायम रहेको मार्जिन कर्जामा लागू भएको ४/१२ को नीतिगत व्यवस्थामा नेपाल राष्ट्र बैंकसँग मिलेर पुनरवलोकन गरिनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आगामी चार महिनाभित्रमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई १० प्रतिशत आइपिओ कोटा सुरक्षित गरिने, गैरआवासीय नेपालीलाई नेपालको सेयर बजार लगानी गर्ने उपयुक्त वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?