पाल्पा रारा सहकारीद्वारा २३ करोडको कारोबार

Read Time = 3 mins

रामचन्द्र रायमाझी/हिटा
पाल्पा । २२ वर्षअघि स्थापना भएको तानसेनको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्था हाल जिल्लामै अब्बल सहकारी संस्थामा दरिएको छ । ऋण लगानी, वित्तीय पहुँचमा वृद्धि, ग्रामीण महिलाको क्षमता वृद्धि, सामाजिक उत्तरदायित्व क्षेत्रमा लगानीलगायतमा सहकारी अब्बल बन्दै गएको हो । सहकारीमा केहीले रोजगारी पाएका छन् भने धेरै व्यवसायी र उद्यमी बनेका छन् । संस्थामा जम्मा भएको रकम सस्तो ब्याजमा लिएर यहाँका सेयर सदस्यले उद्यम गरेर आयस्रोत बढाएका छन् । सहकारीको आर्थिक कारोबार अहिले २३ करोड बढी पुगेको छ । सहकारीका अध्यक्ष जगदीश भट्टराईले सहकारीको कारोबार २३ करोड २२ लाख ५४ हजार सात सय ६९ रुपैयाँ पुगेको बताउनुुभयो ।

उहाँले भन्नुुभयो, ‘वित्तीय कारोबारका क्षेत्रमा पाल्पामै हामी अब्बल छौं । न्यून आय भएका विपन्न, पिछडिएका वर्गको जीवनस्तर उकास्न उल्लेखनीय काम गरेर सबैको मन जितेका छौं । अझै सहकारीलाई ऐन कानुनअनुसार चुस्तदुरुस्त बनाउनेछौं, बचतको माध्यमबाट उद्यमशील महिलालाई समूह बनाई बिनाधितो लगानी गर्दै आएका छौं ।’ संस्था नाफामुखीभन्दा पनि सदस्यको सेवामा केन्द्रित रहेको उहाँको दाबी छ । जिल्ला बचत तथा ऋण सहकारी संस्था पाल्पाका अध्यक्षसमेत रहनुुभएका भट्टराईले सहकारीले नाफा कति भयो भन्दा पनि संस्थाले सदस्यलाई सेवासुविधा कस्तो ढंगले प्रवाह गरेको छ भन्ने कुरा महत्वपूर्ण हुने बताउनुुभयो ।

सहकारीले गत आर्थिक वर्ष १६ करोड ६७ लाख ९२ हजार छ सय आठ सय निक्षेप संकलन गरेको छ भने ६० लाख ११ हजार नौ सय ७२ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाले निक्षेपतर्फ दैनिक बचत सञ्चालन, लगानीतर्फ व्यापार, कुटिर उद्योग, घरायसी प्रयोजन, कृषि, हायर पर्चेज, पाल्पा रारा गृहणी बचत तथा युवा उद्यमी ऋण जस्ता क्षेत्रमा लगानी गर्दै आएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । सहकारीमा दुई हजार पाँच सय ७१ जना सेयर सदस्य रहेका छन् । जसमा एक हजार आठ सय १० जना महिला र सात सय ६१ जना पुरुष रहेका छन् । संस्थाका संस्थापक अध्यक्ष हिराबहादुर शाहले सामूहिक भावनाबाट मात्र सहकारी अघि बढ्ने भन्दै समुदायमा आधारित रहेका सहकारीले सेयर सदस्यलाई उचित तालिम व्यवस्था गरी आर्थिकरूपमा सक्षम र बलियो बनाउने उद्देश्य राखेको बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?