महोत्तरीमा स्वतन्त्र र विद्रोही उम्मेदवारका कारण चुनावी समीकरण रोचक

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । दलबाट स्वतन्त्र उम्मेदवार दिएका लोकप्रिय युवा नेताहरूका कारण क्षेत्र नम्बर १ को चुनावी समीकरण रोचक बनेको छ । माओवादी केन्द्रबाट विद्रोही उम्मेदवार बन्नुभएका राजन ढुंगाना, विष्णु लामा, एमालेका प्रमोद महतो, फाल्गुन सुस्लिङ मगर, कांग्रेसबाट पोषण थापा, युवराज पोखरेलहरूको स्वतन्त्र उम्मेदवारीले चुनावी समीकरण रोचक हुने देखिएको हो । विशेष गरी क्षेत्र नं. १ (क) मा उम्मेदवारी दिनुभएका राजन ढुंगाना र फाल्गुन सुस्लिङ मगरको उम्मेदवारीले निकै चर्चा बटुलेको छ ।

माओवादीबाट एमाले प्रवेश गर्नुभएका फाल्गुन सुस्लिङ मगर र राजन ढुंगाना पूर्वसहकर्मी पनि हुनुहुन्छ । पार्टीका गतिविधि र सांगठनिक निर्माणमा पार्टीभित्र छुट्टै पहिचान बनाउनुभएका नेताद्वय चुनावी प्रतिस्पर्धामा होमिनुलाई फरक ढंगले हेरिएको छ । एमाले प्रवेश गरेर खासै सहज महसुस नगर्नुभएका मगर र ढुंगानाको रणनीतिअनुसार नै स्वतन्त्र उम्मेदवारी दिएको हुनसक्ने कतिपयको आँकलन छ ।

पोषण थापा र युवराज पोखरेलले पनि चुनावी रणनीतिलाई तीव्र बनाउनुभएको छ । यसअघि बर्दिबास नगरपालिकामा उहाँहरूकै समर्थनमा प्रल्हादकुमार क्षेत्री विजयी हुनुभएको थियो । झण्डै १४ हजार मत ल्याएर निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार मतले पछि पार्दै क्षेत्रीले स्थानीय निर्वाचनमा जित हासिल गर्नुभएको थियो । उहाँहरूले सोही मतलाई पनि आँकलन गरी रणनीति बनाउनुभएको छ ।

स्वतन्त्रको लहरले दल र गठबन्धनका साझा उम्मेदवार भने ओझेलमा परेका छन् । एमालेकी शारदा थापालाई प्रदेश (क) मा बागी तथा स्वतन्त्र उम्मेदवारले चुनौती थपेको छ । सत्तारूढ गठबन्धनमा पनि बागी उम्मेदवारी दर्ता भएको छ । गठबन्धनबाट साझा उम्मेदवारी भएको दाबी गर्दै एकीकृत समाजवादीबाट सुरेश राउत र लोसपाबाट पिताम्बर महतो प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?