काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ । निर्वाचनमा देशभर कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको आयोगले जनाएको छ । आयोगका अनुसार कुल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ जना पुरुष, ९१ लाख ४० हजार ८०६ महिला र १८५ जना अन्य मतदाता छन् ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार पुरुषभन्दा महिला मतदाता करिब तीन लाख बढी छन् । आयोगको विवरणअनुसार पुरुषभन्दा महिला मतदाता दुई लाख ९३ हजार २२७ बढी छन् ।
आयोगका अनुसार सबैभन्दा धेरै मतदाता बागमती प्रदेशमा छन् भने सबैभन्दा कर्णालीमा कम छन् । दोस्रो धेरै मतदाता प्रदेश १ मा छन् । आयोगका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै ३४ लाख ७१ हजार ४९२ मतदाता छन् । दोस्रो धेरै मतदाता भएको प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ मतदाता छन् भने तेस्रोमा मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।
लुम्बिनी प्रदेशमा ३२ लाख ४९ हजार ६३७, गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ र सुदूरपश्चिममा १६ लाख ५८ हजार चार जना मतदाता रहेका छन् । सबैभन्दा कम मतदाता रहेको कर्णालीमा प्रदेशमा भने १० लाख हजार ४०३ मतदाता मात्रै छन् ।
देशभर १० हजार ८९२ मतदानस्थल, २२ हजार २२७ मतदान केन्द्र
निर्वाचन अयोगले देशभर १० हजार ८९२ मतदानस्थल कायम गरेको छ । आयोगले २२ हजार २२७ वटा मतदान केन्द्रहरू निर्धारण गरेको छ । देशभर प्रतिनिधिसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १६५ निर्वाचन क्षेत्र छन् । त्यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत नै प्रदेशसभातर्फ प्रदेश १ मा ५६, मधेश प्रदेशमा ६४, बागमती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
कात्तिक १८ भन्दा अघि प्रचारप्रसार गर्न नपाइने, घरदैलो गर्न भने छुट
आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिन अघिबाट मात्र प्रचारप्रसार गर्न पाइने भनेको छ ः निर्वाचन आयुक्त भण्डारी
कात्तिक १८ गतेभन्दा अघि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले आचारसंहिताविपरीत कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ । आचारसंहिताविपरीत प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी आयोगले दिएको हो । कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा स्पष्ट व्यवस्था रहेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । ‘निर्वाचन आचारसंहिताले निर्वाचन हुने दिनभन्दा १७ दिनअगावै अर्थात् कात्तिक १८ बाट मात्रै निर्वाचन प्रचारप्रसार गर्न पाइन्छ भनेको छ । त्योभन्दा अगाडि निर्वाचन प्रचारप्रसार गर्ने क्रियाकलापहरू गर्न पाइँदैन भन्ने कुरा दलहरूलाई पनि राम्रोसँग जानकारी छ ।’
भण्डारीले कात्तिक १८ पछि भने तोकिएको ठाउँमा कोणसभा, आमसभा, गोष्ठी, सेमिनार लगायतका चुनावी गतिविधि सञ्चालन गर्न सकिने आयोगको भनाइ छ । कात्तिक १८ भन्दा अघि घरदैलो गर्न भने छुट रहेको उहाँको भनाइ छ । तर घरदैलो कार्यक्रम गर्दा पनि २५ जनाभन्दा बढी जान नपाइने उहाँले बताउनुभयो ।
सत्ता गठबन्धनको चुनावीसभा प्रभावित हुने
निर्वाचन आयोगको चेतावनीपछि सत्ता गठबन्धनको चुनावीसभाको कार्यतालिका प्रभावित हुने भएको छ । आयोगले कात्तिक १८ गते अगाडि चुनावीसभा गर्न नपाइने चेतावनी दिएपछि सत्ता गठबन्धनको चुनावीसभा प्रभावित हुने भएको हो । सत्ता गठबन्धनले कात्तिक ४ गतेदेखि ७ गतेसम्म देशका प्रमुख शहर तथा प्रदेश राजधानीहरूमा चुनावीसभा गर्ने कार्यतालिका तय गरेको छ । ती सभालाई गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ । तर, आयोगले भने कात्तिक १८ गते अगाडि चुनावीसभा आयोजना गरिएमा उम्मेदवारी खारेजसम्म हुनसक्ने चेतावनी दिएको छ । दलहरूले कात्तिक १८ गतेदेखि मात्रै चुनावी प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच