दाङको चुनावी भिडन्त : प्रभावशाली पुरुष उम्मेदवारविरुद्ध महिला प्रतिस्पर्धामा

हिमालय टाइम्स
Read Time = 8 mins

विवेक खड्का/हिटा
दाङ । प्रतिनिधिसभा निर्वाचनका लागि दाङका तीन क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा चर्चामा रहेका महिला नेतृ र प्रभावशाली पुरुष उम्मेदवारबीच भिडन्त हुँदैछ । यस क्षेत्रमा एमालेले दुई महिला नेतृलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ भने नेकपा माओवादीले एक प्रभावशाली नेतृलाई उम्मेदवार बनाएको छ । महिला उम्मेदवारले पुरुष उम्मेदवारलाई दिएको टक्करको कारण चुनावी माहोललाई थप रोचक बनाइरहेको छ ।

दाङको निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको छ । कम्लहरी आन्दोलनले जन्माएकी नेतृ चौधरीलाई यसअघि एमालेले समानुपातिकबाट सांसद बनाएको थियो । शान्ताले यहाँ आफ्नै पूर्वसहकर्मी नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा सहकारी विकासमन्त्री मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा उहाँले नेकपा एमालेका तर्फबाट यहीँ निर्वाचन क्षेत्रबाट चुनाव जित्नुभएको थियो । कम्लहरी आन्दोलनदेखि पछाडि पारिएको वर्ग थारू समुदायमा राजनीतिक चेतना भर्न उहाँहरू दुबैले सँगै मिलेर काम गर्नुभएको थियो । अहिले विगतका सहकर्मी बीचमा हुने प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै रोचक रूपमा हेरिएको छ । निर्वाचन क्षेत्र नं. १ थारू बाहुल्यता भएको क्षेत्र हो । एमालेले गंगा चौधरीलाई टिकट नदिएपछि विद्रोह गरेरे गंगाले शान्ताविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ । यसबाट शान्ताको मत काटिने अनुमान गरिएको छ ।

दाङको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्मा चुनावी मैदानमा हुनुहुन्छ । शर्मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनकी उम्मेदवार हुनहुन्छ । सुरूवातमा यहाँबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा चुनाव लड्ने चर्चा थियो । तर, महरा चुनाव नलडेपछि शर्माले मौका पाउनुभएको हो । हेभीवेट नेता पोखरेलविरुद्ध शर्माको उम्मेदवारीले यो क्षेत्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । पोखरेल ०५१ देखि नै चुनाव लड्दै आउनुभएको नेता हनुहुन्छ भने शर्मा पहिलोपटक चुनावमा भिड्दै हुनुहुन्छ ।

पोखरेल यहाँबाट ०५१ मै चुनाव जितेर प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । ०५६ मा भने उहाँ कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित हुनुभयो । ०६४ मा उहाँले समानुपातिक रोज्नुभयो र सांसद हुनुभयो । ०७० मा फेरि चुनाव लड्नुभएका पोखरेल कांग्रेसका बुद्धिराम भण्डारीसँग हार्नुभयो । ०७४ मा वाम गठबन्धन भयो, पोखरेल प्रदेशसभामा जानुभयो, र यहाँबाट माओवादी केन्द्रका नेता महरा निर्वाचित हुनुभयो । ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बन्नुभएकी शर्मा ०७४ मा पनि समानुपातिकबाटै प्रतिनिधिसभाको सदस्य हुनुभयो । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी समेतको गठबन्धन भएका कारण पोखरेलका लागि यसपटक शर्मा बाधक बन्ने आँकलन छ । तर, शर्मालाई पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज भने देखिँदैन । उहाँलाई पनि कांग्रेसका नेता कार्यकर्ता रिझाउन निकै मिहिनेत गर्नुपर्ने नेताहरूको अनुमान छ ।

यसैगरी, निर्वाचन क्षेत्र नं. ३ मा नेकपा एमालेले कोमल वलीलाई प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनाएको छ । वली २०७४ सालको निर्वाचनताका राप्रपा छोडेर एमाले प्रवेश गर्नुभएको हो । पार्टीले समानुपातिक सांसद बनाएपछि कोमल यो बीचमा राष्ट्रियसभा सदस्यसमेत वन्नुभएको थियो । गायिका हुँदै रेडियो नेपालमा लामो समय समाचार वाचिकाको रूपमा काम गर्नुभएकी कोमलको राप्रपाबाट राजनीतिक यात्रा सुरु भएको हो । पार्टीभित्रैकै असन्तुष्टको आवाज सम्बोधन गर्न सफल भएपछि भने कोमलको पक्षमा परिणाम आउन सक्ने अनुमान गरिएको छ । स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार विजयी हुनुले पनि कोमलको मनोबल वढेको देखिन्छ ।

उहाँका प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी हुनुहुन्छ । विगतमा एमालेकै शंकर पोख्रेलसँग पनि चुनाव लड्नुभएका गिरी लामो समयदेखि राजनीतिमा सक्रिय नेता हुनुहुन्छ । उहाँकै टिम पार्टीको १४औं महाधिवेशनमा जिल्लादेखि प्रदेशमा हाबी छ । पार्टीभित्र संस्थापन पक्षधर गृहमन्त्री बालकृष्ण खाँण पक्षलाई हराएर दीपक गिरी लुम्बिनीका एक्ला नेता हुनुहुन्छ ।

निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने चार पालिकामध्ये तुलसीपुरबाहेक स्थानीय तह निर्वाचनमा कांग्रेसले शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा एकलौटी जित निकालेको थियो । सोही परिणामका आधारमा पनि गिरी बलियो देखिनुहुन्छ । पूर्व सिचाइँ मन्त्रीसमेत रहनुभएका गिरीले त्यतिखेर जिल्लामा पुल, बाटोलगायत पूर्वाधार निर्माणमा थुप्रै कामहरू गर्नुभएको छ । त्योबाहेक उहाँकै पहलमा सुरु भएको बृहत् सिञ्चाइ परियोजना दाङका लागि महत्वपूर्ण परियोजना मानिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?