पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

-मानबहादुर वली
सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताउनु भएको छ ।

आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कर्णालीमा अझ गठबन्धन आवश्यक भएकाले एक भएर लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘पाँच दलीय गठबन्धन कर्णालीका लागि मात्रै नभइ देशका लागि ऐतिहासिक हो’, सभापति देउवाले भन्नुभयो ‘संविधान र संघीयतालाई बचाउने काम गठबन्धनले गरेको छ । परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिएका छौँ । यो गठबन्धन लामो समय जान्छ ।’ गठबन्धनबाट उम्मेदवार बनेका कर्णालीका ३६ निर्वाचन क्षेत्रका उम्मेदवार सहभागी रहेको कार्यक्रममा देउवाले गठबन्धन लामो समय टिक्ने दाबी गर्नुभयो ।
यस्तै सभालाई संवोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताउनु भयो । उहाँले यो गठबन्धन बनाउनमा कर्णालीले विद्रोह गरी शुरुवात गरेको बताउदै गठबन्धनको उद्देश्य पूर्तिमा सवै लाग्नु पर्ने बताउनु भयो । उहाँले गठबन्धन दलका नेताहरू एकताबद्ध छन् भनेर देखाउन सातै प्रदेशमा एकताको सन्देश दिन आएको बताउनु भयो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कर्णाली प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गर्नुभयो । अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताउँदै यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट पार्नुभयो ।

यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पाँच दलीय गठबन्धनका कार्यदल संयोजक रामचन्द्र पौडेलले राष्ट्रिय आवश्यकताअनुसार दलगत सिद्धान्तबाट माथि उठेर साझा मुद्दामा गठबन्धन एक भएको बताउनु भयो । सभामा पाँच दलीय गठबन्धनका प्रदेशस्तरीय एवम जिल्लास्तरीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?