समाजलाई बुझेर न्याय निरुपण हुनुपर्छ : कामु प्रधानन्यायाधीश कार्की

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समाजलाई बुझेर न्याय निरुपण गर्ने हो भने कसैलाई पनि अन्याय नहुने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा ‘हिम्मतवाली आमा डम्बरकुमारी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले समाज बुझेर न्याय निरुपण गर्ने हो भने न्याय निरुपण सही हुने बताउनु भयो ।

उहाँले समाज नबुझिकन गरिएको न्याय कानूनको अक्षरमा मात्रै सिमित हुने उल्लेख गर्नुभयो । डम्बरकुमारी तिम्सिनाको संस्मरणात्मक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ कृतिले न्याय सम्पादनमा पनि सहयोग पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘न्याय सम्पादन गर्ने कुरामा पनि यो कितावले हामीलाई मद्दत गर्छ । हाम्रो सामाजिक परिवेश कस्तो छ भनेर हेर्नका लागि बुहारीहरुको मुद्दा आउँदा पीडित हुनुभएका छोरीहरुको मुद्दा हेर्दा हामीले कम्तिमा हाम्रो समाज यस्तो छ है भनेर समाजलाई बुझेर समाजको ऐना हेरेर, हामीले न्याय निरुपण ग¥यौं भने न्याय ठिक ठाउँमा पर्छ । होइन भने समाज नबुझिकन न्याय गर्दा त्यो कानूनको अक्षरमा मात्रै सिमित हुनपुग्छ । न्याय प्रदान राम्रो नहुनसक्छ । न्याय प्राप्त गर्ने अवस्था नहुनसक्छ ।’
त्यस्तै समाजसेवी अनुराधा कोईरालाले महिलाहरु एक ठाउँमा उभिएर चुनौतीहरुको सामना गर्ने हो भने अहिले भइरहेको समस्याहरु कम गर्न सकिने बताउनु भयो । उहाँले अहिलेको समाजमा समेत छोराछोरीमा विभेद हुने गरेको भन्दै छोराछोरीमाथि हुने विभेदलाई समाजबाट हटाउन जरुरी रहेको बताउनु भयो । उहाँले महिलाहरुलाई भित्रबाट बलियो बनायो भने कपडा जस्तो लगाएपनि हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरु सबै एक भए अहिले महिलामाथि भइरहेका घटनाहरु धेरै कम हुन्छ । छोरी र छोराको विभेद आजसम्म छ । यसलाई समाजबाट नै हामीले हटाउन जरुरी छ । छोराछोरी समान हुने भन्नेकुरालाई हामीले धेरै ख्याल गर्न जरुरी छ । छोरीछोरीमा भेदभाव नगरीकन हुर्काउनु पर्छ । छोरीहरुलाई भित्रबाट बलियो बनायो भने लुगा जस्तो लगाए पनि हुन्छ जस्तो मलाई लाग्छ । पाइन्ट लगायो, खुला टिसर्ट लगायो भने अहिले पनि छोरीलाई कस्तो खुला छोडेको भन्ने गर्दछन् ।’

होस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तक ‘हिम्मतवाली आमा डम्बरकुमारी’ लाई यशोदा तिम्सिनाले सम्पादन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?