च्याम्पियन्स लिगमा सिटीको जित

Read Time = 3 mins

लण्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा पुनरागमन जित हात पारेको छ । सिटीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर सेभियामाथि ३-१ को पुनरागमन जित निकालेको छ । सिटीको जितमा रिको लेविस, जुलियन अल्भारेज र रियाद महारेजले गोल गर्दा सेभियाका राफा मिरको गोल सान्त्वना बन्यो ।

खेलको ३१औँ मिनेटमा राफा मिरको गोलबाट सिटी पछि परेको थियो । उहाँले इस्कोको पासमा गोल गर्नुभएको थियो । ५२औँ मिनेटमा रिकोले जुलियन अल्भारेजको पासमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याउनुभयो ।

७३औँ मिनेटमा अल्भारेजले केभिन डि बु्रएनाको पासमा गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाउनुभयो । ८३औँ मिनेटमा महारेजले अल्भारेजको पासमा गोल गर्दै सिटीलाई ३-१ को पुनरागमन गराउनुभयो ।

यही समूहको अर्काे खेलमा डर्टमुन्ड डेनिस क्लब कोपेनहेगनसँग १-१ गोलको बराबरीमा रोकियो । डर्टमुन्डका थोर्गन हाजार्डले गोल गर्दा कोपेनहेगनका हाकोन अर्नर हाराल्डसनले बराबरी गोल फर्काउनुभयो ।

यस नतिजासँगै सिटीले ६ खेलबाट १४ अंक जोड्यो । डर्टमुन्ड नौ अंक जोडेर दोस्रो स्थानमा रहृयो । सेभियाले पाँच अंक जोड्दा कोपेनहेगन तीन अंक जोडेर पुछारमा रहृयो ।

त्यसबाहेक अर्को खेलमा चेल्सीले घरेलु मैदानमा क्रोएसियन क्लब डिनामो जाग्रिवमाथि २-१ को पुनरागमन जित निकाल्यो । चेल्सीको जितमा रहिम स्टर्लिङ र डेनिस जाकारियाले गोल गर्दा डिनामोका बु्रनो पेटकोभिकको गोल सान्त्वना बन्यो ।

अर्काे खेलमा मिलानले अष्ट्रियन क्लब साल्जवर्गलाई ४-० ले पराजित गरेको छ । मिलानको जितमा ओलिभर जिरुउडले दुई तथा रेड क्रुनिक र जुनियर मेसिएसले समान एक गोल गर्नुभयो ।

यस नतिजासँगै समूह ‘ई’ मा चेल्सी १३ अंक जोडेर शीर्षस्थानमा रहृयो । दोस्रो स्थानमा रहेको मिलानले १० अंक जोड्दा साल्जवर्गले ६ तथा डिनामोले चार अंक जोड्यो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?