उत्तर कोरियाले रुसमा हतियार निर्यात गर्यो : अमेरिका

हिमालय टाइम्स
Read Time = 3 mins

न्युयोर्क । उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई ‘महत्वपूर्ण’ तोपखाला गोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए।

उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाई आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरेका छैनन् ।

बुधबार उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ ऋंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेका थिए । दुबै देशले प्रहार गरेका क्षेप्यास्त्र एक अर्काको तटस्थित पानीमा खसेका थिए ।

उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा मिसाइल प्रहार गरेको थियो । प्योङयाङले प्रहार गरेको क्षेप्यास्त्रमध्ये एउटा दक्षिण कोरियाी सहर सोक्चोबाट ६० किलोमिटर भन्दा कम दूरीमा खसेको थियो, जसलाई दक्षिणका राष्ट्रपति युन सुक-योलले ‘क्षेत्रीय अतिक्रमण’ भनेका छन् ।

सन् १९४५ मा कोरियाली प्रायद्वीप विभाजित भएदेखि दक्षिणको पानीमा ब्यालेस्टिक मिसाइल खसेको यो पहिलो पटक हो ।

दक्षिण कोरिया र अमेरिकाले गरेको संयुक्त सैन्य अभ्यासको जबाफमा ती क्षेप्यास्त्र प्रहार गरिएको प्योङयाङले जनाएको छ । सो अभ्यासलाई उत्तर कोरियाले ‘आक्रमक र उत्तेजित’ बताउँदै आएको छ । अभ्यासको अमेरिकाले पनि बचाउ गरेको छ ।

मंगलबार मात्र अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अभ्यास ‘विशुद्ध रक्षात्मक’ भएको बताएका थिए । प्योङयाङले संयुक्त सैन्य अभ्यास जारी राखे भने अमेरिका र दक्षिण कोरियाले ‘इतिहासको सबैभन्दा भयानक मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?