अब डोल्पामा पनि राष्ट्रिय ग्रिडको बिजुली

Read Time = 5 mins

काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्‍याएको हो ।

उक्त प्रसारण लाइन परीक्षण सम्पन्न गरी बिहीबारदेखि सदरमुकाम दुनैलगायतका क्षेत्रमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । यससँगै कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन् । अब हुम्ला र मुगुमा ग्रिडको विद्युत् पुग्न बाँकी छ । मुगुलाई आगामी असारभित्र ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशमा पर्ने जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्नेछ, हुम्लाका लागि टेण्डर प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ । डोल्पा सदरमुकाम र आसपास क्षेत्रमा लघु जलविद्युत् आयोजनामार्फत् विद्युत् आपूर्ति हँुदै आएकोमा अब राष्ट्रिय ग्रिडमार्फत् हुनेछ, साथै जिल्लाभरि विद्युत् सेवा विस्तार गर्न विद्युतीकरणको काम भइरहेको छ ।’

प्राधिकरणले डोल्पाको ठूलीभेरी नगरपालिकामा पर्ने जिल्ला सदरमुकाम दुनै र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा दुई सय किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत्गृहमार्फत् विद्युत् आपूर्ति दिइरहेको छ । डोल्पामा प्राधिकरणका करिब एक हजार सात सय ग्राहक छन् । डोल्पाका अन्य क्षेत्रमा लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति भइरहेको छ ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बंैक (इआइबी)बाट करिब २२ करोड अमेरिकी डलर अर्थात करिब २८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको छ । सरकारको लगानी र प्राधिकरणले आफ्नो नाफाबाट केही अंश छुट्याएर सो क्षेत्रमा विद्युत् पहुुँच विस्तारमा खर्च भइरहेको कार्यकारी निर्देशक घिसिङले बताउनुभएको छ ।

डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट सोही जिल्लाको नलगाड नगरपालिकाको चौखाबजार हुँदै डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ । ठेकेदारले काम नगरेपछि उक्त ठेक्का रद्द गरी हाल नयाँ ठेक्का सम्झौता गरी लाइन निर्माण भइरहेको प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शम्भु कुसियत यादवले बताउनुभयो । चौखा र त्रिपुराकोटमा ३३/११ केभीका सबस्टेसन निर्माण हुनेछन् । लाइन र सबस्टेसन निर्माण करिब डेढ वर्षभित्रमा सम्पन्न हुने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?